समाज

सामाजिक सञ्‍जालबाट सामान देखाएर ५० लाख ठगी गर्ने ४ युवक पक्राउ

इकागज |
फागुन २०, २०८० आइतबार १३:५६ बजे

काठमाडौँ- सामाजिक सञ्जालबाट विभिन्न प्रलोभन देखाएर करिब ५० लाख ठगी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका ४ घर भई पुरानो बानेश्वर काठमाडौं बस्ने २१ वर्षीय आदित्य कुमार सिंह, सोही ठाउँका २० वर्षीय सिद्धार्थ कुमार सिंह छन् ।

त्यसैगरी, बारा  कलैया उपमहानगर ११ घर भई भक्तपुर गट्ठाघर बस्ने २२ वर्षका रामसेवा राम र पर्सा विरगंग १५ घर भई गट्ठाघर भक्तपुर बस्ने २४ वर्षका आकाश साह सोनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।


उनीहरूले सामाजिक सञ्जालमा नक्कली एकाउन्ट बनाएर महँगो ब्राण्डका मोबाइल सस्तोमा दिने, आकर्षक तलबमा विदेश पठाउने लगायतका प्रलोभन देखाएर ४९ लाख ५८ हजार ८ सय रकम ठगेको प्रहरीले  पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

सामाजिक सञ्जाल फेसबुक, इमो भाइबर, टिकटक र इन्स्टाग्राम लगायत एप प्रयोग गरी विभिन्न अकाउन्ट बनाएर फ्रेन्ड रिक्वेस्ट पठाउने र जमजम इलेक्ट्रोनिक नाम फेसबुक पेजबाट महँगो ब्रान्डका मोबाइल सेटहरु सस्तो मूल्यमा खरिद विक्री वितरण गरेको लाइभ भिडिओ पेजमा पोस्ट गरी ठग्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले अमेरिका लगायत देशहरूबाट पार्सल स्वरुप सुनका गरगहना, जुत्ता, औँठी, कपडा लगायतका सामान पठाइदिन्छौ भनेर भन्सार शुल्क, डेलिभरी चार्ज जस्तो प्रयोजनका लागि पैसा उठाउने गरेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट ७ वटा मोबाइल, १६ वटा सीमकार्ड, एटिएम २९ वटा, विभिन्न बैंक खातामा रकम डिपोजिट गरेका रसिद १६ वटा, चेक ४, राहदानी सावरी, चालक अनुमति पत्र र नागरिकता ४ थान पनि बरामद गरेको छ ।


Author

थप समाचार
x