समाज

भारतमा प्रतिघण्टा ११० किलोमिटर बेगमा आएको ‘मिचोङ्ग’ आँधीले नेपालमा असर गर्ला ?

इकागज |
मंसिर १९, २०८० मंगलबार १०:४३ बजे

तस्बिर स्रोत : इन्डिया टुडे

नयाँदिल्ली- ‘मिचोङ्ग’ सामुद्रिक आँधीले भारतकाका दक्षिणी राज्यहरूमा समस्या देखिएको छ । 

चेन्नईमा भारी वर्षा र तेज हावाहुरीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । धावनमार्गमा पानी जमेका कारण विमानस्थलको उडान सञ्चालनमा समेत असर परेको छ भने धेरै उडान रद्द गर्नुपरेको छ ।


तमिलनाडु सरकारले चेन्नई, कांचीपुरम, तिरुवल्लुर र चेंगलपट्टु जिल्लामा सोमबार र मंगलबार सार्वजनिक बिदा दिएको छ। यसले ‘मिचोङ्ग’लाई ध्यानमा राख्दै निजी कम्पनीका कर्मचारीहरूलाई घरबाट काम गर्न आग्रह गरेको छ । दूध आपूर्ति र स्वास्थ्य सुविधाजस्ता अत्यावश्यक सेवाहरू सञ्चालनमा रहने छन् । सडक, वस्ती र विमानस्थलहरुसमेत डुबानमा परेका छन् ।

मौसम विभागका अनुसार यो सोमबार गम्भीर चक्रवाती आँधीमा परिणत भएको र मंगलबार बिहान दक्षिणी आन्ध्र प्रदेशको तट पार गर्ने सम्भावना रहेको छ । प्रतिघण्टा ११० किलोमिटरको गतीमा आँधी बहेको छ ।

सोमबार मात्रै केन्द्रीय गृहमन्त्री अमित शाहले तमिलनाडु, आन्ध्र प्रदेश र पुडुचेरीका मुख्यमन्त्रीहरूसँग चक्रवात ‘मिचोङ्ग’बाट उत्पन्न चुनौतीहरूबारे छलफल गरेका छन् । उनले अवस्था समाधानका लागि केन्द्र सरकारबाट सहयोग गर्ने आश्वासन दिए ।

भारतमा ‘मिचोङ्ग’ नाम दिइएको सामुद्रिक आँधीले नेपालको बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशमा भने बादल बादल लाग्नेछ । भारतमा आएको उक्त आँधीले नेपालमा भने पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


Author

थप समाचार
x