समाज

महानगरको आदेश नेपाल प्रहरीले टेरेन, पेट्रोल पम्पमा पुरानै रंग

इकागज |
चैत १, २०८० बिहीबार १६:४३ बजे

काठमाडौँ- करिब दुई महिनाअघि काठमाडौँ महानगर भित्रका सबै पेट्रोल पम्पमा पहेंलो रंग लगाउने निर्णय गर्‍यो । पेट्रोल पम्प सञ्चालक, सरोकारवाला संघसंस्था तथा निकायका प्रतिनिधिको बैठकले उक्त निर्णय गरेको थियो ।

सोही अनुरूप महानगर क्षेत्रका सबै पेट्रोल पम्पले पहेंलो रंग लगाइसकेका छन् । तर, महानगरको सूचना अवज्ञा गर्दै नेपाल प्रहरीले नक्साल र सामाखुसीस्थित आफ्नो पेट्रोल पम्पमा पहेंलो रंग नलगाएको पाइएको छ ।


काठमाडौँ महानगरपालिका प्रवक्ता नवीन मानन्धरले प्रहरीको आफ्नो कानुन भएकाले महानगरको नियम नमानेको आरोप लगाए । नेपाल प्रहरीको पेट्रोल पम्प रहेकाले महानगरपालिकाले पटक-पटक भनिसक्दा पनि प्रहरीले बेवास्ता गरेको उनले बताए ।

‘हामीले भनेको नेपाल प्रहरीले मान्दैन । महानगरले प्रहरीको पेट्रोल पम्पमा रंग लगाउँछौ भन्दा पनि दिएनन्,’ प्रवक्ता मानन्धरले इकागजसँग भने,’ हाम्रो कुरा प्रहरीले टेरेनन् । उनीहरूले आफैँ बुझेर पनि लगाउँदैनन् ।‘

नगर प्रहरीले नेपाल प्रहरीलाई पटक पटक चिठीसमेत पठाइसकेको उनले बताए । नगर प्रहरीसँग नेपाल प्रहरीलाई चिठी पठाएको भर्पाइसमेत रहेको उनले इकागजलाई सुनाए ।

महानगरपालिकाले नेपाल प्रहरी र नेपाली सेनालाई एकसाथ रंग लगाउन आग्रह गरेको उनको भनाइ छ ।

त्यसैगरी, नेपाल प्रहरीका प्रवक्ता भीम ढकालले महानगरपालिकाले नेपाल प्रहरीको पेट्रोल पम्पमा रंग लगाउन निर्देशन नदिएको बताए । ‘हामीलाई पेट्रोल पम्पमा रंग लगाउनुहोस् भनेर महानगरले भनेकै छैन,’ उनले भने,’ अहिलेसम्म कुनै जानकारी कतैबाट आएको छैन ।‘

नेपाली सेनाले पेट्रोल पम्पमा रंग लगाइसकेको छ । नेपाली सेनाका प्रवक्ता कृष्ण प्रसाद भण्डारीले पेट्रोल पम्प वरिपरि तथा पम्प चिनिने गरेर रंग लगाइएको बताए ।

काठमाडौँ महानगर क्षेत्रमा ४८ वटा पम्प छन् । पहिलो चरणमा फागुन पहिलो सातासम्म नमुनाका रूपमा चारवटा पम्पमा पहेँलो रङ लगाउने तयारी गरेको थियो । अन्य पम्पमा भने रङ लगाइँदै जाने महानगरले सोही बैठकबाट निर्णय गरेको थियो ।

 

 


Author

थप समाचार
x