समाज

दसैँ अवधिभर धनुषामा ३७ जना पक्राउ

सुभाष कर्ण |
कात्तिक १२, २०८० आइतबार १९:२१ बजे

जनकपुरधाम- दसैँ अवधिभर धनुषामा चोरीसहित विभिन्न आपराधिक घटनामा संलग्न रहेकाे आराेपमा ३७ जनालाई पक्राउ गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार पत्रकार सम्मेलन गर्दै दसैँको घटस्थापनादेखि दशमीसम्म चोरी, लागूऔषध सेवन र शंकास्पद रूपमा हिँड्डुल गर्नेलगायतका ३७ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।


पत्रकार सम्मेलनमा धनुषाका एसपी विश्वराज खड्काले दसैँभरमा मोटरसाइकल र साइकल चोरी आरोपमा ४/४ जना, मोटर चोरीमा संलग्न २ जना, घरमा चोरी गर्ने आरोपमा ८ जना, घरको ताल्चा फुटाउने घटनामा संलग्न ४ जना लागूऔषध सेवन गर्ने ६ जनासहित मेलामा रातिको समयमा शंकास्पद रूपमा हिँड्डुल गर्ने ७ जना गरी ३७ जनालाई पक्राउ गरिएको बताए । 

उनले भने, ‘चोरीसहित विभिन्न आपराधिक घटनामा पक्राउ परेका मध्ये २७ जनालाई सम्झाई बुझाई आफन्तको जिम्मा लगाइएको र बाँकी १० जनाविरुद्ध थप अनुसन्धान भइरहेको र तिनीहरूविरुद्ध मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइने छ ।’

यस्तै दसैँभरमा भन्सार छली गरी चोरी निकास गरिएका १५ लाख रुपैयाँभन्दा बढीका मालसामान प्रहरीले बरामद गरेको छ । एसपी खड्काले जनाए अनुसार भन्सार छलेर चोरी निकासी गरी अवैध ल्याउँदै गरेको अवस्थामा १५ लाख ५७ हजार ७४० रुपैयाँ बराबरको चिनी, चामल, लत्ताकपडासहितका सामग्री बरामद गरिएको हो । बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको छ ।

आम नागरिक शान्तिपूर्ण वातावरणमा सौहार्दपूर्ण तरिकाले दसैँ पर्व मनाउन पाउन र मेला व्यवस्थापन उद्देश्यले जिल्ला प्रहरी कार्यालय धनुषाले ट्राफिक प्रहरीसहित ६६८ जना प्रहरी परिचालन गरेको थियो । जिल्लाको ९५ स्थानमा आयोजना गरिएको मेलामा सुरक्षा योजना बनाई आवश्यक संख्यामा प्रहरी परिचालन गरिएको थियो भन्ने कुरा एसपी खड्काले बताए । 

उनले भने, ‘दसैँ मेला व्यवस्थापनका लागि विशेष सुरक्षा योजना अन्तर्गत मेला डियूटी चेक प्वाईन्ट, यात्रु सहायता कक्ष, क्यूआरटी, पैदल गस्ती, मोटरसाइकल गस्ती, ट्राफिक व्यवस्थापन, राजमार्गमा प्रहरी परिचालन गरिएको थियो ।’


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x