समाज

नेपाली भाषा र संस्कृति जोगाउन अष्ट्रेलियामा लागि परेका अनन्त

अतिन आचार्य |
मंसिर ३०, २०८० शनिबार ८:३ बजे

काठमाडौँ- अवसर र बाध्यताको खोजीमा विदेशिनु नेपालीको पहिलो आवश्यकता नै बनेको छ । दैनिक नेपाली युवाहरू घरको आँगन छाड्छन् । केही युवा भने उतै पलायन पनि हुन्छन्, केहीलाई भने नेपालको मायाले तान्छ ।

तिनै विदेशिनेको लर्कोमा एक दिन पोखराका अनन्त गुरुङ पनि परे । घरको आँगन छाड्न मात्रै होइन देश नै छाड्न उनी तयार भए । 


उनी परदेशको भूमिमा रहे पनि आफ्नो मुलुकलाई नबिर्सन र सकेको योगदान गर्नुपर्ने बताउँछन् । यतिखेर राष्ट्रका लागि केही गरौँ भनेर उनी अष्ट्रेलियास्थित न्यू साउथ वेल्समा एनआरएनएको युवा संयोजक पनि छन् । नेपाल र नेपाली समुदायका निम्ति साथ र सहयोग लागि सधैँ अनन्त अगाडि सर्ने गर्छन् ।

नेपाली समुदायका निम्ति र अप्ठयारो पर्दा आफैँ अगाडि उभिने गरेको छु,' उनले भने,' विदेशमा रहेका नेपालीहरूको प्रगति हुनु नै समग्र नेपालको प्रगति भएको जस्तो लाग्छ ।'

अनन्त अष्ट्रेलियास्थित नर्सिङ होममा काम गर्छन् । स्वदेशमा समाजसेवामा रहेका उनले विदेशमा पनि सेवाको काम छाडेका छैनन् । मानिसको सेवा गर्नुजस्तो ठूलो धर्म अरू नरहेको उनको भनाइ छ ।

उनले एनआएनए साउथ वेल्सको संयोजक भएपछि पनि नेपाली समुदायका लागि धेरै योगदान गरे । पाँच पदीय जिम्मेवारीबाट कहिले भागेनन् । पद र क्षमता अनुसारको सधैँ काम गरेर देखाए ।

केही समयअघि पश्चिम नेपालका भूकम्प पीडितहरूका लागि अष्ट्रेलियन ३ हजार डलरभन्दा बढी उठाएर पनि पठाए । भूकम्प पीडितका लागि भनेर देउसी भैलोबाट पैसा संकलन गरेका थिए ।

अनन्त धेरै नेपाली युवाहरूलाई मानसिक स्वास्थ्यको बारेमा चेतना फैलाउने गर्छन् । मानिसका लागि समस्या आउँछन् तर समस्या आयो भन्दैमा भागेर बस्न नहुने उनले सुनाए । समस्यासँग जुध्नुपर्ने उनको बुझाइ छ ।

घरेलु हिंसाबाट गुज्रिरहेका व्यक्तिहरूलाई उद्धार र सहयोग गर्ने गरेको उनी बताउँछन् । अनन्त खेलमा पनि रुची राख्छन् । अष्ट्रेलियामा रहेर पनि खेलकुद क्षेत्रमा सहयोग गरिरहेका छन् । नेपाली खेल फुटबल र क्रिकेट विकासका लागि पनि उत्तिकै योगदान गरिरहेको उनले बताए ।

युवाहरूलाई कानुनी समस्या पर्दा कानूनी सहायता प्रदान गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको छु,'  उनले अगाडि थपे, युवा उद्यमीहरूलाई प्रोत्साहन गर्नुपर्छ र आवश्यक पर्दा कानुनी सहयोग गरी नेपाली समाजमा घुलमिल गराउने गरेको छु ।'

नेपाली समुदायको चाडपर्वमा प्रत्यक्ष रुपमा सहभागी हुन्छन् । समस्या पर्दा पनि उनले सदा हात दिने गरेका छन् । समस्याको समाधान पनि वार्ताबाट हुनुपर्छ भनेर धेरै पटक उनले पहल गर्ने गरेको बताउँछन् ।

उनले गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका नीति निर्माण स्तरमा धेरै युवाहरूको संलग्नता गराउन चाहेको योजना सुनाए । निष्क्रिय युवाहरूलाई सक्रिय बनाउनका लागि विभिन्न कार्यक्रम लिएर समुदायमा जाने उनले बताए ।

'नयाँ आएका युवाहरूको लागि स्रोत केन्द्र बन्न सकिन्छ,' २५ वर्षीया अनन्त उत्साहित हुँदै भन्छन्,' अष्ट्रेलियामा जन्मेका नेपालीहरूको हित हुने कार्यहरू गर्न लाग्नेछु । जसले नेपालको संस्कृति, इतिहास र भाषामा लगाव बढाउन प्रेरणा मिलोस् ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x