समाज

'राति सुत्न पाएका छैनौँ, हात्ती धपाउँदै रात बित्छ'

इकागज |
मंसिर २२, २०८० शुक्रबार १५:८ बजे

फाइल तस्बिर

बेलबारी (मोरङ)- साँझ पर्न नपाई बस्ती छिर्न थालेका जङ्गली हात्तीको बथानदेखि भाउन्नेका स्थानीय आतङ्कित बन्नुपरेको छ । दिनभरि नजिकै रहेको जङ्गलमा करिब तीन दर्जनको सङ्ख्यामा रहेका हात्ती साँझ आहाराका लागि बस्ती छिर्न थालेपछि स्थानीय त्रसित बन्नुपरेको छ । 

बेलबारी नगरपालिका-१० भाउन्नेका तेजबहादुर दाहालले दश कट्ठा जमिनमा लगाएको मकै हात्तीले सोत्तर बनाएको छ । 'राति सुत्न पाएका छैनौँ, हात्ती धपाउँदै रात बित्छ,' दाहालले भने । बिहीबार राति स्थानीय रबिन निरौला र तीर्थबहादुर दाहालको घरमा हात्तीले क्षति पुर्याएको छ । दाहाल भन्छन्, 'राति खाना खाने समयमा आएका हात्तीले घर भत्काउन थाले, हामीले भागेर ज्यान बचायौँ ।'


आज बिहान मोरङको बेलबारी-१० भाउन्नेस्थित जङ्गली हात्तीको आक्रमणबाट भएको घर र बालीको निरीक्षण गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बस्तीमा आएका जङ्गली हात्तीलाई बस्तीभन्दा टाढा बासस्थानतर्फ चाँडै धपाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 

साथै हात्तीले पुर्याएको क्षतिको उचित क्षतिपूर्ति दिइने मुख्यमन्त्री कार्कीले बताए । बेलबारी-८ र १० मा मात्रै २० औँ बिगाहा जमिनमा लगाइएको मकै र केरा खेतीमा हात्तीले क्षति पुर्याएको बेलबारी-१० वडाध्यक्ष गङ्गाबहादुर याखाले बताए । केही दिनदेखि दैनिक रूपमा राति हात्ती धपाउन सशस्त्र प्रहरी, जनपद प्रहरी र नगर प्रहरीका साथै स्थानीयले प्रयास गरिरहे पनि पार नलागेको वडाध्यक्ष याखा बताउँछन् । 

मोरङको भाउन्ने क्षेत्रमा मकै र केरा खेती राम्रो उत्पादन हुने गरेको छ । यहाँका स्थानीय मकै र केरालाई नगदे बालीका रूपमा आफ्नो मुख्य आम्दानीको स्रोत मान्ने गरेको बेलबारी-१० भाउन्नेका अशोककुमार सुब्बा बताउँछन् । बेच्नलाई तयारी अवस्थामा रहेको एक कट्ठा जमिनको मकै गएराति आएका जङ्गली हात्तीले सखाप बनाएको सुब्बाले बताए ।

झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा यति बेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । विगत १५ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा दुई, सुनसरी र मोरङमा एक/एक गरी चार जनाको मृत्यु भइसकेको छ । यही मङ्सिर ५ गते हात्तीले आक्रमण गर्दा झापाको दमकको बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको थियो । शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो ।

यस्तै मङ्सिर १३ गते राति सुनसरीको इटहरीमा जङ्गली हात्तीको आक्रमणबाट इटहरी-२ का रबिन खड्काको मृत्यु भएको थियो । चारकोसे झाडीबाट बस्तीमा छिरेको हात्तीको बथान धपाउने क्रममा खड्कालाई मारेको हो । प्रहरीका अनुसार इटहरीको वडा नं १९, २०, २ र ३ मा हरेक रात हात्तीको बथानले भौतिक क्षति पनि गर्दै आएको छ ।

मङ्सिर १५ गते फेरि झापाको हल्दिबारी-३ स्थित रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर वनको पनि हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो । जङ्गलबाट आएको एउटा हात्तीले वनलाई लछारपछार गरी कुल्चिएर मारेको हो । मङ्सिर १८ गते बिहान मात्रै मोरङको बेलबारीमा एक जनालाई हात्तीले मारेको छ । लेटाङ-३ का ५३ वर्षीय कमल माझीलाई हात्तीले बेलबारी-१० भाउन्नेमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा केही समययता जङ्गली हात्ती हुलका हुल पसिरहेका छन् । लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा आतङ्क मच्चाइरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन दाहालका अनुसार मोरङको बेलबारीमा देखिएको हात्तीको समूह २०-२१ वटाको छ । दुई हप्ता अगाडिदेखि मोरङ र सुनसरीको चुरे आसपासको क्षेत्रमा हात्ती घुमिरहेका छन् ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेका अनुसार सलकपुर, बेलबारी र उर्लाबारीको मङ्गलबारेमा रहेको डिभिजन वन कार्यालयबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन सुरक्षाको टोली साइरनसहित हात्ती धपाउन परिचालित छ । रासस


Author

थप समाचार
x