समाज

इजरायलबाट फर्किँदा विमानस्थलमा देखिएकाे खुशीका आँसु (तस्बिरहरू)

अनुज बज्राचार्य |
असोज २६, २०८० शुक्रबार ११:३३ बजे

काठमाडौँ- इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरूलाई लिनका लागि परराष्ट्रमन्त्री एनपी साउदसहित सरकारी अधिकारीहरू इजरायल गएका थिए ।

इजरायलमा भएकाे आक्रमणबाट जाेगिएर बसेका नेपालीहरूलाई नेपाल सरकारले उद्धार गरि नेपाल ल्याएकाे हाे । बिहान नेपाल ‍ओर्लिएका नेपाली विद्यार्थीहरु आफन्तसँग भेट्दा भावविव्हल बने । आफन्त भेट्दा कतै हाँसाे देखियाे कतै आँसु झरे ।


इजरायलमाथि हमास समूहको आक्रमणले नेपाली विद्यार्थीहरूले लुकेर ज्यान जाेगाएका थिए । उनीहरूले ब‌ंकरभित्र लुकेर ज्यान जाेगाएका बताए । ज्यानकाे आश मारिसकेकाे अवस्थामा नेपाल  फिरेर आफन्त भेट्दा उनीहरुकाे आँखा रसायाे ।

उद्धारपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए । 

इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरूको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले जानकारी दिए ।

इजरायल र हमासबीच जारी युद्धको शुक्रबार सातौँ दिन भए पनि अहिले शान्तिको सम्भावना कतै देखिँदैन ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x