समाज

काठमाडौँ महानगरले भन्यो- जफत गरिएको बालुवाटारको जग्गाबाट ७ दिनभित्र हट्‌नू

इकागज |
फागुन ९, २०८० बुधबार ८:८ बजे

काठमाडौँ- ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न काठमाडौँ महानगरपालकिाले ७ दिने सूचना जारी गरेको छ । बुधबार काठमाडौँ महानगरपालिका- ४ मा रहेको ललिता निवास क्षेत्रको जफत भएको सरकारी जग्गाबाट आफैँ हट्न महानगरले  सूचना जारी गरेको हो ।

सरकारी जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरूलाई सूचना जारी गर्दै महानगरले भनेको छ ‘विशेष अदालत, काठमाडौँबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजासमेत १७५ जना भएको “सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको” मुद्दामा २०८० फागुन ३ गते भएको फैसलाबाट काठमाडौँ महानगरपालिका- ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत (सरकारी) भएको छ ।’


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद – १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्थाअन्तर्गत दफा ९७ (१) ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत संभार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेको सूचनामा भनिएको छ ।

विशेष अदालत, काठमाडौँको उक्त फैसलाबाट जफत (सरकारी) भएको काठमाडौँ महानगरपालिका-४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न सूचना प्रकाशित गरिएको उल्लेख गरेको छ ।


Author

थप समाचार
x