समाज

रौतहटको वनमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

इकागज |
चैत १९, २०८० सोमबार २०:८ बजे

रौतहट- रौतहटस्थित वन क्षेत्रभित्र भीषण आगलागी भएको छ । आगो नियन्त्रणको प्रयास जारी रहे पनि नियन्त्रण हुन नसकेको प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालय रौतहटको  क्षेत्रअन्तर्गत घाटगद्दी गरी राखिएको काठमा भीषण आगलागी भएको हो । आगलागीबाट लाखौंको काठ दाउरा जलेर नष्ट भएको छ । पूर्व-पश्चिम महेन्द्र राजमार्गको लमाहा क्षेत्र आसपास घाटगद्दी गरी राखिएको काठ दाउरामा आज दिउँसोदेखि सुरु भएको भीषण आगलागी अहिले पनि नियन्त्रणमा आउन सकेको छैन । 


गैडाटार सब डिभिजन वन क्षेत्रबाट कटान गरेको काठ दाउरामा आगलागी भएको डिभिजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्रकुमार मिश्रले बताएका छन् । 

नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन निर्माणका लागि वन क्षेत्रबाट कटान गरेको उक्त काठ दाउरामा आगलागी भएको प्रमुख मिश्रले जानकारी दिएका छन् । सोमबार दिउँसो २ बजेर ४२ मिनेटमा आगलागीबारे सूचना आएको सेक्टर वन कार्यालय चोचाका प्रमुख अधिकृत राजेशकुमार साहले बताएका छन् । खबर पाएलगत्तै चन्द्रपुर लगायत विभिन्न स्थानबाट पाँच वटा बारुण यन्त्र दमकलसहित वन कर्मचारी, वन सुरक्षाकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय मिलेर आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । तर, बेलुकी ७ बजे समाचार तयार पार्दासम्म नियन्त्रण हुन नसकेको अधिकृत साहले बताएका छन् ।

आगलागीबाट काठ दाउरा जलेर भएको क्षतिबारे पूर्ण यकिन नभए पनि १५/२० लाखभन्दा बढी क्षति भएको अनुमान गरिएको उनले जानकारी दिएका छन् ।

दिउँसोदेखि नै हुरीको जस्तै चलिरहेको तीव्र बेगको हावाका कारण आगो नियन्त्रणमा समस्या भएको प्रहरीले जनाएको छ । 

तीव्र गतिको हावा चलेकै कारण पछिल्लो समय जिल्लाको विभिन्न स्थानमा दैनिक जसो आगलागीको घटना भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x