समाज

गणतन्त्रमा अलपत्र सहिदका सपना (भिडियोसहित)

२०८० मा थपिए २ हजार ९३८ सहिद

शुरज थपलिया |
माघ १६, २०८० मंगलबार ७:१७ बजे

‘सहिद’ शब्द सुन्नासाथ हाम्रो शिर श्रद्धाले झुक्छ । सहिद शब्दले ती अमर व्यक्तिहरूलाई जनाउँछ जसले देश र जनताको खातिर आफ्नो जीवन हाँसीहाँसी बलिदान दिए । जसले आफ्नो जीवनको पर्वाह नगरी जनतालाई निरंकुश शासनबाट मुक्त गर्न, प्रजातन्त्र स्थापना गर्न आफ्नो प्राणको बलिदान दिएका हुन्छन् । जसका बलिदान र संघर्षका कारण हामी नेपालीले स्वतन्त्रता र समानताको निर्धक्क उपभोग गर्न पाइरहेका छौं ।

आफ्नो देशको बृहत्तर हितका लागि प्राण त्याग गर्ने सहिदहरूले नेपालको इतिहास र पहिचानलाई आकार दिन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र मौलिक अधिकारको रक्षाका लागि आफ्नो जीवन समर्पण गर्ने सहिदहरूको इतिहास नेपालसँग छ ।​


मुलुकभर हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ । नेपालमा माघ १० देखि १६ गतेसम्मलाई सहिद सप्ताहको रूपमा मनाइन्छ । विसं. २०१२ देखि काठमाडौं महानगरपालिकाको संयोजकत्वमा देश र जनताको स्वतन्त्रता र अधिकारका खातिर जीवन त्याग गर्ने महान सहिदप्रति सम्मान स्वरूप देशभर सहिद दिवस मनाइन्छ ।

आज यी वीर र अमर आत्माहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको निस्वार्थ योगदानलाई सम्झने गरिन्छ । नेपालको सन्दर्भमा ‘सहिद’ शब्द सुन्नासाथ सबैभन्दा पहिले चार जना सहिदका नाम आउँछन ।

जहानियाँ राणा शासनविरुद्ध लडेका चार सहिद धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झना हरेक नेपालीले गर्छन् । उनीहरूले देश र जनताको स्वतन्त्रताको खातिर हाँसीहाँसी प्राण त्यागेका थिए । उनीहरूलाई क्रुर राणाशासकले निकै कष्ठ र यातना दिएर तड्पाइ-तड्पाइ हत्या गरेका थिए ।

कस्ता थिए सहिद ?

शुक्रराज शास्त्री नेपालभाषाका प्रमुख साहित्यकार तथा आर्य समाजका एक सक्रिय सदस्य थिए । उनलाई नेपाल भाषाको पुनर्जागरणकालका एक महान् लेखकका रूपमा लिने गरिन्छ । उनले नेपालभाषाको व्याकरण प्रथम पटक प्रकाशित गरेका थिए । जुन नेपाल भाषामा वैज्ञानिक रूपले लेखिएको पहिलो व्याकरण थियो ।

वि.सं. १९९३ मा नागरिक अधिकार समितिमा बसी राणा शासन विरोधी अभियानमा लागे । शास्त्रीले भारतका महात्मा गान्धीसँग भेट गरी नेपालका बारेमा कुरा गरेका कारण काठमाडौँ फर्केपछि उनलाई राणा सरकारले नजरबन्द गर्‍यो।

नजरबन्द तोडेर शुक्रराजले वि.सं. १९९५ माघ १३ गते काठमाडौँ इन्द्रचोकमा राणा शासकहरूको विरुद्धमा सबैभन्दा पहिलो आमसभामा एकजुट हुन आव्हान गरेका थिए। त्यसपछि राजद्रोहको अभियोग लगाई उनलाई पक्राउ गरी तीन वर्ष कैद सुनाइयो। आठ वटा मुद्दामा फसाइ वि.सं. १९९७ साल माघ ६ गते सर्वस्वहरणसहित फाँसीको सजाय सुनाइयो । वि.सं. १९९७ साल माघ १० गते राती झुण्ड्याएर मारियो।

धर्मभक्त माथेमाका बुबा आदिभक्त माथेमा राणाहरूका लागि भारतबाट सामान ल्याउँथे । बुबा राणाहरूको नजिक भएका कारण धर्मभक्तले दार्जिलिङमा शिक्षा लिने अवसर पाएका थिए । दुब्लो शरीर भएकाले उनी व्यायाम गर्थे । बंगालको शारीरिक व्यायामशालाबाट उनी बंगाल च्याम्पियन भएर नाम कमाए । बंगाल अंग्रेजकै पालाबाट राजनीतिक चेतना भएको ठाउँ थियो । त्यहीँबाट उनलाई राजनीतिको ज्ञान मिल्यो।

विसं १९९० सालमा दशरथ चन्दसँग धर्मभक्तको भेट भयो। पछि चन्द पनि नेपाल प्रजा परिषद्को संस्थापक सदस्य बने । उनले घोडेजात्रामा टुँडिखेलमा शारीरिक तन्दुरुस्ती र व्यायामको प्रदर्शनी गर्दा राजा त्रिभुवन ज्याँदै प्रभावित भएका थिए । उनी राजा त्रिभुवनका व्यायाम शिक्षक भए । प्रजापरिषद् र राजा त्रिभुवनका बीचमा चन्दबाटै सम्पर्क भयो । लैनचौरमा राजा र प्रजापरिषद्बीच भएको सम्पर्क राणाहरूले चाल पाए । वि.स.१९९७ माघ १२ गतेको राति तीन पटकको पालामा झुण्ड्याएर उनले मृत्युदण्ड दिइएको थियो । उनलाई उनकै चेला नरशमशेरले मरणासन्न हुने गरी कुटपिट गरेका थिए । अन्तमा बेहोस भएका धर्मभक्तलाई डोरीमा झुन्ड्याइयो । बिहानीपख मृत्यु भएका धर्मभक्तको शव दिउँसो ४ बजेसम्म पनि कसैलाई उठाउन दिइएन । ​धर्मभक्तलाई पक्राउ गरियो। वि.सं. १९९७ माघ १२ गते उनलाई सिफलमा फाँसी दिइयो ।

गंगालाल श्रेष्ठले राणा शासन विरुद्धको आन्दोलनमा ज्यान गुमाएका थिए। गंगालाल कलाकार तथा महावीर संस्थाका कार्यकर्ता थिए । महावीर संस्थामा राणाविरोधी प्रवचन र क्रियाकलापहरू हुन्थे। राणा सरकारले गंगालाललाई शुक्रराजको सभामा (वि.सं. १९९५ सालमा असन र इन्द्रचोकमा) राणा शासन विरुद्ध बोले बापत पक्राउ गरेको थियो । उनी त्यतिबेला छुटे ।

दशरथ चन्दको संगतबाट प्रजा परिषदको सदस्यता लिए र राणा शासन विरोधी गतिविधिमा सक्रिय भए । प्रजा परिषद्को गतिविधिमा लागे बापत १९९७ साल कात्तिक २ गते पक्राउ गर्‍यो। उनलाई १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट घर छेउको बाटोबाटै लगी बिष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइयो। मृत्युदण्ड पाउने भएपछि गंगालालले पितालाई पत्र लेख्दै भनेका थिए,  ‘हजुरका अरु पनि छोरा छन् । एउटा छोरालाई राष्ट्रको स्वाधीनताका लागि त्याग गरिदिनोस् ।’

चन्द र श्रेष्ठलाई त्यसबखत सँगै एकअर्काले देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रकालागि गोली खान तयार भएका उनीहरूलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि कायल नभएपछि पछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।

दशरथ चन्द अविवाहित सहिद हुन् । चन्दको जन्म वि.सं. १९६० असार १७ गते बैतडीको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखबाट माहिला छोराका रूपमा भएको थियो । त्यहीबेला उनी काशी नागरिक प्रचारिणी सभामा रहेर राजनीति गर्न थाले । महात्मा गान्धीले भारतमा प्रारम्भ गरेको सत्याग्रहमा उनले सक्रिय रूपमा भाग लिएका थिए । उनी नेपाल प्रजापरिषद्को कार्यकर्ता थिए । उनी सेवासिंह भन्ने छद्मनामबाट राणा विरोधी लेख छाप्थे ।

दशरथ चन्द र गङ्गालाल श्रेष्ठ एउटै जेलको कोठामा परेका थिए । तत्कालीन राणा सरकारले वि.सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दियो ।

यद्यपि नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ । उनी नेपालको पहिलो व्यक्ति थिए जसले राणा शासनको विरोध गरेका थिए ।

यी महान चार सहिदको देशको विभिन्न क्षेत्रमा सम्झना स्वरूप धेरै सालिक, भवन तथा पूर्वाधार निर्माण गरिएको छ । काठमाडौँमा रहेको सहिद गेट यिनै सहिदको नाममा बनेको छ । उक्त गेटमा राणा शासनको विरोध गर्ने चार सहिद र राजा त्रिभुवनको सालिक छ । जुन २०१८ मा बनेको थियो । 

बुङ्गकोटको राजाको रुपमा उनले जंगबहादुर राणाको शासन विरुद्ध विद्रोह गरे । राणा शासनविरूद्ध विद्रोह गरेका मगरलाई वि सं १९३३ मा गोरखा जिल्लाको मनकामना मन्दिर परिसरको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

कति छन् सहिद ?

राणा शासनको अन्त्य र प्रजातन्त्र बहालीपछि विभिन्न आन्दोलनमा मारिएकाहरू पनि सहिदको सूचीमा छन् । नेपालमा विभिन्न राजनीतिक घटनाक्रमले पटक पटक प्रजातन्त्र र जनताका अधिकार खोसिएपछि जनआन्दोलनहरू भएका छन् त्यसक्रममा पनि धेरैले देशका खातिर प्राण त्याग गरेका छन् । त्यसका साथै क्षेत्रीय रुपमा भएका विभिन्न आन्दोलनमा मारिएकाहरू पनि सहिदको सूचीमा छन् ।

 २००७ साल पछि भएका प्रजातन्त्र बहालीका, २०४६ पछिका जनआन्दोलन, दश वर्षीय लामो सशस्त्र संघर्ष , २०६२/६३ को दोश्रो जनआन्दोलन , तराई मधेश आन्दोलन जस्ता विविध शीर्षकमा सहिद थपिए । २०४७ देखि २०८० सम्म आइपुग्दा यसको सूची लामो भएको छ । यस वर्षमात्रै सरकारले २ हजार ९३८ जना मृत्यु भएकालाई सहिद घोषणा गरेको छ । यो सँगै सहिदको संख्या नेपालमा १४ हजार २४६ पुगेको छ ।

मन्त्रीपरिषदबाटै यसवर्ष २ हजार ९३८ जना मृत्यु भएकालाई सहिद घोषणा गर्ने निर्णय भइसकेको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए । उनका अनुसार गत पुस २४ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

जनआन्दोलन, राजनीतिक आन्दोलमा मृत्यु भएका तथा विभिन्न सडक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिलाई समेत सहिद घोषणा गरिएको छ ।

सरकारले मन्त्रिपरिषद्बाटै निर्णय गरेर सहिदहरूको सूची बनाउने गरेको छ । हालसम्म नेपाल प्रहरीका एक हजार ४४८, नेपाली सेनाका एक हजार ४८, सशस्त्र प्रहरी बल नेपालका ३१८, राष्ट्रिय अनुसन्धान विभागका २३, जनआन्दोलनको क्रममा मृत्यु भएका आठ हजार ४७१ र जनआन्दोलन तथा विभिन्न घटनाका क्रममा मृत्यु भएका दुई हजार ९३८ गरी जम्मा १४ हजार २४६ जना सहिदको सूचीमा छन् ।

 सरकारले पछिल्लो समय राजनीतिक र कुनै समुदाय विशेषको दबाबमा गोली हानी हत्या गरिएका, दुर्घटनामा परेका, बम विष्फोटमा परेका, घाँटी रेटी हत्या गरिएकाहरूलाई सहिद घोषणा गरेको छ ।

जसका कारण सहिद शब्द नै हलुका लाग्न थालेको छ । जे जस्ता घटना हुन्छन् उनीहरूको एउटै माग सहिद घोषणा गर्ने हुने र सरकारले माग पुरा गर्दै जाने हुँदा सहिदको नै अवमूल्यन भएको छ ।

के भयाे मुलुकको अवस्था ?

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ । राजनीतिक परिवर्तनमा मुलुकले ठूलो फड्को मारेको छ । तर, मुलुकले गणतन्त्र पाएको दुई दशक पार गरिसक्दा पनि जनताको अवस्था उस्तै छ ।

 देशले कोल्टो फेर्न सकेको छैन । गणतन्त्रको मूल मर्मअनुसार शान्ति स्थापना, राजनीतिक स्थायित्व र समृद्ध मुलुक हुनुपर्नेमा त्यसो नहुँदा सहिदहरूको सपना पुरा हुन सकेको छैन । जसका कारण सहिद परिवारहरू निराश छन् ।

गणतन्त्र स्थापनापछि नागरिकले शान्ति, विकास र भ्रष्टाचारमुक्त नेपालको कल्पना गरेका थिए तर, त्यसो भएको छैन । मुलुकमा सोचे र चाहेजस्तो केही परिवर्तन हुन सकेको छैन । जनताका जनप्रतिनिधिहरू भ्रष्टाचारमा चुर्लुम डुबेका छन् ।

सरकारद्वारा सहिद घोषणा किन गरिन्छ आखिर के का लागि उनीहरू लडेका थिए त्यसको लेखाजोखा भएको छैन । वि. स २०४६ सालदेखि सहिद बन्ने क्रम जारी छ ।

तर त्यसको मुख्य कारण राजनीतिका आन्दोलन र व्यवस्था नै हो । सहिदका लागि गरिएको वाचाहरू किन पुरा नहुँदै बिर्सने गरिन्छ ? सहिद परिस्थितिले बनाउँछ तर बनेका सहिदको सपना कति पुरा भयो?

अहिलेसम्म सहिदका सपना पुरा हुन नदिन के ले रोकेको छ ? सरकार र नेताले सोच्नुपर्छ । हामीले प्रश्न मात्र गर्ने हो या त्यसको उत्तर पनि पाउने हो । कहिलेसम्म उतरको अपेक्षा गरिरहने हो । सहिद शब्द हलुका होइन यो आफैँमा वजनदार हो ।​

र, यो पनि


Author

थप समाचार
x