समाज

भारतका विभिन्न तीर्थस्थल पुगी फर्कने क्रममा बाराका एक तीर्थयात्रीको मृत्यु

इकागज |
फागुन २०, २०८० आइतबार १९:४२ बजे

बारा- भारतका विभिन्न तीर्थस्थल पुगी फर्कने क्रममा बाराका एक तीर्थयात्रीको आज बिहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधीराम न्यौपानेले मृत्यु हुनेमा महागढीमाई नगरपालिका-६ लक्षुमनवा टोलका ७५ वर्षे गणेशप्रसाद कुशवाहा रहेको जानकारी दिए । 

करिब एक सय जनाको समूहसहित कुशवाह २५ दिनअघि धार्मिक यात्रामा निस्किएका थिए । भारतका विभिन्न तीर्थस्थल पुगी भारतको आदापुरबाट पैदल फर्किने क्रममा उनी कलैया उपमहानगरपालिका–१२ स्थित नेरा आधारभूत विद्यालयमा विश्राम गरेका थिए । उनी हिजो खाना खाएर सुतेको र आज बिहान नित्यकर्म तथा पूजापाठ गरिसकेपछि बिरामी परेका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । 


उनको शव प्रादेशिक अस्पताल कलैयामा राखिएको छ । उनको मृत्यु कसरी भयो भन्नेबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रासस


Author

थप समाचार
x