समाज

असफलताको पाठ

इकागज |
फागुन ७, २०८० सोमबार १८:१८ बजे

पोखरा- नेपाली सेनाको जागिरले जिन्दगी ठीकठाक चल्दैथ्यो । देश १० वर्षे सशस्त्र द्वन्द्वको भुमरीमा फस्यो ।

हुँदाखाँदाको जागिर छाडेर स्याङजा वालिङका भीम लुइँटेलले जहाज चढेर दुबई ओर्ले । एकातिर कमाइ कम अर्कोतिर युद्धको रापतापमा जेलिएको देशमा ज्यान जोगाउन मुस्किल ठानेर भीमले वैदेशिक रोजगारको बाटो रोजेका थिए ।


उनले दुबईमा काम गर्ने कम्पनी भर्खर खुलेको थियो । टिनको टहरा बनाएर सुरु भएको कम्पनीको भित्तामा तस्बिर थियो, 'टहराको माथिबाट कम्पनीको नामको जहाज उडेको ।'

तस्बिरले बोकेको लक्ष्य थियो, 'भविष्यमा कम्पनीको आफ्नै जहाज उडाउने छ ।' 

भीमको दिमागलाई त्यही एउटा तस्बिरले हान्यो । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अठोटले उनलाई घुच्च्याइरह्यो । 

भीमलाई विदेश धेरै वर्ष मन लागेन । विदेश छँदा गाउँघरमा देखेका सम्भावनाहरू उनका आँखा वरिपरी घुमिरहन्थे । 

देशमा सशस्त्र जनयुद्धमा पूर्णविराम लागेर विस्तृत शान्ति सम्झौता भइसकेको थियो । केही लाख रुपैयाँ कमाएर लुइँटेल स्वदेश फर्किए । सम्भावना देखेर उनले रोजे बंगुर पालनलाई ।

२०७१ सालमा भीमले २७ लाख रुपैयाँ लगानी गरेर बंगुर पालन सुरुवात गरे । 

देशमा जनयुद्ध त रोकिएको थियो भीमले रोजेको पेसाले भने समाजसँग युद्ध सुरु भयो । त्यति बेलाको समाज भन्थ्यो, 'बाहुनले बंगुर पाल्न त के छुन समेत हुँदैन ।' परिवार, समाजसँग विद्रोह गर्दै उनले साथीभाइसँग मिलेर आँधीखोलाको किनारमा बनाएको खोरमा २७ वटा बंगुर हुलेर हजार माइल पर सफलताको यात्रामा एक पाइला चाले ।

साथीसँग मिलेर सुरुवात गरेर व्यवसायमा दरार आउन सक्ने देखेर छोटो समयमै भीम एक्लैले व्यवसाय सम्हाले । उनी सफल हुँदै गर्दा उद्देश्य राखेका थिए, 'देशमा रोजागरी सिर्जना गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नेछु ।' विश्वबजारमा बंगुरको मासु निकै माग भएको उनको भनाइ छ । 

बंगुर पालनमा उनले विस्तारै सफलता हासिल गर्दै गए । बाहुनका छोराले बंगुर पाल्नै  नहुने भाष्य समाजबाट हट्दै गयो । रोजगारीका लागि संख्या बढाउँदै थिए । भीमको लगावबाट प्रेरित भएर बंगुर पाल्ने युवाहरूको संख्या दिनानुदिन बढ्दै गए ।

विद्रोह गरेर थालेको पेसाबाट सफलताको सिँढी चढ्दै गर्दा एक्कासि उनी शून्यमा झर्नु परेको छ । ९ महिना अगाडि उनको फर्मबाट १४ सय बंगुर मर्दा ठूलो क्षति व्यहोर्नुपर्यो ।

अफ्रिकन स्वाइन फिभरका कारण उनले ३ करोड रुपैयाँ बराबर नोक्सानी व्यहोर्नुपरेको बताए । उनको सफलताको यात्रामा अफ्रिकन स्वाइन फिभरले असफलताको ट्याग झुन्ड्याइदिएको छ ।  

भीमले त्यसपछि यतिसम्म आर्थिक अभाव भोगे कि बंगुरलाई खुवाउने दाना नहुँदा भकारीको धान झिकेर खुवाए । त्यो आधा पेट । पहिला ऋण लिन उनका फर्ममा आउने बैंकले ऋण पत्याएन । राज्यले पनि दु:खमा मलम लगाउने कोसिस गरेन । 

राज्यका निकाय र बैंक तथा वित्तीय संस्थाको सहयोग नपाएकोमा उनको गुनासो छ ।

'समस्याको पाटो त आर्थिककै थियो । अहिलेसम्म न बैंकिङ क्षेत्र न राज्यका निकाय कुनै पनि क्षेत्रबाट सहयोग भएन । बरू भिडियो हेरेर नेपाल भन्दा बाहिर रहनुभएका अथवा नेपालमै भएका केही साथीहरूले तपाईँले गरेको कामप्रतिको प्रसाद हो है भनेर रकम सहयोग गर्नुभयो,' उनले भने । 

अहिले उनी सुरुवाती संघर्षको दिनमा पुगेको बताउँछन् । भीमले न हरेस खाएका छन् न बाटो फेरेका छन् । 

बंगुरको बजार पुरानै अवस्थामा फिर्ता पाएकोमा उनी खुसी देखिए । 'मसँग उत्पादन हुने हो भने त्यो क्षतिलाई कभर गर्न सक्ने गरी वातावरण तयार भएको छ,' भीमले भने, 'र, त्यो अवस्थामा आफूलाई पुर्याउनका लागि लडिरहेको छु ।'

एक्कासि सफलता गुमाएका भीमले विश्वस्त हुँदै भने, 'त्यो असफलताको अगाडि झुन्ड्याइएको एउटा 'अ' फेरि पनि हटेर जान्छ ।'

पोखराको फेवाताल किनारमा ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिबलको अन्तिम दिन सोमबार 'असफलताको पाठ' सेसनमा भीम लुइँटेल, चन्द्रकान्त बराल र नवराज देवकोटासँग पत्रकार जमुना वर्षा शर्माले अन्तरक्रिया गरिन् ।  

पुम्दीकोटमा विशाल महादेवको मूर्तिको परिकल्पनाकारसमेत रहेका चन्द्रकान्तले २०३६ सालमा बंगुर पाल्ने साहस गरेर समाजसँग पैठेंजोरी खेलेका थिए । २४ वर्षका चन्द्रकान्तलाई केही गरौँ भन्ने हुटहुटी थियो । उनले सुरुमा तीन महिने तालिम लिएर पशु सहायकको जागिर खाए । तालिमले बंगुर पाल्दा मनग्गे आम्दानी देखाएपछि उनले बंगुर पाल्न सुरु गरेका थिए । 

घरमा उनले जिद्दी कसे, 'जसै बंगुर पाल्छु ।'

जायजेथा पूरै १५० रोपनी जग्गा धितो राखेर १ लाख ५० हजार रुपैयाँ ऋण काढेर उनले बंगुर पाल्न सुरु गरे । 'अफ्रिकन स्वाइन फिभर रोग लागेर बंगुरहरू बच्चा उत्पादन गर्दै मर्ने हुन थाल्यो र म असफलताको बाटोमा गएँ,' उनले सम्झिए ।

बंगुर पाल्दा धन र धर्म दुवै गुमाएको उनले सुनाए । 'त्यति बेला बाहुनका छोराले बंगुर पाल्ने भनेको सामान्य कुरा थिएन । भित्रभित्र छोएको पानी खान हुन्न भन्ने मान्छेहरू पनि प्रशस्त हुन्थे,' उनले भने । 


Author

थप समाचार
x