समाज

थामीचाँगुको आफ्‍नै पीडा

कोही छैनन् सरकारी जागिरे, ५० रूपैयाँ बिजुलीको बिल तिर्न ८ सय भाडा

जीवन लामा |
साउन २०, २०८० शनिबार १०:५३ बजे

दोलखाको बिगु गाउँपालिका-८ थामीचाँगुमा रिपोर्टिङको क्रममा पुगेको थिएँ । बिहान ८ बजेतिर गाउँ छिरेँ । बास बसेको नजिकै घरमा पुगेको थिएँ । हामी तीन जना (केदार शिवाकोटी, लक्ष्मण थामी र म) आआफ्नै ढंगले रिपोर्टिङमा थियौँ । एउटा घरको बाल्कोनीमा लक्काजवान हामीलाई देख्ने बित्तिकै फारकफुरुक ढंगले प्रस्तुत हुँदै थिए ।

कहिले कपाल कोर्ने, कहिले टिसर्ट फेर्ने, कहिले मोबाइल चलाउने । हामीसँग क्यामेरा, नोटबुक देखेपछि यिनीहरू पक्कै पत्रकार हुनुपर्छ भन्ने उनले सहजै अनुमान लगाए । हामीले उनलाई सोध्यौँ ‘के गर्दै हो भाइ ?’ उनले अलि ठाडो पारामा जवाफ दिए, ‘अब म विदेश जान्छु । यहाँ के छ र रोजगार ? एसईई पास गरेको छु । अब पासपोर्ट बनाएर जाने हो विदेश ।’ उनले एक्कासी हामीसँग आक्रोश मोडमा यी वाक्य ओकले । उनको जवाफले हामीलाई दुःखी बनायो  । उनमा युवा जोस, जाँगर देखिन्थ्यो । तर उनको बेरोजगारको रिस हामीलाई पोख्दा अलि हल्का भएजस्तो लाग्यो ।


थामीचाँगु पूरै गाउँ थियो । सदरमुकाम चरिकोटबाट लगभग ५० किलोमिटर टाढा । गाउँ भन्ने बित्तिकै अझैँ पनि अधिकांशको बुझाइ सडक, खानेपानी, बिजुली, टेलिफोनको सुविधा नभएकै बुझिन्छ । अहिलेको जमानामा यी कुराहरू भएन भने त्यस्ता ठाउँमा कोही बस्दैनन् पनि । तर, सबै छन् यहाँ । माथि डाँडाबाट हेर्दा चिटिक्क परेको गाउँ देखिन्छ । ४ सय २० थामी समुदायका मात्र घर छन् । त्यसैले थामीचाँगु भनेका होलान भन्ने अनुमान लाउन सकिन्छ । यहाँ आफ्नै भाषा, भेषभूषा, रहनसहन, संस्कार, संस्कृति चल्छ ।

सडक छ गाडी गुड्‌दैन, कला/संस्कृति छ देखाउने ठाउँ छैन्
बाहिरबाट हेर्दा सबै कुरा भरिपूर्ण होलान् भन्ने लाग्छ । भित्री व्यथा, हामीलाई के था ? दुई दिनको बसाइमा बिस्तारै बिस्तारै कथाका पानाहरू खुल्न थाले । सुन्दै गयौँ हामीहरू । सडक छ गाडी गुड्दैन, विद्यार्थी छन् पर्याप्त कक्षाकोठा छैन्, बत्ती छ, बिल तिर्न सिंगटी धाउनुपर्छ । स्वास्थ्य चौकी छ सुत्केरी हुँदा र बिरामी पर्दा अन्यत्र धाउनुपर्छ, युवा छन् रोजगारी छैन्, कला संस्कृति छ देखाउने ठाउँ छैन् ।

मिहिनेत छ जग्गा छैन, अन्न फलायो बाँदर, मृग, दुम्सीले खाइदिन्छ । यस्तै-यस्तै समस्या सुन्दा/सुनाउँदा हाम्रो पनि मन पोल्यो । उनीहरूले सुनाएका कथा होइन, वास्तविक चित्रण थियो । हामीले सुन्ने मात्र होइन, आफैँले देख्न, अनुभव गर्न पाइन्थ्यो । दुई दिनको अवधिमा वडाध्यक्ष हिरा (धनवीर) थामीले पनि हामीलाई यस्तै यस्तै कथाको पोका भएको ठाउँमा लगे । 

विद्यालयको बिजोग
गाउँपालिकाभरिकै उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत कालिञ्चोक मावि । यहाँ थामी समुदायका बालबालिका मात्र अध्ययन गर्छन् । शत प्रतिशत थामी समुदायका बालबालिकाभन्दा अचम्म लाग्यो । कक्षा १ देखि १० सम्म पढाइ हुने विद्यालयमा ३ सय २१ जना विद्यार्थी छन् । पर्याप्त मात्रामा कक्षा कोठाको व्यवस्था छैन् । पुस्तकालय, ल्याबको व्यवस्था छैन् । थोरै शिक्षकले गुणस्तरीय शिक्षा धान्नुपर्ने बाध्यता छ । संख्याकै कुरा गर्ने हो भने अर्थात् अहिलेसम्म उच्चशिक्षा (प्रविणता तह) उत्तीर्ण गरेका १०/११ जना मात्र छन् गाउँभरि ।

यस गाउँमा रहेको कालिञ्चोक माविबाट पहिलो पटक १४/१५ जनाले एसईई दिएका थिए । त्यसमध्ये एक जना मात्र उत्तीर्ण भएका छन् । स्कुलको आफ्नै जग्गा नभएका कारण भूकम्पपछि सुविधाजनक भवनहरू निर्माण गर्न सकेका छैनन् । भएका संरचनालाई राम्रो र व्यवस्थित तरिकाले सञ्चालन गरिरहेका छन् । बिहे गरेर अन्य पालिकाबाट केही बुहारीहरू भित्रिएका छन् । उनीहरूले उच्च शिक्षा हासिल गरेबापत विद्यालयमा रोजगारी पनि पाएका छन् । 

कोही छैनन् सरकारी जागिरे
यहाँको उत्पादनले ६ महिना धान्न गाह्रो पर्छ । ६ महिनापछि पसलबाट चामलले धान्छ । त्यसैले कमाउन प्रत्येक घरका एकजना विदेशिएका छन् । विदेशको विकल्प छैन । पैसा भएका खाडीमुलुक र नहुने छिमेकी देश भारतमा जाने गर्छन । जिउँदोको जन्ती, मर्दाको मलामी पाउन गाह्रो हुन्छ । गाउँमा आम्दानीको स्रोत केही छैन ।

अहिलेसम्म यहाँका कुनै पनि युवाले सरकारी जागिर पाएका छैनन् । न उच्चशिक्षा छ न, खेतबारीनै पर्याप्त ? खेत नभएका कारण धान फल्दैन । बारीमा मकै, कोदो, गहुँ, आलु, तरकारी उत्पादन हुन्छ । अहिले पछिल्लो अवस्थामा उत्पादन गरेका बाली पनि वन्यजन्तुले खान थालेपछि किसान चिन्तित छन् । लम्पी स्किनले गर्दा पालेका २/४ वटा वस्तुहरू पनि मर्न थालेका छन् । गाउँमा बाँच्ने उपाय नै नभएको वडाध्यक्ष हिरा गुनासो गर्छन् । 

५० रूपैयाँ बिजुलीको बिल तिर्न ८ सय भाडा
दोलखाका सबै पालिका, वडामा सडक निर्माण गर्दा यस वडामा पनि निर्माण गरेका छन् । साना गाडीहरू अहिले पनि सञ्चालन भइरहेको छ । आठ वर्षअघि निर्माण गरिएको सडकमा पहिलो पटक सार्वजनिक बस पुग्दा गाउँलेले भव्य स्वागत गरेका थिए । भोलिपल्टदेखि यात्रुको अभाव देखाउँदै गाडी आउन छाड्यो ।

बिरामी पर्दा या आकस्मिक काम पर्दा चर्को भाडा तिरेर बोलेरो गाडीमा आवतजावत गर्नुपर्छ । गाउँबाट बिजुलीको महसुल ५० रुपैयाँ तिर्न ८ सय भाडा तिरेर आवतजावत गर्नुपर्छ । त्यसैले गाउँलेहरू सुनाउँछन् सडक त पैसा हुनेलाई मात्र हो । पैसा नहुनेलाई त हिड्नै पर्छ । सडकले पनि भेदभाव गर्न थाल्यो । 

१५ वर्षमै बिहे
भित्रभित्रै बाल विवाह अहिले पनि व्यापक छ । १५/१६ वर्षमै विवाह हुने गर्छ । विभिन्न संघसंस्थाहरूले बाल विवाह न्यूनीकरणको लागि धेरै अभियान सञ्चालन गर्छन तर घट्दैन । मोबाइल, सामाजिक सञ्जालको कारण पनि एक हो ।

हामी पुगेको दिन पनि स्थानीय युवाहरूको पहलमा बालविवाह न्यूनीकरण सम्बन्धी छलफल भइरहेको थियो । थामीचाँगु युवा क्लव र कालिञ्चोक बाल क्लबको पहलमा वडाध्यक्ष हिरा, कालिञ्चोक माविका प्रधानाध्यापक सुन्दर प्रकाश पाण्डे, अभियन्ता विक्रम थामी, महिला समूह, आमा समूहले समेत साथ दिइरहेका थिए, बालविवाह अन्त्य गर्ने अभियानलाई ।

स्थानीयको तथ्याङ्क अनुसार कहिलेकाहीँ त १८/१९ जना नै पुग्छ रे बाल विवाहको संख्या । कतिपय त थाहा नै हुँदैन, भित्रभित्रै कुरा मिलाइ सकेको हुन्छ । बढ्दो प्रविधिको कारण सानैमा लभ गर्छन् । उच्चशिक्षाको लागि गाउँमा कलेज छैन । ‘पढेर पनि काम पाउँदैन ।

रोजगार पाए पनि शैक्षिक योग्यता पुग्दैन । अनि बिहे गरेर भाग्नेबाहेक उपाय हुँदैन,’ वडाध्यक्ष हिराले सुनाए । बालविवाहको कारण धेरै समस्या आएको पनि कार्यक्रममा सुनाए । मानसिक तनाव हुने, विछोड हुने र कतिपयले त आत्महत्या समेत गरेको उदाहरण प्रशस्तै दिए ।

लामाको यसअघिका लेख


Author

थप समाचार
x