समाज

एक महिनादेखि घण्टाघरको घडीमा ८ः २३ बजेको संकेत

'काठमाडौँ महानगरले कन्ट्रयाक्टमा कर्मचारी राखेर घडी चलाउँछ'

अतिन आचार्य |
माघ १२, २०८० शुक्रबार १६:२६ बजे

काठमाडौँ- त्रिचन्द्र क्याम्पस परिसरमा रहेको घण्टाघरको घडी एक महिनादेखि सञ्चालन नरहेको पाइएको छ । घण्टाघरको घडीलाई नियमित रुपमा हेर्ने कर्मचारीको अवकाश भएसँगै घण्टाघरको घडी चल्न छाडेको हो । 

त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिचन्द्र क्याम्पसका कर्मचारी गणेश सापकोटा गत पुस १ गतेदेखि अवकाश भएका छन् । घडीको बारेमा प्राविधिक रुपमा जानकारी नभएका कर्मचारी नहुँदा घडी सञ्चालनमा समस्या भइरहेको छ । एक महिनादेखि घण्टाघरको घडीले ८ बजेर २३ मिनेट गएको संकेत दिइरहेको छ ।


त्रिचन्द्र क्याम्पसका एक कर्मचारीका अनुसार घण्टाघर अगाडि रहेको क्याम्पसको भवन रेट्रोफिटिङ भइरहेकाले पनि दम दिन जान सकिएको छैन । सातामा दुई पटक दम दिनुपर्ने घडीलाई भवनको रेट्रोफिटिङकै कारण सुरक्षा संवेदनशीलतालाई ख्याल राखी माथि चढेर दिन नपाइएको हो ।

घडी बिग्रेकाले र बनाउन जान्ने मिस्त्री नहुँदा घण्टाघरको घडीको समय बेवारिसे बनेको छ । दक्ष कर्मचारीको अभाव हुँदा घडीलाई समयमा बनाउन सकेको छैन ।

घडी नियमित चल्दा सातामा चार जना गएर दम दिने गरेको ती कर्मचारीले इकागज बताए । अहिले भवनकै रेट्रोफिटिङ भइरहेकाले र हेरालु कर्मचारी नहुँदा दम दिन नसकिएको उनको भनाइ छ ।

घण्टाघरको घडीलाई लामो समयदेखि मर्मत गर्ने काम गरेका गणेश सापकोटाले अवकाश भएदेखि घडी बन्द भइरहेको बताए । दम दिनका लागि मोटरको व्यवस्था गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । 'घडीको मेसिनरी सामान चलाउन जान्ने मानिस नहुँदा बन्द भएको छ,’  उनले भने,’  प्राविधिक ज्ञान भएका मानिसहरू हुँदा सहजै सिक्न सक्छन् ।‘

त्रिविले अफिसियली कर्मचारीलाई राख्ने र सिक्ने मानिस खोजेको भए घडी बन्द नहुने सापकोटाको भनाइ छ । ‘चार-पाँच वर्षदेखि सिक्न खोज्ने मानिसको खोजी गर्न त्रिवि प्रशासनलाई अनुरोध गरेको थिए,’ उनले भने ।

त्रिविले घण्टाघरको व्यवस्थापन नगर्दा समय-समयमा घडीको सुई लामो समयसम्म एकै ठाउँमा रहने गरेको छ । त्रिचन्द्र कलेजमा पढेका विद्यार्थीहरू नेतृत्त्वमा तहमा पुगे पनि घडी मर्मतमा कसैले ध्यान नदिएकोमा सापकोटा गुनासो गरे ।

घडीमा तीस वर्षे सामान राखिएको उनले बताए । घडीमा पुरानो तारले तथा वेल्डिङ गरेर घडी चलाइरहेको सापकोटाले बताए ।

‘घण्टाघरमा तीस-पैतीस वर्ष काम गरेको छु । यो घडी मर्मत भनेर बढीमा ३० हजार रूपैयाँ खर्च भएको छ,’ उनी भन्छन्,’ मोबिल खरिद गर्न खर्च हुन्थ्यो । भूकम्प आएको समयमा बनाउनु परेको थियो ।‘

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले धरहरा, रानीपोखरी र घण्टाघरको उत्तिकै महत्त्व रहेको बताएका छन् । बिग्रेको घडी तथा घण्टाघरलाई महानगरले व्यवस्थापन गर्न सक्ने उनको भनाइ छ ।

‘घण्टाघर महानगरको मौलिक पहिचान हो । हामीले व्यवस्थापन गर्ने जिम्मा पाएमा संरक्षण गर्छौ,’ प्रवक्ता मानन्धरले भने,’ वडालाई घण्टाघरको रंगरोगन गर्नलाई बजेट छुट्टयाउन भनेका छौ ।‘

बिग्रेको घडीलाई मर्मत गर्न महानगरले कन्ट्रयाक्टमा मिस्त्री राख्न सक्ने मानन्धरले बताए । रानीपोखरी र धरहरा जतिको घण्टाघरको महत्त्व रहेकाले काठमाडौँ महानगरले संरक्षण गर्ने उनले उल्लेख गरे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x