समाज

राहतको पर्खाइमा भूकम्प पीडित, आएको राहत सदरमुकाममै थुप्रियो

लक्ष्मी भण्डारी |
कात्तिक २१, २०८० मंगलबार १८:२ बजे

सुर्खेत- जाजरकोटको भेरी नगरपालिका–३ स्याँलाका मिनबहादुर विकको परिवार राहतको पर्खाइमा छ । गएको शुक्रबार आएको भूकम्पले घर चर्किएपछि उनीहरू खुल्ला आकाशमुनि बस्दै आएका छन् ।

अहिले  उनीहरू पुरानो त्रिपालमुनि  चर्किएको घर नजिकै बारीमा बसिरहेका छन् । ‘घरबाट पुरिएका सामान निकाल्न डर लाग्ने सामान निकाल्न पनि सकिँदैन,’ उनले भने, ‘राहत दिनेले पनि छिटो दिए हुने थियो ।’


भूकम्पले घर क्षति भएका गणेश खत्रीकाे परिवारले पनि अहिलेसम्म त्रिपाल र अन्य राहत सामग्री पाएकाे छैन । भूकम्पले उनको घर पूरै भत्किएको छ । ‘यतिका दिन बितिसक्यो, अहिलेसम्म राहत सामग्री पाउन सकिएको छैन,’ खत्री भन्छन्, ‘बाहिरबाट गाडीमा र हेलिकप्टरमा आएको छ भन्छन् तर, हाम्रो हातमा परेको छैन ।’

यता नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावतले सोमबारदेखि प्रभावित क्षेत्रमा राहत पुर्याउन थालिने बताए । ‘हाम्रो पालिकामा ९० प्रतिशत घरका मानिस बाहिर बस्नुपर्ने अवस्था छ, आइतबारसम्म घाइतेहरूको उपचार र दाहसंस्कारमा व्यस्त भयौं,’ रावतले भने, ‘अबदेखि राहत वितरणको काममा ध्यान दिन्छौं । केही ठाउँमा त्रिपाल पठाइसकेका छौं, अरूमा पनि जाने क्रम सुरु हुन्छ ।’

उनका अनुसार अहिलेसम्म पालिकामा ७४५ त्रिपाल तथा त्यस्तै मात्रामा अरू सामान पुगेका छन् । आवश्यकताअनुसार भने सामग्री आइ नपुगेको उनले बताए । आफूले प्रमुख जिल्ला अधिकारीलाई राहत सामग्री छिटो पठाइदिन आग्रह गरेको मेयर रावतले बताए ।

यता बारेकोट गाउँपालिका प्रमुख विरबहादुर गिरी राहतसँगै मनोपरामर्शको पनि जरुरी रहेको बताउँछन् । सरकारलगायत विभिन्न क्षेत्रबाट आएको राहत सामग्री भने सदरमुकाम खलंगामा थन्किएको छ । सदरमुकाममा ती राहत बुझ्ने काम प्रशासन र स्थानीय तहले गरिरहेका छन् । सदरमुकाममा थुप्रिएका राहत भने एकद्वार प्रणालीमा वितरण गर्न खोज्दा प्रभावितसम्म पुग्न सकेको छैन । यता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले प्राप्त राहत एकद्वार प्रणालीमार्फत् वितरण गर्न खोजिएको बताए ।

‘अहिले प्राप्त राहतभन्दा पनि माग धेरै छ,’ उनी भन्छन्, ‘हामीले बढी प्रभावितलाई पहिला र त्यसपछि कम प्रभावितलाई क्रमश: रूपमा राहत बाँड्न लागेका छौं । यस कारण पनि जनगुनासाहरू आएका छन् ।’ उनले मृतक तथा पूर्ण रूपमा घर क्षति भएकालाई अगाडि र घर भएका तर चर्किएकालाई त्यसपछि राहत बाँड्ने काम भइरहेको जनाए ।

२० हजार नागरिकलाई पुग्ने राहत जम्मा भएको तर, त्यसको दोब्बर माग हुनाले पनि वितरणमा समस्या भएको उनकाे भनाइ छ ।


Author

थप समाचार
x