समाज

'सरकार जिम्मेवार र नैतिकताबाट गिरेपछि पैदलयात्रीलाई सडकमा झारे'

'जनतालाई दुःख दिएर सुरक्षा निकाय सक्रिय देखाउने ढोंग'

अतिन आचार्य |
फागुन १६, २०८० बुधबार १४:४३ बजे

काठमाडौँ- मंगलबारदेखि सिंहदरबार र बानेश्‍वरस्थित संघीय संसदको सडक पेटीमा हिँडडुल गर्न रोक लगाइएको छ । दुवै भवनको वरिपरि हरियो र रातो डोरीले घेराबन्दी गरिएको छ । जहाँ लेखिएको छ ‘निषेधित क्षेत्र, प्रवेश निषेध ।

जसले नागरिकलाई डोरी भन्दा भित्र जान अनुमति छैन भनेर बताइरहेको छ । अहिले डोरीबाहिर विद्यार्थी, ज्येष्ठ, अशक्त नागरिक, महिला र बालबालिकादेखि सर्वसाधारण सडकमा हिड्न बाध्य छन् ।


सडकपेटीमा नागरिक सुरक्षित नहुने सडकमा झन सवारीसाधनको त्रास बढ्दै गएको छ । हुत्तिएर आउने सवारीसाधनले पैदलयात्रीलाई ठक्कर दिने जोखिम बढेर गएको छ । सडकपेटीमा हिड्न नपाउने व्यवस्थाले राज्यको अक्षमता मात्र देखाएको छैन । नागरिकको स्वतन्त्र रुपमा हिँडडुल गर्न पाउने मौलिक अधिकार हनन भएको छ ।

काठमाडौँमा दैनिक हजारौं विदेशी पर्यटक भित्रिने गर्छन् । कतिपय विदेशीहरू हिड्न रुचाउने हुन्छन् । उनीहरूकोमा हिड्ने संस्कृति छ । सिंहदरबार र बानेश्वर बस्नेले सहजै हिड्न पाउने छैनन् । किनभने त्यहाँ प्रतिबन्ध लगाइएको छ ।

सुरक्षाको संवेदनशीलतालाई ध्यान दिँदै दुवै भवन वरिपरिको सडक पेटीमा सर्वसाधारण नागरिकलाई हिँडडुल गर्न प्रतिबन्ध लगाइएको हो । संघीय राजधानी काठमाडौँमा नागरिकको स्वतन्त्र रुपमा हिँड्न पाउने अधिकार हनन हुँदै गएको छ ।

नागरिकको स्वतन्त्र रुपमा हिँड्न पाउने अधिकार हनन भएको छ । लोकतन्त्रमा सबैलाई हिँडडुल र स्वतन्त्र रुपमा आवागमन गर्ने अधिकार छ । संविधानमा मौलिक व्यवस्थाको रुपमा नागरिकलाई स्वतन्त्र रुपमा आवतजावत गर्न पाउने उल्लेख गरिएको छ ।

फुटपाथमा हिँड्न प्रतिबन्ध लगाएपछि यतिखेर सर्वत्र आलोचना हुन थालेको छ । सर्वसाधारण, पत्रकार, नागरिक अगुवा र पूर्व कर्मचारीले विरोध जनाएका छन् । सरकारले निषेधित क्षेत्र तोकेको क्षेत्र वरिपरि डोरी टाँगेर नागरिकहरूलाई हिंड्नसमेत रोक लगाएको लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले बताए ।  

‘यसरी हिँडडुल गर्न रोक्न कि कर्फ्यु आदेश जारी वा दङ्गाग्रस्त क्षेत्र घोषणा भएको हुनुपर्दछ,' उनले प्रश्न गर्दै भने ,’ आफ्नो सुरक्षा कमजोरी लुकाउन गैरकानुनी काम सरकार किन गर्दैछ ? ’

वरिष्‍ठ पत्रकार तीर्थ कोइरालाले  सिंहदरबार र बानेश्वर तिर मात्र हिँडडुलमा किन प्रतिबन्ध भनेर प्रश्‍न गरेका छन् । ‘साह्रै गाह्रो भो भने सम्पूर्ण नेपाललाई नैं निषेधित क्षेत्र घोषणा गरे कसो होला,’ उनले भने,’ पहिले पहिले गाउँघर तिर दोष पिसाच डंकिनी सिमे भुमे शिकारी पन्साउन जान्ने जानपा, बिजुवा, धामी झाँक्रि, फेदाङवाले दोबाटो चौबाटोमा यस्तै विधि गरेको सम्झना भयो।‘

टालटुले समाधान होइन राज्यले स्थायी समाधान दिनुपर्ने कोइरालाको तर्क छ । ‘समाजवादी संविधान ल्याउने अनि जनता चाहिँ बेरोजगार भएर विदेश जानुपर्ने , ऋणले किचेर मर्ने समाजवाद हुन्छ ?,' उनले प्रश्‍न गरे ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले सिंहदरबार र नयाँ बानेश्वरको फुटपाथमा लगाएको प्रतिबन्धलाई लिएर सरकार जिम्मेवार र नैतिकताबाट गिरेपछि पैदलयात्रीलाई सडकमा झारेको प्रतिक्रिया दिएको छन् । फुटपाथ पैदलयात्रीको मात्रै रहेको उनको भनाइ छ ।

‘अनेक बहानामा फुटपाथ कब्जा नगर । तिम्रा डरको शिकार तिमी नै हुने हो, अरू होइन,’ उनले भनेका छन् ।

बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतिक प्रधानले संसद भवनको ढोकाबाटै लघुवित्त पीडित संसद परिसर गरेपछि सुरक्षा निकाय सक्रिय रहेको बताएका छन् ।

‘सुरक्षा निकाय सक्रिय छ भन्ने देखाउन बानेश्वरको संसद भवन अगाडि र सिंहदरबार वरपर सर्वसाधारण पैदल यात्रुलाई तगारो लागेछ,’ उनले उल्लेख गरे ।  जनतालाई दुःख दिएर सुरक्षा निकाय सक्रिय देखाउने ढोंग कहिल्यै नगएको उनले आरोप लगाए ।

गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको बताए । उनका अनुसार गृह मन्त्रालयको छुट्टै परिपत्र र निर्देशन छैन । स्थानीय प्रशासन ऐन २०२८ ले सुरक्षा प्रबन्ध मिलाउने सम्बन्धमा प्रमुख जिल्ला अधिकारीलाई अधिकार छ ।

सुरक्षा संवेदनशीलतालाई अध्ययन गरी सुरक्षा जोखिम हुन नदिन आवश्यक प्रबन्ध मिलाउने प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिएको हुनाले प्रतिबन्ध लागेको हो,’ उनले भने,’  स्थानीय प्रशासनले सुरक्षा जोखिमलाई अध्ययन गरी आवश्यक प्रबन्ध मिलाउन यो प्रतिबन्ध लगाएको हो ।‘

लघुवित्तका ऋणी संसद् भवन परिसरभित्र छिरेपछि प्रहरीले ४८ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पनि हिरासतमा राख्‍न उनीहरूलाई सात दिनको म्याद थप गरिसकेको छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x