समाज

अरूको जग्गा देखाएर भिडियो बनाइरहेका वन कर्मचारीसहित दुईजना प्रहरीको फन्दामा

इकागज |
फागुन १६, २०८० बुधबार १७:१० बजे

बारा- मकवानपुरमा नेपाल सरकारका कर्मचारी भएर बारास्थित अरूको जग्गा देखाएर भिडियो बनाइरहेका वन कर्मचारीसहित दुई जनालाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

बाराको आदर्श कोतवाल गाउँपालिका-५ स्थित द्रुतमार्गको बाटोमा जोडिएको सडक कालोपत्रे छेउमै अरूको जग्गा देखाएर भिडियो बनाइरहेका दुवै जनालाई सरकारी नम्बरको मोटरसाइकलसमेत स्थानीयले नियन्त्रणमा लिएका हुन् । 


पक्राउ पर्नेमा मकवानपुर मनहरी वन कार्यालयका कार्यालय सहयोगी दिलबहादुर कार्की, र हेटौंडा उमनपा १७ का बसन्त रेग्मी रहेका छन् । स्थानीयले उनीहरूले प्रयोग गरेको बा प्रदेश ०३००१ ब ३४५ नम्बरको सरकारी मोटरसाइकलसहित वडा कार्यालयमार्फत प्रहरी चौकी चिउँटाहामा बुझाएका छन् ।

स्थानीय युवा राजकुमार दासले जग्गा धनीलाई थाहै नदिई दलालहरूले नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री गरिरहेको घटना पटकपटक भइरहेका कारण यिनीहरूलाई पक्राउ गरी प्रहरीलाई बुझाएको बताएका छन् । पक्राउ परेका दुवै जनामाथि कानुनी कारबाही हुनुपर्ने स्थानीयले माग गरेका छन् ।

पक्राउ परेका रेग्मी र कार्कीले आफूहरूलाई ललितपुरका एक जना जग्गा कारोबारीले उक्त जग्गा दुई साताअघि ल्याएर देखाएको बताएका थिए । पक्राउ पर्दा उनीहरूले ललितपुरका व्यवसायी भनिएकालाई पटकपटक फोन गर्दा पनि फोन उठेन, एक छिनपछि स्विचआफ भएको थियो । प्रहरी चौकी चिनुटाहाका प्रमुख असई सिवेन्द्र यादवले दुवै जना पक्राउ परेको पुष्टि गरेका छन् । उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कलैया पठाउने असई यादवले बताएका छन् ।

यसअघि मंगलबार आदर्श कोतावल गाउँपालिका-५ स्थित अरूको जग्गा नापजाँच गरिरहेका काठमाडाैँ घर बताउने रौशन अधिकारी र बारा घर बताउने छोटेलाल साहलाई स्थानीयले पक्राउ गरी प्रहरीमा बुझाएका थिए । 

बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले पक्राउ परेका चारै जना नियन्त्रणमा रहेको बताउँदै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

'हामी जग्गाधनी भनिएका लाई बोलाउँछौं, यिनीहरूलाई सोधपुछ गर्छौं दोषी ठहर भएमा कानुन बमोजिम कारबाही हुन्छ,' प्रवक्ता डिएसपी न्यौपानेले भने । पछिल्लो समय बारा, रौतहटलगायत मधेश प्रदेशको जिल्लाहरूमा अरूको जग्गा देखाएर नक्कली कारोबार गर्ने दलालहरूको बिगबिगी बढेको छ ।


Author

थप समाचार
x