समाज

चितवन घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न आयोग माग

इकागज |
फागुन २१, २०८० सोमबार २१:२४ बजे

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले चितवनको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया शालिन पोखरेलको मृत्युको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ । अनुसन्धान प्रभावित हुने कुनै पनि गतिविधि नगर्न आयोगले सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ ।


चितवनको रत्ननगर नगरपालिका–१० टाँडीस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा यही फागुन १२ गते सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा मृत फेला परेकी भनिएकी शालिन पोखरेलको घटनाको प्रहरी अनुसन्धानबारे आयोगले जानकारी लिइरहेको छ ।

यसै सन्दर्भमा घटनाको सत्यतथ्य विवरण उपलब्ध गराउन एकता शिशु निकेतन बोर्डिङ स्कूल र शव परीक्षण प्रतिवेदन उपलब्ध गराउन त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, फरेन्सिक मेडिसिन विभाग, महाराजगञ्जलाई पत्राचार गरी घटनाबारे अनुसन्धान प्रारम्भ गरेको आयोगले जनाएको छ ।


Author

थप समाचार
x