समाज

'भुटानी शरणार्थी प्रकरणमा वा त्यो नाममा कोही उम्किँदैनन्'

अतिन आचार्य |
भदौ १०, २०८० आइतबार २०:२७ बजे

काठमाडौँ- एक साताअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका लैजाने भन्दै ठगी प्रकरणमा थप उजुरी पर्यो । १८ जनाले १ करोड ८५ लाख ९२ हजार रुपैयाँ ठगी भएको भन्दै जाहेरी दिए ।

तीन वटा छुट्टाछुट्टै जाहेरी परेको हुँदा दरखास्त लगायतका कागजातहरू अनुसन्धानका लागि जिल्ला परिसर टेकु काठमाडौँ पठाइएको छ । पहिलो चरणको नक्कली भुटानी शरणार्थीको अनुसन्धान सकिए लगत्तै पीडितले उजुरी दिए ।


यसअघि शरणार्थी प्रकरणमा उच्च पदस्थ कर्मचारी, सांसद तथा नेता र अन्य व्यक्ति पक्राउ परिसकेका छन् । उनीहरू हाल काठमाडौँ जिल्ला अदालतको आदेशले केन्द्रीय कारागारमा छन् ।

भुटानी शरणार्थी प्रकरणमा शीर्षस्थ नेताको ‘कनेक्सन’ ठानिए पनि सोही प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पत्नी आरजु राणा देउवाको नाम सार्वजनिक भएको थियो । शरणार्थी प्रकरणमा राणालाई पैसा बुझाएको भन्दै उनको नामै सार्वजनिक भएको थियो । खाँण पत्नी मञ्जु खाँणको नामसमेत मुछिएको थियो । केही दिन उनी सम्पर्कविहीन पनि भएकी थिइन् ।

पुनः शरणार्थी प्रकरणमा यसअघि अनुसन्धान हुन बाँकीलाई थप अनुसन्धान गर्ने नेपाल प्रहरीका अनुसन्धान अधिकृतले बताएका थिए ।  

एक साताअघि बसेको मन्त्रिपरिषद् बैठकले शरणार्थी प्रकरणमा सक्रिय रुपमा अनुसन्धान गरेका एआईजी श्यामलाल ज्ञवालीलाई सरुवा गर्ने निर्णय गर्यो । गृह मन्त्रालयले एआईजी सरुवाको प्रस्ताव मन्त्रिपरिषद्ले लगेपछि पाँच एआईजी जिम्मेवारीसमेत हेरफेर गर्यो ।

ज्ञवालीकै प्रत्यक्ष निर्देशन र कमाण्डमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भएको थियो । शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा बालकृष्ण खाँण, नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डेसहित अन्य हाइप्रोफाइल व्यक्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो ।

एआईजीहरूको सरुवा गरेलगत्तै गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपीलाई हटाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसी र परिसरका एसएसपी दानबहादुर कार्कीलाई पनि सरुवा गरिएको छ ।

शरणार्थी प्रकरणमा प्रहरीका दुई अधिकृतको मुख्य भूमिका रहेको थियो । अपराध अनुसन्धान कार्यालयमा पीडितको उजुरी पर्नसाथ एसएसपी डा. केसीले अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएका थिए ।

तिनै प्रहरी अधिकृतको ठाउँमा काठमाडौँ उपत्यकाको शान्ति, सुरक्षा र अपराध तथा अनुसन्धान गर्ने जिम्मा अपराध अनुसन्धान कार्यालयमा सोमेन्द्रसिंह राठौर तथा काठमाडौँ जिल्ला प्रहरी परिसरमा भूपेन्द्र खत्रीले पाइसकेका छन् ।

महानगरीय परिसरमा उनको सरुवा सबैभन्दा चुनौतीपूर्ण समयमा भएको छ । जहाँ शरणार्थी प्रकरणमा टुंगो नपुगिसकेको अवस्थामा खत्रीको सरुवा भएको हो । उपत्यका अनुसन्धान कार्यालयले दोस्रो चरणको अनुसन्धान गर्नका लागि परिसरलाई जिम्मा लगाइसकेको बताएको छ ।

शरणार्थी प्रकरणमा अनुसन्धान गरेका प्रहरी अधिकारीको सरुवा गरी खत्री र अपराध अनुसन्धान कार्यालयमा राठौरलाई लगिएको छ । राठौरले पनि थप अनुसन्धान गर्न बाँकी रहेकालाई कसरी कारबाही प्रक्रिया अगाडि बढाउँछन् । राठौरले भने आफ्नो कार्यभार सम्हालिसकेका छैनन् । खत्रीले भने शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।

शरणार्थी प्रकरणमा खत्रीको कार्यकाल परीक्षा पनि मानिएको छ । त्यो भने हेर्न बाँकी छ । किनभने दोस्रो पटक पनि पीडितले उजुरी दिइसकेका छन् ।

यसअघिका महानगरीय परिसरका प्रहरी अधिकृत नाम मुछिएका व्यक्तिहरूको अनुसन्धान गर्न सकेको थिएन । शरणार्थी प्रकरणको पहिलो चरणको अनुसन्धानमा शक्ति केन्द्रको प्रभाव प्रहरी प्रशासनमा देखिएकाले पनि अनुसन्धान हुन सकेन ।

महानगरीय परिसरका एसएसपी भूपेन्द्र खत्रीले जनताले आफूबाट गरेको अपेक्षालाई इमान्दारिताका साथ निर्वाह गर्ने बताए । 

उनले कोही अधिकृत तथा व्यक्ति फेरिँदैमा नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रभावित नहुने दाबी गरेका छन् । 

'यो वा त्यो नाममा कोही दोषी उम्किँदैनन् । कानुनले दिएको अधिकार प्रयोग गरी प्रकरणमा संलग्न सबैलाई छानबिन र अनुसन्धानको दायरामा ल्याउँछौँ । कसैले शंका नगर्नुहोला । मबाट धेरैले आशा गर्नुभएको अपेक्षा गरे बमोजिम कामले देखाउँछु ।'

त्यसैगरी, अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरले भने कानुन बमोजिम काम गर्ने बताए । प्रहरीले कानुनको दायरा र निर्देशनमा काम गर्ने भएकाले काम गर्न सहज हुने उनको भनाइ छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x