समाज

नदी उत्खननविरुद्ध उभिए एमाले र माओवादीका जनप्रतिनिधि, नगरसभा नै बहिष्कार

इकागज |
पुस २०, २०८० शुक्रबार १५:५२ बजे

महोत्तरी- बर्दिवास नगरपालिकाको १३औँ नगरसभामा रातु नदी उत्खननको विषय उठेपछि विवादित बनेको छ । कार्यपालिका सदस्यहरूले रातु नदीमा अवैध उत्खनन भएको दाबीसहित राजश्वको विषयमा प्रश्न उठाएपछि नगरसभा विवादित बनेको हो ।

नदी उत्खननमा ठेकेदारको पक्षपोषण हुने गरी नगरप्रमुख स्वयं लागिपरेको बताउँदै बर्दिवास-६ का वडा अध्यक्ष पदम आलेमगरले जनताको भावना र विपदको अवस्थालाई मध्यनजर गर्दै उत्खनन रोक्नुपर्ने तर्क राखे ।


अनुगमनका क्रममा उत्खनन स्थल पुग्दा निकै बेथिति रहेको र त्यसलाई रोक्न आफूले पटक-पटक प्रयास गरेको अध्यक्ष मगरको भनाइ छ ।

रातु नदी उत्खननकै विरुद्ध एमालेबाट निर्वाचित वडा न.४ का वडाध्यक्ष काहरमान स्याङ्वा, बर्दिवास-८ का वडाध्यक्ष शम्शेर सिंह, बर्दिवास-१३ का रामकिशोर साह, बर्दिवास-३ का वडाध्यक्ष विराट बिष्ट पनि उभिएका छन् ।

उत्खननलगायत अन्य विषयहरूमा असन्तुष्टि जनाउँदै एमाले र नेकपा माओवादी केन्द्रका जनप्रतिनिधिहरूले त नगरसभा नै बहिष्कार गरेका छन् । 

अहिले नगरमा विशेष गरी नदी उत्खननको विषय निकै विवादित बनेको छ । अघिल्लोपटक भएको क्षतिको आंकलन नै नगरी आईई रिपोर्ट बनाएर खोला उत्खनन गरेको, अहिले भइरहेको उत्खनन मापदण्डविपरीत हुँदा समेत नगरप्रमुख ठेकेदारकै पक्षमा उभिएको जस्ता आरोपहरू लागिरहेका छन् ।

नियम र मापदण्डविपरीत नै भएको जिल्ला स्तरिय अनुगमन टोलीले समेत निष्कर्ष निकालेपछि अहिले भएको उत्खनन रोकिएको छ ।


Author

थप समाचार
x