समाज

एकै वर्षमा देशभर बैंकिङ कसुरसम्बन्धी १३ हजार बढी मुद्दा दर्ता

इकागज |
चैत १५, २०८० बिहीबार १८:२३ बजे

काठमाडौँ- एक वर्षमा नेपाल प्रहरीकोमा बैंकिङ कसुरसम्बन्धी १३ हजार २७७ मुद्दा दर्ता भएका छन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता भीम ढकालले एक वर्षमा बैंकिङ कसुरसम्बन्धी १३ हजार २७७ मुद्दा दर्ता भएको जानकारी दिए ।

गत वर्षको चैत १० देखि फागुन ३० गतेसम्म सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा १० हजार ८६३, आत्महत्या ७ हजार १९४, लागूऔषध ४ हजार २८४, चोरी ३ हजार ७२५, जबरजस्ती करणी २ हजार ४६८, ठगीमा १ हजार ६६०, ज्यान मार्ने उद्योग १ हजार ४५, बहुविवाहमा ७२४ र सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५३५ मुद्दा भएको छ ।


प्रवक्ता ढकालले एक वर्षमा विभिन्न अपराधमा गरी कुल ४५ हजार ७७५ मुद्दा दर्ता भएको जानकारी दिए । उनका अनुसार साइबर अपराधमा २१२ वटा मुद्दा दर्ता भएका छन् ।

सहकारी संस्थामा भएका अनियमिततासम्बन्धी देशभरबाट कुल १४९ मुद्दा दर्ता भइ २७१ प्रतिवादी पक्राउ गरिएको ढकालले जानकारी दिए । उनका अनुसार १ हजार ११० जना प्रतिवादी फरार रहेका छन् । मिटर ब्याजसम्बन्धी कुल १५२ वटा उजुरी परेको उनले बताए । १५ वटा उजुरी दर्ता भएको, ६ वटा मिलापत्र भएको र १४६ वटा अनुसन्धानमा रहेको ढकालको भनाइ छ ।

त्यसैगरी नेपाल प्रहरीले राजश्व संकलन गरी योगदान पुर्‍याएको ढकालले बताए । एक वर्षमै ६ अर्ब ६३ करोड, ३९ लाख ३२ हजार १७८ रुपैयाँ राजश्व संकलन प्रहरीले गरेको उनले जानकारी दिए ।

उनका अनुसार अवैध सुन, अवैध चाँदी, अदालत फैसला कार्यान्वयन, अवैध मुद्रा, हुण्डी कारोबार, अवैध वैदेशिक मुद्रा, अवैध मालसामान, अवैध काठ, ट्राफिक कारवाही र अवैध नदीजन्य पदार्थमा प्रहरीले राजश्व संकलनमा योगदान पुर्‍याएको छ ।

नेपाल प्रहरीले नागरिकलाई सेवा दिन देशभर पाँच ठाउँमा पेट्रोल पम्प सञ्चालनमा ल्याएको उनले बताए । काठमाडौँको नक्साल, सामाखुसी, चितवन, सप्तरी र बारामा गरी पाँच वटा पेट्रोल पम्प सञ्चालनमा छन् । बाँके, कैलाली, कास्की, दाङ र कञ्चनपुरको महेन्द्रनगरमा पम्पमा खुलाउनका लागि प्रस्तावित गरिएको उनले जानकारी दिए ।

नेपाल प्रहरीको मातहतमा रहेका १७ वटा स्थानमा विद्युतीय सवारी चार्जिङ्ग स्टेसन निर्माण गर्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरिसकेको ढकालले बताए ।

 

 

 

 

 

 

 


Author

थप समाचार
x