समाज

वीरगन्जमा अवैध कल सेन्टर सञ्चालन गर्ने दुई चिनियाँ नागरिक पक्राउ

इकागज |
चैत १७, २०८० शनिबार २१:२८ बजे

वीरगन्ज- वीरगन्जमा कल सेन्टर सञ्चालन गरेर अवैध धन्दा गर्ने दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा पर्सा प्रहरीले शनिबार साँझ वीरगन्ज महानगरपालिकाकाे वडा नं. १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरूलाई नियन्त्रणमा लिएकाे हाे ।


कल सेन्टर सञ्चालन गरेर अवैध काराेबार सञ्चालन गर्ने दुई चिनियाँ नागरिकलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार बिक्रम थापाले बताए । साे घरबाट दर्जनाैं संख्यामा अवैध कम्प्युटर लगायतका इलेक्ट्रोनिक्सका सामानहरू समेत बरामद भएकाे बताउँदै डिएसपी थापाले थप अनुसन्धान भइरहेकाे जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमाेध ढुंगेलको नेतृत्वमा खटिएकाे प्रहरी टाेलीले साे घरमा छापा मारेकाे थियाे । प्रहरीका अनुसार चिनियाँ गिरोहले भाडामा घर लिएर कल सेन्टर सञ्चालन गरेर अवैध रूपमा काराेबार गर्दै आएका थिए ।

प्राप्त जानकारीअनुसार नन्दु राउत कुर्मीकाे घरमा दुई महिना पहिला हेटाैंडाकी एक महिलाले घर भाडामा लिएकी ‍थिइन् । साेही घरमा चिनियाँ नागरिकले सञ्चालन गर्दै आएकाे अवैध धन्दाकाे गिरोहमा थप व्यक्ति पनि रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीले पक्राउ गरेकाहरूकाे नाम अहिले खुलाएकाे छैन । भाेलि (आइतबार) पक्राउ परेका र बरामद भएका सामानहरूबारे विस्तृत रूपमा जानकारी गराइने पर्सा प्रहरी प्रवक्ता थापाले बताए ।


Author

थप समाचार
x