समाज

सिटिइभिटीका उपाध्यक्षलाई मोसो दलेको अभियोगमा पक्राउ

इकागज |
फागुन २०, २०८० आइतबार २१:१२ बजे

भक्तपुर- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कार्यकक्षमै आएर मोसो दलेर फरार भएका दुई जनालाई प्रहरीले १५ दिनपछि आज पक्राउ गरेको छ । 

प्रहरीले अछामको कमलबजार नगरपालिका–६ घर भई काठमाडौँ कलङ्की बस्ने ३० वर्षीय डिबी भन्ने डम्बरबहादुर शाही र दार्चुलाको मार्मा गाउँपालिका–२ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–२ बस्ने ३० वर्षीय नवराज भट्टलाई आज पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले  जानकारी दिए । 


प्रहरीका अनुसार अखिल क्रान्तिकारी आबद्ध उनीहरूले गत फागुन ६ गते भेटघाट गर्ने बहानामा सिटिइभिटीका उपाध्यक्ष अधिकारीको कार्यकक्षमा पसेर मोसो दलेका थिए । फरार रहेका उनीहरूलाई मध्यपुरथिमि‐३ गठ्ठाघरबाट पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको प्रहरी नायब उपरीक्षक पाठकले बताए ।


Author

थप समाचार
x