समाज

पक्राउ पुर्जी जारी भइसकेको व्यक्ति खुलेआम घुम्दै, प्रहरीकै भूमिका शंकास्पद

मुकेशकुमार यादव |
पुस १०, २०८० मंगलबार २२:२ बजे

सिरहा- सिरहामा ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी खुलेआम घुमे पनि प्रहरीले पक्राउ गरेको छैन ।

कल्याणपुर नगरपालिका-८ मझाउका हेमनी देवी शाहले ज्यान मार्ने मुद्दा दर्तापछि सिरहा जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरे पनि कसुरदारहरूलाई प्रहरीले पक्राउ गर्न आनाकानी गरेको हो ।  


आर्थिक प्रभाव र राजनीतिक दबाबका कारण प्रहरीले खुलेआम रूपमा घुमिरहेका ज्यान मार्ने मुद्दाका प्रतिवादीहरूलाई पक्राउ गर्न सकेका छैन । पक्राउ पुर्जी जारी गरिएका प्रतिवादीहरू अझै पनि प्रहरीसँगै उठबस गर्ने गरेको स्थानीय बताउँछन् ।  

हेमनी देवी शाहले दिएको जाहेरीको आधारमा सिरहा जिल्ला अदालतले गत ८ असोजमै पक्राउ पुर्जी जारी गरेको थियो । करिब ६ महिना अगाडि कल्याणपुर नगरपालिका ८ मझाउका राम भरोस साह, भोला साहलगायत पाँच जनालाई सामान्य विषयमा झै–झगडा हुँदा ज्यान मार्ने नियतले धारिलो हतियार प्रहार गरी घाइते बनाएको पीडित परिवारको आरोप छ ।

साहले झगडामा घाइते भएकाहरू उपचारपश्चात् इलाका प्रहरी कार्यालय मिर्चैयामा कल्याणपुर नगरपालिका ८ का किशारी भन्ने राम किशोर यादव, रामकुमार यादव, डम्बर भन्ने अजयकुमार यादव, अमरकुमार यादव र दिपककुमार यादवविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेका थिए । तर, उनीहरू खुलेआम हिँडे पनि प्रहरीले पक्राउ गर्न नसक्दा पीडित निराश बनेका छन् ।  

सिरहा अदालतले उनीहरूलाई पक्राउ गरी अदालतमा हाजिर गराउन निर्देशन दिए पनि प्रहरीले पक्राउ नगरेको देख्दा पीडितहरूमा नै त्रासमा छन् । अदालतको आदेशलाई नै अवज्ञा हुने गरी प्रहरीले आरोपीलाई पक्राउ नगरी उन्मुक्ति दिन खोजेपछि पीडितमा त्रास बढेको हो ।  

कल्याणपुर नगरपालिका ८ का वडा अध्यक्ष समेत रहेका किशोरी भन्ने रामकिशोर यादवविरुद्ध समेत मुद्दा परेको छ । तर, उनी अझै नियमित रूपमा वडा कार्यालय पुगेर कार्यसम्पादनमा सक्रिय छन् ।  जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्दासमेत प्रहरी भन्ने अनभिज्ञता प्रकट गर्नुले राजनीतिक दवाव र आर्थिक प्रभावकै कारण उनीहरू खुलेआम हिँडिरहेको स्थानीयहरू बताउँछन् ।  

वडा अध्यक्ष यादव सत्तापक्षधर पार्टी नेपाली कांग्रेसबाट निर्वाचित बनेका हुन् । उनीहरूलाई पक्राउ नगरेको विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक उद्धव भवन द्विवेदीले मुद्दा शाखामा बुझ्नु भन्दै थप बताउन चाहेनन् । मुद्दा शाखाले यसबारे अनुसन्धान भइरहेको भन्दै थप केही बताउन चाहेनन् । अदालतबाट पक्राउ पुर्जी जारी भइसक्दा पक्राउ नगर्नुले आरोपीलाई बचाउन प्रहरी नै संलग्न भएको हो कि भन्ने पीडितले आशंका गरेका छन् । अदालतबाट पक्राउ पुर्जी जारी भइसकेपछि पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने प्रहरीको भूमिका पनि शंकास्पद देखिएको छ । न्युजकारखाना


 


Author

थप समाचार
x