समाज

ड्रागन खेतीबाट सन्तोक पाइरहेका सन्तोष

फल किन्न बारीमै पुग्छन् व्यापारी र स्थानीय

अतिन आचार्य |
भदौ १३, २०८० बुधबार १३:४५ बजे

काठमाडौँ- उनको दैनिकी फेरिएको छ । बिहानै बारीमा पुग्छन् । बिहानीको समयमा ड्रागन फलका बोट र फलहरू हेर्नु दिनको पहिलो  कर्म बनेको छ उनकाे ।

उनी खरिदकर्ता सँगसँगै बारीमा पुग्छन् । मोरङ बेलबारी नगरपालिका १० का सन्तोष याख्खा पेशाले होटल व्यवसायी हुन् । पछिल्लो समय उनी सामाजिक सञ्जाल फेसबुकमा राताम्मे पाकेका ड्रागन फलको तस्बीर पोस्ट्याउँछन् । उनले राखेका फोटो हेरेर किसान, व्यापारी र फल किन्न आउनेहरूको संख्या बढ्दै गएका छन्।


उनको बसाइ केही महिनादेखि खेतबारीमा बित्‍दै आएको छ । एक बिगाहामा ड्रागन फलको खेती गरेका सन्तोषले हिजोआज भने व्यापारीहरू फल बिक्री गर्नमा व्यस्त छन् । बारीमा आउने खरिदकर्तालाई प्रति किलो ग्रामको मूल्य सुनाइरहेका हुन्छन् ।

उनले बारीमा करिब तीन हजार रातो ड्रागन फलको बोट हुर्काएका छन् । ३० लाख बढीको लगानीमा फलाएका फल खोज्दै उनको खेतबारीमा पुग्छन् व्यापारीहरू।

दुई वर्षअघि रोपिएका ती बोटमा अहिले राताम्य फल लागेर पाकेका छन् । व्यापारीहरू उनको घर अगाडिको आँगन टेक्दै बारीमा पुग्दा उनी पुलकित बनेका छन् । खरिदकर्तालाई प्रति किलो ग्राम बढीमा चार सय रुपैयाँमा बिक्री गरिरहेका छन् ।

‘ड्रागन फल मिठो, पोषिलो र महँगोमा बिक्री हुने फलफूल हो भन्ने सुनेर मानिसहरू किन्न आउने गरेका छन्,’ सन्तोषले भने,’ प्रतिकिलो चार सय रुपैयाँसम्म बजारमा सजिलै बिक्री हुन्छ । व्यापारीहरूले बारीबाट खरिद गरेर लैजान्छन् ।‘

खरिदकर्तालाई डेलिभरीको व्यवस्था 

मुख्य- मुख्य व्यापारिक मलले फल खरिद गरेर लैजाने गरेको उनले बताए । उनका अनुसार पूर्वका मुख्य बजार इटहरी, धरान र दमकसम्म फल बिक्रीका लागि पुग्छन् । इटहरीको गोरखा डिपार्टमेन्ट स्टोर, पथरी र दमक फलफूल स्टोरले खरिद गरेर लैजाने गरेका छन् । ६० किलो ग्रामसम्म फल व्यापारिक मलले लान्छन् । उनले ठूला-ठूला व्यापारीलाई डेलिभरीको समेत व्यवस्था गरेका छन् ।

एक पटक बारीबाट निस्केपछि १५ दिनमा पुनः बिक्री गर्ने गरी जानुपर्ने उनले जानकारी दिए । 'ड्रागनको बोटबाट फल बिक्री गर्ने गरी तयारी बनाउन कम्तीमा महिना दिन लाग्छ,’ उनी भन्छन्,’ दैनिक बिक्री भइरहेको अवस्थामा आफूलाई त्यस्तो घाटा भएको छैन ।‘

स्थानीय व्यापारीहरू बारीमा खोज्दै आउने गरेको उनी बताउँछन् । स्थानीयले दैनिक २० किलो फल उठाउने गरेका छन् । नियमित व्यापारीलाई भन्दा स्थानीयलाई फरक मूल्यमा फल उपलब्ध गराइरहेको उनले बताए ।

धेरै फल टिप्नु परेका बेला घाटा बेहोरिनु पर्ने चिन्ता नरहेको उनको भनाइ छ । ड्रागन खेतीमा भएको लगानी डुब्ने जोखिममा नरहेकोमा उनी ढुक्क सुनिन्छन् ।

उनले बारीको माटो जस्तै आफ्नो उर्वर समय फललाई दिएका छन् । सरकारले उचित मूल्यको सुनिश्चितता नगर्दा ड्रागन खेतीमा आफूले आशा गरेको जस्तो मूल्य पाउन सकेका छैनन् । तर, अहिले फलले पाएको मूल्यले आफूलाई निराशा नबनाएको उनी बताउँछन् ।

कृषकलाई प्रोत्साहन आजको आवश्यकता

‘कृषकलाई प्रोत्साहन गर्न पनि उचित मूल्य तोकेमा हामी जस्ता युवाले लाभ लिन सक्छौ,’ ४० वर्षीय सन्तोष भन्छन्,’ स्थानीय सरकारले नयाँ-नयाँ विधिबाट गरिने कृषि प्रणालीलाई अनुदान दिएर प्रोत्साहन गर्नुपर्छ ।‘

सन्तोषले ड्रागन फल युरोप, अस्ट्रेलिया, हङकङ र अमेरिकामा लगायतका धेरै देशमा राम्रो खपत भइरहेको अध्ययन गर्दा थाहा पाए । रातो ‘सी’ प्रजातिको बिरुवाले छिटो र राम्रो उत्पादन दिने बुझेपछि उनी बिरुवाको खोजीमा लागे । बिरुवा खोज्दै खेती सुरु गरेका उनले बिरुवा बेचेर पनि आम्दानी गरे ।

'बिरुवा अर्डर गरेर बाँझो जमिनलाई उर्वरा बनाउने योजनाअनुसार जग्गालाई सम्याउनेदेखि पिलर लगाउनेसम्मका काम गरे,' सुरुवातीको दिन सम्झदै उनी सन्तोष भन्छन् । उनले हालसम्म दुई पटकमात्र गोबर मल लगाएका छन् ।

उनको परिवारले बिरुवा रोप्नका लागि ठिक्क बनाएको जमिन देखेर हाँस्नेको संख्या पनि कम थिएन । उनी मात्र यसमा ड्रागनमा खेतीमा छैनन् । दाजु गंगा याख्खा, आमा र श्रीमतीको सबैको साथ उनलाई छ । राजमार्गको छेउमै होटल व्यवसाय गरी ढुक्कले बसेका सन्तोषले आफैँलाई चुनौती दिँदै  दक्षिण दिशामा रहेको खेतबारीलाई रोजेका थिए । उनको होटल देखि करिब दुई किलोमिटर दक्षिण दिशामा फल खेती छ ।

जिस्काएको कुराले भन्दा फलले पाएको मूल्यले दंग

उनलाई ड्रागन कस्तो फल्यो भनेर जिस्क्याउने गरेका छन् । जिस्काएको कुराले मूल्य नपाए पनि फलले मूल्य पाएकोमा उनी दंग छन् । सुरुवातीमा बिरुवा बिग्रिएको उनले बताए । कति बिरुवा र फलहरू बारीमा नष्ट गरेको पनि उनले भेटेका छन् । नष्ट भएको देख्दा तितो महसुस बटुल्न परेको अनुभव उनीसँग छ ।   

उनले पिल्लर बोक्दादेखि लिएर माटो बनाउँदा, बल बनाउँदा, बिरुवामा देखा परेका समस्या, समस्या र समाधान सबै अनुभव बटुलेका छन् ।

बिचौलियाले नेपालमा बजार छैन भनेर हल्ला फैलाइरहेको उनले सुनेका छन् । ‘अल्छीले गर्ने खेती, अनुदान पाएर, फाइदा पाएर, मरुभूमिमा हुने खेती, मेहनत नगरी करोडौं आम्दानी हुने भनेर,’ अरूले भनेका कुरा उनको कानले सुनेका छन् । तर, सन्तोषले ड्रागनमा अवसर र चुनौती दुवै देखे । उनले मल र पानीको पनि राम्रो प्रबन्ध गरेकाले पनि  आज बारीमा बिहानै पाइला टेक्न पाएका छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x