समाज

'नेपालमा कहिले आए मान्छे ?'

इकागज |
फागुन ४, २०८० शुक्रबार १७:३२ बजे

पोखरा- नेपालमा अहिले मुख्य गरी दुई भाषालाई मूल भाषाको रूपमा लिइन्छ :भोटबर्मेली भाषा र भारोपेली भाषा । तर, लामो समयदेखि भारतीय उपमहाद्विपका भाषा, संस्कृति, आनुवांशितामाथि अध्ययन गरिरहेका नेदरल्यान्ड्सका जर्ज भ्यान ड्रिम भन्छन्, ‘नेपालमा तेस्रो पनि भाषा समूह छ । त्यो कुसुन्डा भाषा हो । त्यो २ समूहसँग मिल्दैन ।’

पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचरको ११औं संस्करणको दोस्रो दिन ‘नेपालमा कहिले मान्छे आए ?’ सेसनमा भ्यानले भोटबर्मेली र भारोपेली भाषा समूहभन्दा फरक समूहमा कुसुन्डा भाषा पर्ने दाबी गरेका हुन् । कुसुन्डा भाषा अहिले नेपालको लोपोन्मुख भाषाभित्र पर्दछ ।


युरोपेली देश नेदरल्यान्डमा जन्मिएका जर्ज भ्यान ड्रिम नेपालमा आफ्नो परिचयले भन्दा पनि ‘सुरेश दाइ’ नामले परिचित छन् । पछिल्लो लामो समयदेखि उनी अध्ययन, अनुसन्धानकै क्रममा उनी नेपालमा छन् । भाषाशास्त्री ड्रिमले नेपालमा कहिले मान्छे आएको भन्ने यकिन प्रमाण नभए पनि भाषाको उद्भवअनुसार भोटबर्मेलीहरू १० हजार वर्षअगाडि र भारोपेली भाषा ५ हजार वर्षअगाडि आएको देखिने बताए ।

यादव देवकोटाले सहजीकरण गरेको सत्रमा भाषाशास्त्री ड्रिमले नेपालमा कहिले मान्छे आए भन्ने तथ्य प्रमाणित गर्न डीएनए नै परीक्षण गर्नुपर्ने बताए । ‘तर, अहिलेसम्मको अध्ययनले मगर, लिम्बुलगायत जातजातिहरू १० हजार वर्षको समयदेखि अहिलेको नेपाल क्षेत्रमा बसोबास गर्दै आएको देखिन्छ,’ उनले भने ।

भोट बर्मेली भाषाको उत्पत्ति पूर्वी हिमाली क्षेत्रमा भएको हालसम्मको प्रमाणले देखाउने ड्रिम सुनाउँछन् । ‘यो भनेको धौलागिरिदेखि, इन्डोबर्मिज बोर्डरल्यान्डसम्म पर्छ । कुनै कुनै भाषामात्र योभन्दा बाहिर पर्छ,’ उनी भन्छन् । 

हालसम्म भोटबर्मेली भाषा आयातित भनिए पनि नेपालकै पूर्वी हिमाली क्षेत्रबाट उक्त भाषाको उत्पत्ति भएको दाबी उनको छ । भाषाको बनोटको अर्को मूलस्रोतका रूपमा लिइएको भारोपेली भाषा पनि भारतीय भूगोलबाटै उत्पत्ति भएको तथ्य देखिने ड्रिमको भनाइ छ । ५ वर्षअगाडि यो क्षेत्रमा आएका उनीहरूको आनुवांशिकता भारतबाटै सुरु भएको देखिने उनले बताए । 

‘उनीहरू लगभग यो क्षेत्रमा ५ हजार वर्षअगाडिमात्रै आएका हुन् । तर, उनीहरूको आनुवंशिकता इन्डियाबाटै सुरु भएको देखिन्छ,' ड्रिमले भने, ‘फेरि युरोप गएर फेरि भारतमै आएको देखिन्छ ।’ नेदरल्यान्डका भ्यान ड्रिम भारतीय उपमहाद्विपमा बढी चर्चित छन् । यो भूगोलमा उनी आफ्नो वास्तविक नामभन्दा पनि बढी ‘सुरेश दाइ’ ले परिचित छन् ।

‘सुरेश दाइ’ भारतीय महाद्विपका भाषा, संस्कृति, आनुवांशिता र वनस्पतिमाथि लामो समयदेखि अध्ययन, अनुसन्धान गर्दै आएका छन् । त्यसैले उनी पछिल्लो समय आफ्नो देशभन्दा पनि बढी समय नेपालमै बिताइरहेका छन् ।

नेपाली भाषा, संस्कृतिमाथि पनि अध्ययन अनुसन्धान गरेका उनै सुरेश दाइले किराती समुदायको मुख्य भाषा ‘लिम्बु भाषा’ माथि पनि अ ग्रामर अफ लिम्बु कृति पनि प्रकाशन गरेका छन् । त्यसबाहेक उनको द टेल्स अफ टी, ल्यांग्वेज अफ दी हिमालय लगायत कृति प्रकाशित छन् भने सयौं अन्तर्राष्ट्रिय जर्नलमा आफ्नो अनुसन्धानात्मक लेख प्रकाशन गरिसकेका छन् । 


Author

थप समाचार
x