समाज

राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन

इकागज |
पुस २२, २०८० आइतबार २१:१ बजे

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो । सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा आज अन्तिम नामावली प्रकाशन भइसकेको आयोगले जनाएको छ । 

आयोगका अनुसार सातवटै प्रदेशमा प्रदेश सभाका मतदाता पाँच सय ४९ रहेका छन् भने स्थानीय तहका एक हजार चार सय ९८ रहेका छन् । जसमा प्रदेश सभामा प्रतिमतदाताको ५३ मतभारका दरले जम्मा मतभार २९ हजार ९७ रहेको छ भने स्थानीय तहको प्रतिमतदाताको १९ मतभारका दरले जम्मा मतभार २८ हजार चार सय ६२ रहेको छ । दुवैतर्फ गरेर दुई हजार ४७ मतदाताको जम्मा मतभार ५७ हजार पाँच सय ५९ रहेको छ । 


प्रदेशगत हिसाबले कोशी प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ९३ र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरप्रमुख र उपप्रमुखतर्फ दुई सय ७४ जना गरी तीन सय ६७ जना मतदाता रहेको छ । कोशी प्रदेश सभा सदस्यको मतभार चार हजार नौ सय २९ रहेको छ । पालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरप्रमुख र उपप्रमुख गरी पाँच हजार दुई सय ६ मतभार छ । कोशी प्रदेशमा कूल १० हजार एक सय ३५ मतभार कायम हुने उल्लेख गरिएको छ । 

त्यस्तै मधेस प्रदेशमा प्रदेश सभा सदस्यको एक सय सात, पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख दुई सय ६७ गरी जम्मा तीन सय ७४ जना मतदाता छन् । प्रदेश सभा सदस्यको मतभार पाँच हजार ६ सय ७१ र पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको पाँच हजार ७३ गरी जम्मा १० हजार सात सय ४४ मतभार कायम हुनेछ । 

बागमती प्रदेशमा प्रदेश सभा सदस्यतर्फ एक सय १० तथा पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतदाता सङ्ख्या दुई सय ३७ गरी जम्मा तीन सय ४७ जना मतदाता कायम भएका छन् । बागमतीमा प्रदेश सभा सदस्यको मतभार पाँच हजार आठ सय ३० र पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतभार चार हजार पाँच सय तीन गरी जम्मा १० हजार तीन सय ३३ मतभार कायम हुनेछ ।

गण्डकी प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ६० तथा पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फका मतदाता एक सय ७० गरी जम्मा दुई सय ३० जना मतदाता कायम भएका छन् । गण्डकीमा प्रदेश सभा सदस्यको मतभार तीन हजार एक सय ८० र पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको मतभार तीन हजार दुई सय ३० गरी जम्मा ६ हजार चार सय १० मतभार कायम हुनेछ । 

लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको मतदाता सङ्ख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतदाता सङ्ख्या दुई सय १८ गरी जम्मा तीन सय पाँचजना मतदाता कायम भएका छन् । लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार चार हजार ६ सय ११ र पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतभार चार हजार एक सय ४२ गरी जम्मा आठ हजार सात सय ५३ मतभार कायम हुने आयोगले जनाएको छ । 

कर्णालीमा प्रदेश सभा सदस्यको सङ्ख्या ४० छ । पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक सय ५६ जना छन् । प्रदेश सभाको मतभार दुई हजार एक सय २० र पालिकाको दुई हजार नौ सय ६४ गरी कर्णालीमा जम्मा मतभार पाँच हजार ८४ हुनेछ ।

सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्यतर्फको मतदाता सङ्ख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतदाता सङ्ख्या एक सय ७६ गरी जम्मा दुई सय २८ जना मतदाता कायम छन् । जसअनुसार प्रदेश सभा सदस्यको दुई हजार सात सय ५६ र पालिकाका तीन हजार तीन सय ४४ गरी जम्मा ६ हजार एक सय मतभार कायम रहेको आयोगले जनाएको छ ।


Author

थप समाचार
x