समाज

रत्नपार्कको भित्ते बगैँचामा रोपियो २ सय बिरुवा (तस्बिरहरू)

इकागज |
चैत २१, २०८० बुधबार १०:४६ बजे

काठमाडौँ- भित्ते बगैँचामा आज २ सय वटा फूल र लहरा बोटका बिरुवा रोपिएका छन् । पार्क तथा हरियाली प्रवर्द्धन आयोजनाले रत्नपार्क आकाशेपुलको दुई वटा भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेको हो ।

आयोजनाका प्रमुख नवराज थापा, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे, वातावरण व्यवस्थापन विभागका कर्मचारीसहित सहभागी भएर फूल तथा बिरुवा रोपेका हुन् ।


आयोजना प्रमुख थापाका अनुसार फूलमा बेगलबेली र स्वस्थानी फूल (भेरेस्ता) रोपिएका छन् । बेगनबेलीमा पनि गुलावी, रातो, सेतो, पहेँलो, सुन्तले गरी विभिन्न प्रकारका फूल फुल्ने बिरुवा छन् ।

सामान्यतयाः यो जातको फूल ४ देखि ६ महिनासम्म फुलिरहन्छ । यी बिरुवा बढ्दै जाँदा काँटछाँट गरेर मिलाउँदै जानुपर्छ । यसबाट आफूले चाहेको आकार र स्वरुपको बनाउन सकिन्छ । 
हरियाली हुने बिरुवामा होया, मनिप्लान्ट, आइभ्यूका बिरुवा छन् । यी बिरुवा लहरिँदै बढ्दै जान्छन् । 

यी आकाशे पुलका भित्ताहरू साढे ३२ मिटर लामा छन् । उचाइ साढे ६ मिटरसम्म छ । भित्ताको जमिन सतहमा खाडल खनेर फूलका बिरुवा रोपिएका छन् । लहराउने बिरुवालाई गमलामा झुण्ड्याइएको छ । यसमा बिरुवा लहराउन भित्ताभरि २/२ वर्गमिटरका जालिदार बार बनाइएको छ ।

आयोजनाले यो काम ९ लाख ५६ हजार लागतमा सम्पन्न गरेको हो । सहरी सुन्दरता र हरियाली प्रवर्द्धनका लागि थालिएको हो ।


Author

थप समाचार
x