समाज

जनकपुरमा विवाहपञ्चमी महोत्सव आजबाट सुरु

इकागज |
मंसिर २६, २०८० मंगलबार १९:५१ बजे

काठमाडौँ- मिथिलाञ्चलको ठूलो उत्सव विवाहपञ्चमी महोत्सव आजबाट सुरु भएको छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन विधि गरिएको हो ।

भगवान राम र लक्ष्मण पहिलो पटक प्राचीन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन गर्ने गरिन्छ । जनकपुरधाम क्षेत्रमा मंगलबार बिहानैदेखि श्रद्धालु भक्तजनहरूको चहलपहल देखिएको थियो । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत नगर दर्शनलाई लिएर जानकी मन्दिरमा पूजा आराधनाका लागि श्रद्धालु भक्तजनहरू पुगेका थिए ।


नगर दर्शन विधिमा राम लक्ष्मणको प्रतीकको रूपमा रहेको दुई बालकलाई नगर दर्शन गराइएको थियो । यसका साथै राम लक्ष्मणलाई मिथिला भ्रमण गराएका ऋषि विश्वामित्रको प्रतीक पात्र समेत थिए । नगर दर्शनको अवसरमा मंगलगान समेत गाइएको थियो ।

त्रेता युगमा समेत भगवान राम लक्ष्मण जनकपुरधाम आएपछि यस्तै स्वागत गान गाइएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए ।

नगर दर्शन विधिका लागि जनकपुरधामस्थित जानकी मन्दिरकै प्रांगणमा कृत्रिम बजार बनाइएको थियो । चिया, पान, मखान, खेलौना, मिठाई, मिथिला चित्रकला, कपडा, सिन्दुर, आदिका पसलहरू कृत्रिम रूपमा निर्माण गरिएका थिए । राम लक्ष्मणको प्रतीकको रूपमा रहेका दुई किशोर बालकलाई रातो कार्पेट ओछ्याएर कृत्रिम बजार समेत घुमाइएको थियो ।

राम लक्ष्मण स्वयं जनकपुरधामको नगर दर्शन गर्दा पूरै मिथिलाको वातावरण उल्लासमय बनेको थियो जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । सोही दर्शाउनका लागि जानकी मन्दिर परिसरमै कृत्रिम बजार लगाएर नगर दर्शन विधि गरिएको उनले बताए ।


Author

थप समाचार
x