समाज

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशीमा अधिकृतको कार्यालय स्थापना

इकागज |
पुस १६, २०८० सोमबार १७:१९ बजे

काठमाडौँ- आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

कोशी प्रदेशको मतदान स्थल रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरमा निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले निर्वाचन अधिकृतको कार्यालयको शुभारम्भ गरेका हुन् । सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद पोखरेलले निर्वाचनलाई तीन वडा सुरक्षा घेरामा राखेर सुरक्षा व्यवस्था कडा बनाउने बताए ।


त्यस्तै निर्वाचन अधिकृत ढुङ्गेलले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउनका लागि सबै पक्षलाई आह्वान गरे । उनले स्वतन्त्र स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहने भन्दै १२ वटै राजनीतिक दलका प्रतिनिधिहरूसँग चाँडै बैठक गरी छलफल गरिने जानकारी दिए ।

कोशी प्रदेशमा दुई पदका लागि निर्वाचन हुँदैछ । एक महिला र एक अन्य पदको निर्वाचन हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख यामप्रसाद सुवेदीले जानकारी दिए । राष्ट्रिय सदस्य निर्वाचनको कार्यक्रम पुस २० गतेदेखि सुरु हुने र निर्वाचनमा प्रदेश सभाका ९३ र स्थानीय तहका प्रमुख/उपप्रमुख २७४ गरी ३६७ जना मतदाता रहेको  उनले बताए ।

 आगामी फागुन २० गतेदेखि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एकसहित २० जनाको कार्यकाल सकिँदैछ ।


Author

थप समाचार
x