समाज

बबरमहलमा ‘पेलिकन क्रसिङ’ : बाटो काट्‌न बटन थिचेपछि पैदल यात्रुले थाहा पाउनैपर्ने यी कुरा

इकागज |
मंसिर ११, २०८० सोमवार ११:५४ बजे

बरमहलमा पैदल यात्रु आफैँले बटन थिचेर बाटो काट्दै । तस्बिर : अतिन आचार्य/इकागज

काठमाडौँ- काठमाडौँको बबरमहलमा पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । सोमबारबाट बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा भने १० लाख रुपैयाँ लागतमा पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखेको हो ।

‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आजबाट सञ्चालनमा ल्याइएको हो । सञ्चालनमा आएसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले बटन थिचेपछि पाँच सेकेण्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेण्डभित्र पैदल यात्रुले जेब्रा क्रसिङ गरिसक्नुपर्ने बताए । उनले प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्ने र प्रयोग गर्न जान्दा राम्रो हुने बताए ।


‘काठमाडौँ महानगरपालिकाद्वारा आम नागरिकका लागि राखिएको ट्राफिक लाइट हो । यसलाई थिचिसकेपछि यसले सहज रुपमा जुन तोकिएको समय छ, अहिले ३० सेकेण्ड राखिएको छ । त्यो थिचेपछि पाँच सेकेण्ड कुर्नुपर्छ, त्यो कुरेपछि हरियो बत्ती बल्छ, पैदल यात्रुका लागि । ३० देखि ३५ सेकेण्ड तोकिएको समयमा क्रस गरिसक्नुपर्छ'उनले भने 'यो उपयुक्त छ र यसलाई प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्छ, प्रयोग गर्न जान्दा त्यसले सूचना देखाउँछ, त्यसलाई ख्याल गरेर बाटो काट्नुपर्छ ।'

त्यस्तै बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठले अल्पकालीन रुपमा जेब्रा ट्राफिक राखेपनि दीर्घकालीन रुपले यो हाइवेमा अर्थपूर्ण नहुने बताए । उनले यसका लागि जनप्रतिनिधिहरूले अण्डर पास वे बाटो बनाउने तयारी गरिरहेको बताए ।

उनले भने ‘ट्राफिक लाइट अहिले अल्पकालीन रुपमा जेब्रा ट्राफिक लाइटले राम्रै हुने विश्वास लिएको छु । दीर्घकालीन रुपले यो हाइवेमा अर्थपूर्ण रहँदैन । आगामी वर्षमा यसलाई अण्डर पास वे बाटोको जुन रुपमा जेब्रा क्रसिङ राख्न सकिन्छ ।’

उनले आगामी वर्षमा दीर्घकालीन रुपमा समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।


Author

थप समाचार
x