समाज

परराष्ट्र मन्त्रालयलाई रिपोर्टिङ : विपिन जोशी गाजामा सुरक्षित

इकागज |
मंसिर ४, २०८० सोमबार ८:१९ बजे

काठमाडौँ- ​ हमास-इजरायल युद्धमा हमास समूहले नियन्त्रणमा लिएको विपिन जोशी सुरक्षित रहेको पाइएको छ । सुरक्षित रहेका जोशीलाई छुटाउनको लागि पहल भइरहेको परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दिपक जोशीले बताए । उनका अनुसार विपिन हमास समूहको नियन्त्रणमा गाजामा सुरक्षित रहेको परराष्ट्र मन्त्रालयलाई रिपोर्टिङ आएको छ ।

'विपिन जोशी सुरक्षित रहेको जानकारी पाएका छौँ । उहाँ गाजामा हमासको नियन्त्रण हुनुहुन्छ' दिपकले इकागजसँग भने 'उहाँलाई ल्याउन सरकार लागि परेको छ ।'


इजरायलस्थित नेपाली दूतावास, नेपालस्थित इजरायली दूतावास र कतारस्थित नेपाली दूतावासको पहलमा जोशीबारे थाहा भएको दिपकले बताए । उनका अनुसार कतारस्थित नेपाली दूतावासले विपिनलाई फिर्ता ल्याउन प्रयास गरिरहेको छ ।

यसैबीच ७ अक्टोबरमा दक्षिणी इजरायलमा आक्रमणमा बन्धक बनाएर गाजामा लगेकोमध्ये विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताको भनाई उदृत गर्दै इजरायलस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेको छ ।

विपिनको खोजीकार्य जारी रहेको दूतावासले जनाएको छ ।

इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने ४ जना विद्यार्थी घाइते भएका थिए ।

 


Author

थप समाचार
x