समाज

‘खुला सीमा नाकाले नेपालको उद्योग व्यवसाय धराशायी’

सुभाष कर्ण |
असोज २५, २०८० बिहीबार २१:४७ बजे

जनकपुरधाम- नेपाल-भारत खुला सीमा नाका व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । बिहीबार जनकपुरधामममा नेपाल-भारत खुला सीमा संवाद समूहद्वारा आयोजित नेपाल-भारत खुला सीमा विषयक अन्तर संवाद कार्यक्रममा वक्ताहरूले खुला सीमा नाकाले दुवै देशका नागरिकलाई आवत जावतमा समस्या र नेपालतर्फको उद्योग व्यवसाय धराशायी भइरहेको भन्दै तत्काल व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले खुला सीमा नाकाका कारण हुने नेपालीहरूले सीमापारी गई अवैध रूपमा गर्ने गरेको किनमेलले गर्दा नेपालका सीमावर्ती क्षेत्रका उद्योग व्यवसाय धराशायी बन्दै गएको आरोप लगाए । सीमापारी गएर नेपाली नागरिकहरूले अवैध रूपमा किनमेल गरिरहेको कारण यहाँका उद्योग व्यवसाय धराशायी मात्र नभई नेपाली रुपैयाँ समेत भारतमा थन्किन गएको उनले बताए । 


उनले भने, 'नेपाली रुपैयाँ भारतमा थन्किएको प्रत्यक्ष प्रमाण केही दिनअघि लखनउमा भएको छापामारी चार अर्बभन्दा बढी रुपैयाँ बरामद भएको थियो । नेपाली रुपैयाँ भारतमा थन्किनु र भारतीय रुपैयाँको नेपालमा मूल्यांकन कम हुनुका कारण प्रत्येक भारतीय सीमाको बजारमा नेपाली रुपैयाँले निर्वाध रूपमा कारोबार हुनु हो । साथै अध्यक्ष महासेठले खुला सीमाकै कारण यहाँका युवाहरू सीमापारी गई लागूऔषध सेवन गर्ने गरेका र तस्करी पनि अत्यधिक रूपमा भइरहेकाले तत्काल यसलाई रोक्न दुवै देशका सरकारले व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ ।'

कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका कार्यवाहक अध्यक्ष एवं संविधान सभा सदस्य डा. विजयकुमार सिंहले दुवै देशका सरकारले खुला रूपमा सीमा सम्बन्धमा छलफल नगरिरहेको भन्दै सुगौली सन्धि र सन् १९५० को सहमति भारत सरकारले पूर्ण रूपमा कार्यान्वयन नगरेको आरोप लगाए । उनले भने, 'सुगौली सन्धिको धारा ७ मा नयाँ नेपाल भनिने नेपालका चार जिल्लाका नागरिकलाई विशेष संरक्षण, विशेष सुविधा र समुचित आदर सम्मानको कुरा गरिएको छ । जसलाई भारत सरकारले के अहिलेसम्म कार्यान्वयन गरेको छैन भन्ने प्रश्न गरे ।'

डा. सिंहले भने, 'जुन ऐतिहासिकता छ सीमा सम्बन्धमा त्यसलाई भुलाएर सतही समाधान, तत्काल समाधान वा विभिन्न अभिरुचि ढंगले चाहे त्यो व्यापारिक, इलाज, शिक्षा वा अन्य विषयमा सीमालाई सीमित गर्छौ भने यो संवाद अधुरा रहन जान्छ । राजनीतिक, प्रशासनिक र आर्थिक सीमा निर्धारित हुन्छ । तर, प्राकृतिक सीमालाई हामी रोक्न सक्दैनौं । जनस्तरका लागि जनस्तर रूपमा दुवै देशको राष्ट्रियतामाथि संवाद गर्न जरुरी छ ।'

यस्तै श्रममन्त्री सिंहले सीमाको नयाँ परिवेश अनुसार व्यवस्थापन गर्दा सांस्कृतिक सम्बन्ध र घनिष्ठ मित्रतालाई ध्यानमा राखेर गर्नुपर्ने बताए । उनले पनि खुला सीमाले धेरै विषयमा सहजता भए पनि लागूऔषध कारोबारका कारण यहाँका युवाहरू कुलतमा फस्दै गएको प्रति दुवै देशका सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । 

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रामसरोज यादवले चुरे विनाशको असरबाट दुवै देशका जनता नराम्रोसँग प्रभावित भएकाले यसको संरक्षणमा साँझा प्रयासको आवश्यकतामा जोड दिए । यस्तै विशिष्ट अतिथि वीरगञ्ज भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत शैलेन्द्र कुमारले सीमामा आवत जावत गर्नेलाई परिचय पत्रको नाममा नागरिकलाई सीमा सुरक्षामा खटिएका दुवै देशका प्रशासनले दु:ख दिने गरेको जानकारी आफूलाई पनि आइरहेको बताउँदै माथिल्लो तहमा यसलाई व्यवस्थापन गर्न कुरा उठाउँदै आएको बताए । 

नेकपा एमालेका मधेश प्रदेशका उपनेता दीपेन्द्र ठाकुरले नेपालको सच्चा मित्र भारत भएको बताउँदै सीमामा आउने विवादको शान्तिपूर्ण रूपमा समाधान गर्दै सीमा क्षेत्रका नागरिकलाई असहजता उत्पन्न हुने कुनै पनि गतिविधि हुन नहुने बताए । 

यस्तै जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले खुला सिमानाको विषयमा वृहत् समीक्षा हुन जरुरी रहेको बताए । नेपाल-भारत खुला सीमा संवाद समूहका अध्यक्ष राजीव झाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले खुला सीमा नाका कारण सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई दुःख दिइरहेकाले यसलाई रोक्न माग गरेका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x