समाज

नेपालमा जागिर खाने चिनियाँको संख्या बढ्दै, भारतीयको तथ्यांक राख्‍नै सकस

अतिन आचार्य |
साउन ३०, २०८० मंगलबार १९:१६ बजे

काठमाडौँ- नेपालबाट दिनहुँ २२ सय युवा विदेशी भूमिमा श्रमका लागि उड्ने गरेको श्रम तथा रोजगार विभागको ताजा तथ्यांकले देखाउँछ ।

विभागले जानेको तथ्यांकसम्म यसरी राख्ने गरेको भए पनि फर्कनेको भने तथ्यांक राख्ने गरेको छैन । श्रम विज्ञहरू यो तथ्यांकलाई आधार मानेर भोलि श्रम बजारमा नेपालीहरू पाउनै मुस्किल पर्ने अनुमान गर्छन् ।


उनीहरूको अनुमान भोलि सही सावित हुन्छ कि हुन्न भोलि नै थाहा पाइन्छ तर नेपालबाट नेपाली विदेश गए झैं विदेशबाट विभिन्न कामका लागि नेपाल आउने जनसंख्या पनि बढ्दै गएको तथ्यांकहरूले देखाउँछन् ।

अहिले नेपालको आर्थिक गतिविधि सुस्त रहेको बताइए पनि श्रम इजाजत लिने विदेशीको संख्या उकालो लाग्ने क्रममा छ ।

बर्सेनि नयाँ श्रमको इजाजत लिनेमा सडक निर्माण, हाइड्रो पावर, विदेशी गैह्र सरकारी संस्था, शैक्षिक संस्था, वित्तीय क्षेत्र, होटल र मेडिकल आदि रहेका छन् ।

आर्थिक वर्ष २०७९/०८० मा विभिन्न मुलुकका २ हजार ९ सय ९४ जना विदेशी नागरिकले श्रम इजाजत लिएका छन् । १ हजार ६ सय २५ जनाले श्रम नवीकरण र १ हजार ३ सय ६९ जनाले नयाँ श्रम इजाजत लिएका हुन् ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार हालसम्मकै सबैभन्दा बढी विदेशी नागरिकले श्रम इजाजत लिएका छन् । श्रम इजाजत लिनेमा चिनियाँ नागरिक बढी रहेको विभागको तथ्यांक छ ।  

गत आर्थिक वर्षमा १ हजार ३ सय ६९ चिनियाँ नागरिकले श्रम इजाजत लिएको विभागका प्रवक्ता मणिनाथ गोपले जानकारी दिए । उनका अनुसार १ हजार २०९ पुरुष र १६० महिलाले नयाँ इजाजत लिएका छन् ।

चिनियाँ नागरिकले हाइड्रोपावर, सडक निर्माण र सुरुङ मार्ग लगायतका क्षेत्रमा काम गर्न अनुमति लिने गरेको गोथले जानकारी दिए । चिनियाँले पहाडी क्षेत्रका जिल्लामा हाइड्रोपावर निर्माण गर्ने जिम्मा पाएकाले पनि उनीहरूको संख्या बढेको बताए ।

'नेपालमा प्राविधिक जनशक्ति नभएकाले पनि विदेशी कामदारहरू नेपालको ठूला-ठूला निर्माण क्षेत्रको आयोजनामा काम गर्न आउँछन्,' उनले भने, 'नेपालसँग पर्याप्त जनशक्ति नहुनु पनि विदेशी कामदार ल्याउनु मुख्य कारण बनेको छ । विदेशी कम्पनीले निर्माण ठेक्का पाउँदा पनि विदेशी कामदार स्वदेश भित्रिने गरेका छन् ।'

नेपालमा विदेशी नियोगका धेरै कूटनीतिक कार्यालयहरू छन् । नियोगका कर्मचारीहरूको सन्तानलाई विद्यालय शिक्षाका लागि विदेशी शिक्षक आउने गरेका छन् ।

अमेरिका, बेलायत र अन्य युरोपेली मुलुकका कूटनीतिक निकायमा काम गर्ने कर्मचारीको सन्तानलाई पढाउन विदेशी शिक्षकले अनुमति लिने गरेका छन् । प्रवक्ता गोथले भने, 'ब्रिटिश स्कुल र लिङ्कन स्कुलमा पढाउनका लागि विदेशी शिक्षकले श्रम इजाजत लिने गरेका छन् ।'

अमेरिकनले गैह्र सरकारी संस्था र स्कुलमा पढाउन इजाजत लिने गरेको उनले बताए । गत आर्थिक वर्ष मात्र अमेरिकनका कुल २ हजार २१ जनाले श्रम इजाजत लिएका छन् । ४३ जनाले नयाँ श्रम इजाजत र ६१ जनाले नवीकरण गरेका छन् ।

बेलायतका कुल ११७ जनाले श्रम इजाजत लिएका छन् । ७८ जना बेलायतीले नवीकरण र ३९ जनाले नयाँ श्रम इजाजत लिएको प्रवक्ता गोथले जानकारी दिए ।

त्यसैगरी ४५ जना भारतीय नागरिकले श्रम इजाजत लिएको प्रवक्ताको भनाइ छ । उनका अनुसार भारतीयहरू बैंक, हवाई सेवामा, गैह्र सरकारी संस्था, अस्पताल र होटल लाइनमा काम गर्नेहरू छन् ।

'तथ्यांकमा भन्दा बढी भारतीय कामदार नेपालमा रहेका छन्। नेपाल र भारतको कामदारको बीचमा विभिन्न कुराले महत्त्व राख्ने गरेको छ,' उनी भन्छन्, 'नेपाल र भारतको सन्धि-सम्झौताले पनि यसमा प्रभाव पारेको छ । भारतमा काम गर्ने नेपालीले श्रम इजाजतको सुविधा लिनु परेको छैन ।'

प्रस्टसँग कानुन नबन्दा पनि भारतीय कामदारको तथ्यांक राख्न नसकिएको उनको भनाइ छ । दुवै देशले एकअर्काका लागि श्रमिकको तथ्यांक राख्न कानुन बनाएमा तथ्यांक राख्न सकिने उनले बताए ।

चिनियाँसँग ऐतिहासिक कुनै पनि सम्झौता नगरिएकाले पनि उनीहरूको तथ्यांक राख्ने गरिएको उनले बताए ।

नेपालमा सबैभन्दा बढी एसियाली मुलुकका कामदारहरू बढी छन् । जापान, कोरिया, श्रीलंका, बंगलादेश रफिलिपिन्स लगायतका देशका कामदारहरू नेपालमा तुलनात्मक रूपमा बढी छन् । यो सूचीमा जर्मनी, अष्ट्रेलिया, क्यानडा, इटाली र नेदरल्याण्डका कामदारहरू पनि छन् । श्रम इजाजत लिनेमा अफ्रिका पनि पछि छैन ।

अफ्रिकन मुलुकका नागरिक फुटबल खेलाडीको रुपमा नेपालमा बस्ने गरेका छन् । उनीहरूमध्ये धेरै नेपालको फुटबल क्लबमा आबद्ध रहेको प्रवक्ता गोथले बताए ।

विभागले ६ महिनासम्म श्रम इजाजत लिएको दस्तुर १५ हजार र १ वर्षसम्म २० हजार रुपैयाँ तोकेको छ ।

श्रम इजाजत वापत ५ करोड २१ लाख १५ हजार २४५ रुपैयाँ राजश्व संकलन भएको उनले जानकारी दिए ।

के छ विदेशीले नेपालमा श्रम स्वीकृति लिने प्रक्रिया ?

नेपालमा काम गर्न चाहने विदेशी कामदारले काम गर्ने सम्बन्धित मन्त्रालयको पत्र, गृह मन्त्रालयको कार्य सहमति, बायोडाटा, पासपोर्ट र भिसाको प्रतिलिपि, कम्पनीको करचुक्ता कागजपत्र, कम्पनी दर्ता प्रमाणपत्र, प्यान कार्ड, कम्पनीले खोजेको पत्रिकामा प्रकाशित विज्ञापन र सामाजिक सुरक्षा कोषमा दर्ता प्रमाणपत्र भएमा नेपालमा रहेका विदेशी कामदारले विभागबाट श्रम इजाजत पाउने गरेका छन् ।

संस्थाले कामदारका लागि श्रम स्वीकृति माग्नुलाई इजाजत भन्ने गरिएको छ । व्यक्तिगत तवरले स्वीकृति माग्नुलाई श्रम स्वीकृति भन्ने गरिन्छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x