समाज

काठमाडौँको शोभाभगवतीमा महिलाको हत्या गरी भारत भागेका व्यक्ति पक्राउ

इकागज |
माघ ७, २०८० आइतबार १७:५३ बजे

काठमाडौँ- काठमाडौँको शोभाभगवतीमा एक महिलाको हत्या गरी फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शोभाभगवतीस्थित एक घरमा तनहुँको भिमाद घर भएकी सफिना मियाको हत्या गरी फरार रहेका भारतको बिहार दरभङ्गा घर भएका इकरामुल हक अन्सारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।


शोभाभगवतीस्थित सरिता गिरीको घरको भुईँ तला तीन महिनादेखि बन्द रहेका धरधनीले खोलेर हेर्दा एउटा शव भेटिएको थियो । शव गलेको अवस्थामा रहेकाले तीन महिनाअघि हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा लिभिङ टुगेदरमा बस्ने इकरामुल हक अन्सारीले नै हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए ।

प्रहरीका अनुसार सफिना मियालाई हत्या गरी इकरामुल भारत भागेका थिए । त्यसपछि काठमाडौँ फर्केका इकरामुललाई कालीमाटीबाट पक्राउ गर्न सफल भएको खत्रीले बताए ।

काठमाडौँ आएर कालिमाटीस्थित दिलिप शाहको विएन फेसन गार्मेन्टमा काम गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लिभिङ टुगेदरका क्रममा आपसी वादविवाद भएपछि हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । हत्या गरेपछि ढोकामा ताला लगाएर भागेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x