समाज

पत्रिका जलाउने घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग

सुभाष कर्ण |
कात्तिक ४, २०८० शनिबार १४:४४ बजे

जनकपुरधाम- समाचार लेखिएको निहुँमा डेली एक्सप्रेस पत्रिका जलाएका जनकपुरधामस्थित स्थानीय महावीर युवा कमिटीलाई सरोकारवाला निकायले कारबाहीको माग गरेको छ ।

‘पार्क सौन्दर्यकरण र राजदेवी पूजा महावीरको कमाई खाने भाँडो’ भन्ने शीर्षकको प्रकाशित समाचारप्रति असहमति जनाउँदै शुक्रबार दिउँसो कमिटीका संस्थापक अध्यक्ष अरुणकुमार साह र वर्तमान अध्यक्ष अजय गुप्ता नेतृत्वकाे २०/२५ जनाको समूहले पत्रिका जलाएकाे थियाे ।


पत्रिकाका प्रकाशक एवं संचालक शंकर साहको घर अगाडि होहल्ला गर्दै उनीविरुद्ध गालीगलौजसहित चर्को नाराबाजी गर्दै समूहले पत्रिका जलाएकाे थियाे । घटनास्थलमा प्रहरी पुग्न अगावै उनीहरू फरार भएका थिए । सामाजिक विकासको उद्देश्य बोकेकाे संस्थाले यसरी पत्रिका जलाउनु गलत रहेको भन्ने प्रतिक्रिया गलत रहेको भन्दै सरोकारवाला निकायहरूले कारबाहीको माग गरेका छन् । 

सरोकारवाला निकाय नेपाल पत्रकार महासंघ मधेश प्रदेश, नेपाल पत्रकार महासंघ धनुषा, प्रकाशक महासंघ र मधेशी पत्रकार समाज धनुषा लगायतका संघ संस्थाले समाचारप्रति आपत्ति जनाउँदै कमिटीले पत्रिका जलाएको कार्यको ध्यानाकर्षण भएको जनाउँदै भर्त्सना गरेका छन् ।

घटनाप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्णले पत्रिका जलाउने गलत भएकाे र यसले ठाडो रूपमा नेपालको संविधान २०७२ को वाक एवं अभिव्यक्ति स्वतन्त्रतासहित विभिन्न कानुनले प्रदान गरेको प्रेस स्वतन्त्रताको हकलाई बन्देज लगाउने कार्य रहेको बताएका छन् । उनले भने, 'समाचारसँग चित्त नबुझेको खण्डमा समस्या समाधानको अन्य विकल्प रहँदा रहँदै पनि पत्रिका जलाउनु गलत हो, सम्बन्धित निकायले घटनाको छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्नुपर्दछ ।'

यस्तै नेपाल पत्रकार महासंघ धनुषाका सचिव बटुकनाथ झाले एक प्रेस विज्ञप्ति जारी गर्दै समाचारलाई आधार बनाएर डेली एक्सप्रेसका प्रकाशक शंकर साहको निजी भवन अगाडि महावीर युवा कमिटीका पदाधिकारीहरूको समूहले गालीगलौज, होहल्ला, नाराबाजी गर्दै पत्रिका जलाएको घटनाको भर्त्सना गर्दै घटनाको छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न माग गरेको छ । 

नेपालको संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । पत्रपत्रिका वा विद्युतीय संचार माध्यममा प्रकाशित समाचार र विचारलाई आधार बनाएर धाकधम्की दिनु, भौतिक आक्रमण गर्नु पत्रपत्रिका जलाउने कार्य संविधानले प्रेसलाई प्रदान गरेको अधिकारको हनन रहेको ठहरसहित महासंघले घटनाको भर्त्सना गरेकाे हाे । 

प्रकाशक महासंघ नेपाल समेतका कार्यवाहक अध्यक्ष धर्म मण्डल र महासचिव उपेन्द्रभगत नागवंशीले संयुक्त रूपमा एक प्रेस विज्ञप्ति जारी गरी घटनाको भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । उनले समाचारलाई आधार बनाएर प्रकाशकलाई गालीगलौज र उनीविरुद्ध नाराबाजीसहित पत्रपत्रिका जलाउनु भनेको नेपालको संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको अधिकार हनन गर्ने कार्य रहेको भन्दै घटनामा संलग्न महावीर युवा कमिटीका पदाधिकारीहरूलाई तत्काल कारबाही गर्न माग गरेका छन् । 

त्यस्तै मधेशी पत्रकार समाज धनुषाका अध्यक्ष सुभाष कर्णले महावीर युवा कमिटीले डेली एक्सप्रेस पत्रिका जलाएको घटनाको भर्त्सना गर्दै कानुनले प्रेस स्वतन्त्रताको दिएको अधिकारलाई हनन गर्ने कार्य रहेको ठहर गर्दै घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीको सम्बन्धित निकायसँग माग गरेका छन् ।

राम मन्दिर पार्क सौन्दर्यका लागि गत आ.व.मा जनकपुरधाम उपमहानगरपालिकाले विनियोजन गरेको ६० लाख रुपैयाँ महावीर युवा कमिटीसँग आबद्ध व्यक्तिहरूका कारण काम गर्न नसक्दा फ्रिज भएको र अब पुन चालू आ.व.मा कमिटीका पदाधिकारीले बजेट माग गरेकोसहित राजदेवी पूजा व्यवस्थापनको नाममा कमिटीले बोका बली, मेला ठेक्का, मन्दिरको चढौनासहित ६० लाखभन्दा बढी रकम आम्दानी गर्ने गरेको बारे समाचार सम्प्रेषण गरेको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x