समाज

माइतीघर निषेधित क्षेत्र

'होटल- रेष्‍टुरेण्टमा खाजा खान प्रहरी मात्र पुग्छन, खाजा खाने मानिस हराए'

' मानिसहरू पुनः प्रदर्शन गर्न पुगे थप कडाइ गरिनेछ'

अतिन आचार्य |
पुस २, २०८० सोमबार १५:५६ बजे

काठमाडौँ- करिब एक महिनाअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलदेखि नयाँबानेश्वर चोकसम्म निषेधित क्षेत्र तोक्यो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा गरे । उनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम आदेश जारी गरेका हुन् । 

पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको हो । 


माइतीघर निषेधित क्षेत्र हुनुअघि त्यहाँ मानिसहरू विभिन्न माग राखी धर्ना जुलुस गर्न पुग्थे । मानिसको चहलपहल पनि बढिरहेको हुन्थ्यो । वरिपरिका रेष्टुरेण्ट तथा होटलमा मानिसहरूको घुइँचो बढी हुन्थ्यो ।

कुनै दिन देशभरिका नागरिकको न्याय खोज्ने स्थान माइतीघर मण्डला बनेको थियो । दैनिक प्रदर्शन हुने माइतीघर हिजोआज भने नेपाल प्रहरी र सशस्त्र प्रहरीका भ्यान मात्र देखिन्छन् । अहिले भने ठूलो ब्यानरमा निषेधित क्षेत्र र जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्‍ति देखिन्छ ।

माइतीघरलाई निषेधित क्षेत्र तोकिएपछि मानिसको चहलपहल घटेको छ । होटल तथा रेष्टुरेण्टमा ग्राहकको संख्या घटेको व्यवसायीहरू बताउन थालेका छन् । मानिसको उपस्थिति शून्यप्राय देखिने र ग्राहकका संख्या पनि धेरै कम रहेको होटल सञ्चालकहरूले बताए ।

निषेधित क्षेत्र भएपछि ग्राहकको पचास प्रतिशत ग्राहकको संख्यामा कमी आएकाे माइतीघरमा रहेका हाम्रो ममः पसलका सञ्चालका विनोद अधिकारी बताउँछन् ।

‘निषेधित क्षेत्र लागू हुनु अगाडि होटलमा हामीलाई भ्याइनभ्याइ हुन्थ्यो,’ उनले भने,’  आन्दोलनमा सहभागी मानिसहरू खाजा खान आउने भएकाले पनि ग्राहकको संख्या बढी हुन्थ्यो ।'

आन्दोलनमा सहभागी मात्र नभइ सुरक्षार्थ खटिएका सुरक्षाकर्मीसमेत खाजा खान होटलमा आउने गरेको उनले जानकारी दिए । निषेधित क्षेत्र लागू भएपछि सुरक्षाकर्मीको संख्या कम भएकाले प्रहरीहरू पनि खाजा खान नआएको उनले बताए ।

घरधनीलाई यो महिनाको भाडा तिर्न पनि सकस हुने उनले दुःखेसो पोखे । निषेधित क्षेत्र लागू हुनुभन्दा दैनिक ५० हजार कमाइ हुने अहिले ५ हजारको बिक्री हुन कठिन भइरहेको अधिकारीले बताए ।

‘आन्दोलनमा आउने नियमित ममःचाउमिन खान आउने ग्राहक हराएका छन्,’ उनी थप्छन्,’ अहिले भने चिया २० कप बिक्री हुन हम्मे-हम्मे परिरहेको छ । सरकारले गरेको निर्णय राम्रो होला तर मानिसको चहलपहल नहुँदा आफूलाई गाह्रो परिरहेको छ ।‘

पछिल्लो समय माइतीघर क्षेत्रमा चहलपहल निकै घटेको अर्का फास्टफुड सञ्चालक समेत बताउँछन् । निषेधित क्षेत्र घोषणा भएपछि मानिसको चहलपहल घट्दा पनि खाजा खान आउने ग्राहकको संख्या कमी भएको सञ्चालकले बताए । सुनसान क्षेत्र र पाँच देखि दश जना मात्र सुरक्षाकर्मी उभिएका देखिने उनले बताए ।

निषेधित क्षेत्र अगाडि ग्राहकले भरिभराउ हुने क्षेत्र होटल अहिले सुनसान बनेको छ,’ उनले भने,’  पछिल्लो समय खाजा खाने ग्राहक भनेको नै सुरक्षाकर्मी रहेका छन् ।‘

निषेधित क्षेत्र भएपछि रमिता मात्र हेर्न आउने मानिससमेत हराएको उनको अनुभव छ। ‘निषेधित क्षेत्र लागू भएपछि माइतीघरको व्यापार, व्यवसायलाई खायो,’ फास्टफुड सञ्चालकले भने, ‘लाखौं भाडा तिर्नुपर्ने हामीजस्तालाई ग्राहक नआउँदा पनि समस्या होला जस्तो छ ।‘

एक महिनाअघि उनकोमा पनि दैनिक सय जना ग्राहक आउने अहिले २० देखि ४० जनामात्र आउने गरेको उनले जानकारी दिए ।

माइतीघरलाई निषेधित क्षेत्र तोकेपछि मान्छेको भीड कम हुँदै गएको छ । यसरी ग्राहकको संख्यामा कमी आउन थालेपछि पसल बन्द गर्ने मनस्थितिमा पुग्न सकिने उनले बताए ।

केही दिनपछि माइतीघरलाई निषेधित क्षेत्र तोकिएको समय सकिँदैछ । माइतीघर आसपास महत्त्वपूर्ण सरकारी कार्यालय र अस्पताल भएकाले पनि त्यस क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य बताउँछन् ।

भक्तपुर र ललितपुर जाने लाइफ लाइन बाटो पनि त्यहीँ भएकाले त्यस क्षेत्रमा हुलहुज्जत नगर्न निर्देशन दिइसकेको उनले बताए । आन्दोलन र प्रदर्शन गर्नका लागि छुट्टै स्थान तोकिएको उनले जानकारी दिए ।

‘पुरानो लयमा आएर मानिसले पुनः प्रदर्शन गरे भने निषेधित क्षेत्र घोषणा हुन्छ,’ उनले भने,’ अहिलेको अवस्थामा रहिरह्यो भने निषेधित क्षेत्र घोषणा गर्न कुनै आवश्यक हुँदैन होला । नागरिकहरू कानुन तोडेर माइतीघर आएमा पुनः अर्को निर्णय गरेर समय थप्छौ ।‘

बीच सडकमा बसेर सडक अवरुद्ध र फोहोर गरेकाले यसपटक निषेधित क्षेत्र घोषणा गरिएको उनले सुनाए । निषेधित क्षेत्रको समय सकिए पनि अब कडाइका साथ भेला र प्रदर्शन गर्न नदिने उनको भनाइ छ ।

‘त्यहीँ सडकबाट मानिसहरू कार्यालय जानआउन ओहोरदोहोर गर्छन् । दमकल जस्ता अतिआवश्यकीय साधनलाई पनि अवरोध हुने भएकाले हटाउनु परिरहेको छ,’ उनी भन्छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x