समाज

कांग्रेस महासमिति बैठक

'दलको झण्डा किन्‍ने देशमा राष्‍ट्रिय झण्डा खोज्‍ने भेटिएनन्

पर्खालभित्रबाट निस्कने बलबहादुरको झण्डालाई कसैले सोधेनन्

अतिन आचार्य |
फागुन ९, २०८० बुधबार १८:५५ बजे

काठमाडौँ- स्टेण्ड झण्डा र टोपी भुईँमा छ । काँधमा झोला छ । हातमा जिम्बु, सिलाजित, केशर र काभ्राक्षको पोका छ । कोही-कसैको पर्खाइमा जस्तो गरेर बसेका छन ।

ललितपुरस्थित गोदावरीको सनराइज हल अगाडिको बाहिरिने गेटमा जुम्ला कनकासुन्दरी गाउँपालिका ४ का बलबहादुर बुढा बसेका छन । जहाँ यतिखेर गोदावरीमा नेपाली कांग्रेसको महासमिति सदस्यको बैठक चलिरहेको छ ।


तिनै बुढा कर्णाली तरेर बागमतीमा आएका छन् । जसरी कर्णाली बग्दो छ । तर उनको जीवनमा दुःख हटेन । देशकै सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टीको महासमिति बैठक चलिरहँदा भने उनी टोपी र झण्डा बिक्री गर्ने याचनासहित गेट कुरिरहेका छन् ।

जुम्लाको जाडो छल्न काठमाडौँ आएका उनी अहिले गोदावरीको सनराइज हल अगाडि गेटमा ग्राहकको पर्खाइमा छन । बुढाको विवशता भनौं या रहर ।

उपत्यकाको जाडो ओरालो झर्दैछ । तर बुढाको जीवनमा दुःख र आवश्यकता भने उकालो लागिरहेको छ ।

बलबहादुरको काँधमा परिवारको जिम्मेवारी छ । उनलाई जुम्लादेखि काठमाडौँसम्म डोर्‍याएर ल्याएको छ । दुई छाक खानसमेत हम्मे पर्ने अवस्था भएकाले केही दिन भए पनि दुःख भुल्न उपत्यका खाल्डोमा छन् ।

सनराइज भवनमा फागुन ७ देखि १० गतेसम्म चल्ने महासमिति बैठकमा सहभागी हुन देशभरबाट सदस्यहरू आएका छन् । दोस्रो दिन पनि भवनमा प्रवेश गर्नेको संख्या करिब ४ हजार पुगेको छ । पहिलो दिन तीन हजारको हाराहारीमा कांग्रेसीहरू पुगेका थिए ।

महासमितिको बैठक सुरु भएदेखि बलबहादुरको बसाई गेटबाहिर छ । भित्र जाने पाए पनि टोपी बिक्री गर्न पाइने आशामा छन् । न उनी कुनै दलको सदस्य छन् । उनी नेपाली कांग्रेसको महासिमिति सदस्य नै छन् । त्यसैले पनि उनले भित्र प्रवेश पाएका छैनन् ।

हिजोदेखि यहीँ गेटबाहिर बसेरै टोपी र झण्डा बेच्न बसेको उनले बताए । टोपीको मूल्य सबैले सोधेर मात्र जान्छन् । कोही कसैले मेरो हातमा भएको सामग्री किन्न चाँसो नराखेको उनको भनाइ छ ।

उनले बिक्रीमा राखेको टोपीको बजार मूल्य पाँच सय रहेको जानकारी दिए । ‘आज दिनभर केही पनि बिक्री भएको छैन । कोही किन्न आएमा ३ सय ५० रुपैयाँमा टोपी दिन्छु ,’ उनले भने ।

उनीसँग टोपी मात्र छैन । साथमा सिलाजित, जिम्बु र केशर पनि बोकेका छन् । ५० ग्राम सिलाजितको एक हजार पर्ने उनले जानकारी दिए । जिम्बु पोकाको ५० रुपैयाँ मूल्य राखेका छन् ।

बलबहादुरले टोपी मात्र बिक्रीमा राखेका छैनन् । राष्ट्रिय टोपीसँगै झण्डा पनि बिक्रीमा राखेका छन् । उनी झण्डालाई भुँईमा साक्षी राखी आफ्नो दुःख बिर्साउने साहस बोकी गोदावरीमा पुगेका छन् ।

उनले तीन दिनसम्म मानिसको भीड रहन्छ भन्ने सुनेका छन् । कार्यक्रम नसकिए सम्म तीन दिनसम्म आइरहने बलबहादुरले सुनाए ।

‘कुनै दलको झण्डा भए यहाँ तुरुन्त बिक्री हुन्थ्यो । राष्ट्रिय झण्डा भएकाले कसैले सोध्दैनन्,’ बलबहादुरले अगाडि थपे,’ दलको झण्डा बिक्री हुने देशमा राष्ट्रिय झण्डा खरिद गर्ने मानिस भेट्टाउन धेरै गाह्रो छ ।‘

बलबहादुर बसेको पर्खालमा नेपाली कांग्रेसको चार तारे झण्डा फहराइरहेका थिए । उनी आफ्नो दुःख बिर्साउन राष्ट्रिय झण्डा र टोपी बिक्री गर्न ग्राहकको खोजीमा छन् । पर्खालभित्रबाट आएका कोही पनि नेता तथा कार्यकर्ताले उनको सामानलाई नसोधेकोमा दुःखेसो पोखे ।

पर्खालभित्रका रहेका नेता तथा कार्यकर्ताहरू देश र दलको कार्यदिशा बदल्ने सपना बोकेर छिरेका छन् । तर भवनको पर्खालले किनारा लगाएको बुढामाथि कसैको नजर नपरेको उनले बताए ।

काठमाडौँको डल्लुमा बस्ने गरेको उनले सुनाए । दुई छाक खाएको तीन सय रुपैयाँ तिर्नुपरिरहेको छ । खाएको लाग्छ र बसेको लाग्दैन्,’ निराश मुद्रामा भने,’ काठमाडौँ आउँदा गाडी भाडा लिएर आएको थिए । अहिले फर्कने पैसा मात्र भए पनि हुन्छ ।‘

६२ वर्षीय बलबहादुरको परिवारमा १६ जना सदस्य छन् । श्रीमती छोराबुहारी र नातिनातिनासहित संयुक्त परिवार चलाएर बसेका छन् । उनको घर वरिपरि पाखो बारीसहित पाँच रोपनी खेती छ ।

खेतबारीमा उब्जनी गरेको अन्नले नपुग्ने व्यथा सुनाए । फागुनको तेस्रो साता काठमाडौँलाई छोड्दै छन् । चैत लागेपछि बारी कोट्याउनुपर्ने उनलाई बाध्यता छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x