समाज

कर्णालीमा जहाज रोकिँदा बच्चाको ज्यान गएको भन्दै अदातलमा रिट

इकागज |
भदौ १८, २०८० सोमबार १६:१० बजे

सुर्खेत- कर्णालीमा जहाज रोकिएका कारण नै बच्चाको ज्यान गएको भन्दै अदालतमा रिट दायर भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयका कारण हवाई उडान नहुँदा हुम्लामा नाबालकको मृत्यु भएकाले उचित क्षतिपूर्तिको माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर भएको हो ।

नाबालककाे ज्यान जाने गरी नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गैरकानुनी निर्णय गरेको भन्दै उच्च आइतबार अदालतमा रिट दर्ता गरिएको हो ।


अधिवक्ता गणेशबहादुर वलीले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी समेतलाई विपक्षी बनाएर रिट दायर गरेका छन् । उक्त रिट निवेदनमा हचुवाको भरमा गरिएको प्राधिकरणको निर्णयका कारण हुम्ला, सिमकोट गाउँपालिका–६ का ६ महिने बालक इमरान सुनारको मृत्यु भएको उल्लेख छ । 

प्राधिकरणले साउन १२ गते २९ वटा एयरपोर्टमा दिउँसो १२ः३० बजेपछि हवाई उडानमा रोक लगाउने निर्णय गरेको थियो । सोही करण हुम्ला सिमकोट गाउँपालिकाका ६ महिने बालक इमरान सुनारको समयमै उद्धार हुन नसक्दा ज्यान गएको रिटमा जनाइएको छ ।

‘उडान अनुमति नदिने गरी गरेको निर्णयका कारण मिति २०८० साउन २६ गते हुम्ला जिल्ला सिमकोट गाउँपालिका ६ माथिल्लो गाउँका ६ महिने बालक इमरान सुनारको थप उपचारका लागि अस्पतालबाट रिफर गरेको र प्राधिकरणको निर्णय कार्यान्वयनको क्रममा हवाई सेवा प्रदायकले उडान नगर्दा मृत्यु भएको थियो,’ रिटमा भनिएको छ, ‘सो घटनाको कारण व्यापक जनदबाब र राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएपश्चात निर्णयबाट पछि हटेको थियो ।’ 

वलीले दायर गरेको रिटमा निर्णयकर्तालाई कारबाही गर्न र अकालमा ज्यान गुमाएका नाबालक परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न गराउनका लागि परमादेश  माग गरिएको छ ।

गैरकानुनी निर्णयले मौलिक हक अन्तर्गतको स्वास्थ्यको हक, सामाजिक सुरक्षाको हक, सम्मानपूर्वक बाँच्न पाउने हक र उपभोक्ता अधिकार वञ्चित गरिएकाले अदालत जानु परेको अधिवक्ता वलीले बताए । प्राधिकरणको निर्णय कार्यान्वयनका क्रममा हवाई सेवा प्रदायकले उडान नगर्दा मृत्यु भएको अधिवक्ता वलीको भनाइ छ ।

‘विशेष गरेर कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा सडकको पहुँच नभएका कारण यातायातको साधनको रुपमा जहाजलाई लिने गरिएको छ,’ अधिवक्ता वलीले भने, ‘तर, दिउँसो १२ बजेपछि नचल्ने निर्णयका कारण बच्चाको ज्यान गएको हो ।’

वलीले संघीयताको मर्मविपरीत भएका यस्ता निर्णयले नागरिकहरूलाई समस्या परेको बताए ।  रिटको पेसी मंगलबारलाई तोकिएको छ ।


Author

थप समाचार
x