समाज

जिल्ला अदालतमा पनि छिट्टै व्यवस्था हुने प्रधानन्यायाधीश श्रेष्ठको घोषणा

इकागज |
पुस ८, २०८० आइतबार १४:३८ बजे

काठमाडौँ- उच्च अदालत र यसका इजलासहरूमा स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली सुरु भएको छ ।‍

आइतबार उच्च अदालत पाटनमा आयोजित एक कार्यक्रमबीच प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो प्रणालीको शुभारम्भ गरेका हुन् । त्यस अवसरमा उनले सबै उच्च अदालतहरूमा पनि मानवको हस्तक्षेपविहीन ढंगले पेसी तारेख व्यवस्थापन प्रणाली सुरु गरिएको उल्लेख गर्दै त्यसलाई न्यायिक इतिहासकै एक सुखद् क्षणको रूपमा स्मरण गरे ।


प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सफल भएको त्यो प्रविधिले उच्च अदालतमा पनि सबै सेवाग्राहीलाई बिनाभेदभाव पेसी तारेख लिन पाउने र अदालतमा पनि अनियमितता नहुने कुराको सुनिश्चित भएको दाबी समेत गरे । उनले सो प्रणालीसँगै पेसी तारेखका लागि अब कसैको भनसुन वा आग्रहमा हुने कुराको पनि अन्त्य भएको बताए ।

प्रधानन्यायाधीश श्रेष्ठले सो प्रविधि सर्वोच्च अदालतकै सूचना प्रविधि विभागले तयार गरेकाले त्यसमा कुनै समस्या आए तत्काल समाधान हुने विश्वास व्यक्त गरे । उनले सो प्रविधिको जिल्ला अदालतमा पनि शुभारम्भ गराउनका लागि आफूले अध्ययनको कामलाई अघि बढाएको बताए ।

प्रधानन्यायाधीश श्रेष्ठले अदालतका इजलासहरूलाई पनि प्रत्यक्ष प्रशारणका लागि अध्ययनको कामलाई अघि बढाएको बताए । केही समय पहिले आफूले भारतको सर्वोच्च अदालतको इजलास प्रत्यक्ष प्रशारण गरेको कुरा त्यहाँका भ्रमणका क्रममा पाएकाले नेपालमा पनि त्यसलाई लागू गराउनका लागि अध्ययनको कामलाई अघि बढाएको उनले बताए । प्रधानन्यायाधीश श्रेष्ठले कानुन व्यवसायीहरूले आफ्नो फर्मबाट मुद्दा दर्ता गर्ने प्रणालीको विकास गर्न पनि आफू लागि परेको बताए ।

प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयलाई प्रविधिमैत्री बनाउने काममा आफूले सक्दो पहल गर्ने प्रतिवद्धता पनि दोहोर्याए ।

 


Author

थप समाचार
x