समाज

दरबार हाईस्कुल

सरकारी स्कुलमा विद्यार्थी भर्ना गर्न दबाब

एकै भवनमा दुई वटा स्कुल, एउटै कोठामा क्षमताभन्दा बढी विद्यार्थी

अतिन आचार्य |
चैत २७, २०८० मंगलबार १२:२७ बजे

काठमाडौँ- देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा प्रधानाध्यापकलाई भर्खरै परीक्षा सकिएका विद्यार्थीको परीक्षाफल प्रकाशित गर्न हतारो छ । विद्यार्थी  नतिजाको पर्खाइमा छन् ।

अभिभावक आफ्ना सन्तानका लागि विद्यालयको खोजीमा पनि होलान् । अहिले धेरै अभिभावकको रोजाइमा निजी विद्यालय पर्छन् । निजी विद्यालयहरूको खोजीमा रहने अभिभावकहरूको रोजाइ सामुदायिक विद्यालयमा बढ्दै गएको छ ।


तर, काठमाडौँमै सुविधासम्पन्न विद्यालयलाई छोडेर पढ्न आउने विद्यार्थीको संख्या वर्षेनी दरबार हाईस्कुलमा बढ्दै गएको छ । जहाँ ७७ जिल्लाका विद्यार्थीहरू पढ्न पुग्छन् ।

नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा नेपालकै सबैभन्दा पुरानो दरबार हाईस्कुलमा विद्यार्थी भर्ना गराउन दबाब दिन थालेका छन् । कुनै बेला विद्यार्थीको अभाव हुने दरबार हाईस्कुलमा अहिले भने विद्यार्थी भर्ना गर्न दबाब दिन थालेका हुन् ।

यतिखेर शैक्षिक सत्रका लागि नयाँ फारम खुलेको र स्कुललाई भर्ना फारम वितरण गर्न चटारो छ । यसवर्ष पनि गत वर्षहरूमा जस्तै दरबार हाइस्कुलमा नयाँ भर्नाका लागि विद्यार्थीहरू आउन थालेका छन् । दरबार हाई स्कुलले  प्ले ग्रुपदेखि भर्ना लिने गरेको छ ।

दरबार हाईस्कुलका प्रधानाध्यापक शारदा पौडेलले प्रि-स्कुलदेखि विद्यार्थीलाई पढाइमा रुचि जगाउन र अब्बल भर्ना लिन थालिएको बताउँछिन् । उनका अनुसार यस स्कुलमा पढ्न आउनलाई सुरुदेखि बलियो बनाउन खोजेका छौ ।

दरबार हाईस्कुलमा प्ले ग्रुप, नर्सरी, एलकेजी र युकेजी रहेको छ । बेस राम्रो बनाउन प्रि-स्कुलदेखि विद्यार्थीलाई भर्ना लिन थालिएको पौडेलले जानकारी दिइन् । दुई-तीन वर्षदेखि प्ले ग्रुपको कक्षा सञ्चालन गरिएको उनले बताइन् ।

प्ले ग्रुपमा निश्‍चित शुल्क लिने गरेको उनले जानकारी दिइन् । ‘प्ले ग्रुपमा नेपाल प्रहरी, नेपाली सेना र स्थानीय अभिभावकहरूका छोराछोरी भर्नाका लागि आउने गरेका छन्,’ उनले भनिन्,’ निजामती कर्मचारी र मध्यम आय भएका परिवारका सन्तानहरू आइरहेका छन् ।‘

बालबालिकाले आफ्नो रुचिअनुसार पढ्न सक्ने भएकाले प्ले ग्रुपको व्यवस्था गरिएको प्रधानाध्यापक पौडेलको भनाइ छ । उनका अनुसार स्कुलमा नृत्य, संगीत अन्य अतिरिक्त क्रियाकलापमा समेत बालबालिकालाई ध्यान दिइन्छ । कक्षा तीनदेखि आठसम्मका लागि यस्ता क्रियाकलापमा समावेश गराइन्छ ।

सबै वर्गलाई अटाउने दरबार बन्दै

२५ प्रतिशत स्थानीय अभिभावकका छोराछोरी दरबार हाईस्कुलमा पढ्न आइरहेको उनले बताइन् । पछिल्लो समय स्कुलमा विद्यार्थी भर्नाका लागि चाप बढ्दै गएको छ । कक्षा कोठाको क्षमता भन्दा बढी विद्यार्थीको आवेदन पर्न थालेको छ ।

त्यसैगरी शिक्षा निकायका विभिन्न ठाउँबाट, शिक्षक साथीहरू, स्थानीय क्लब र जनप्रतिनिधिहरूको दबाब रहने गरेको प्रधानाध्यापक पौडेलले बताइन् । जनप्रतिनिधिले आफ्ना मात्र नभइ अरुका सन्तानलाई भर्ना गरिदिनु पर्यो भनेर दबाब दिने गरेको उनको भनाइ छ ।

दरबार स्कुलमा निम्न, मध्यम, उच्च आय, सरकारी कर्मचारीका छोराछोरीहरू पढ्न आउने गरेका छन् । २०७६ सम्म निम्न आय, फुटपाथ व्यापारी र मजदुरका छोराछोरीहरू मात्र पढ्न आउने गरेको प्रधानाध्यापक पौडेलले जानकारी दिइन् ।

‘केही वर्षदेखि सबै वर्गका मानिसका सन्तानहरू पढ्न आउन थालेका छन्,’ उनले थपिन्,’ भवनको समृद्धि, यहाँको पढाइको गुणस्तर र वातावरणले पनि विद्यार्थीको चाप बढिरहेको छ।‘

इन्ट्रान्स लिएर विद्यार्थी भर्ना

नयाँ शैक्षिक सत्रको लागि दरबार हाई स्कुलले भर्ना फारम वितरण गर्न थालिसकेको छ । नयाँ विद्यार्थी भर्ना हुन सात सय बढी विद्यार्थीले भर्ना फारम बुझाइसकेको स्कुलले जनाएको छ ।

भर्ना फारम भर्नेको संख्या एक हजार पुग्न सक्ने प्रधानाध्यापक पौडेलले बताइन् । ‘स्कुलमा भर्ना हुन चाहनेलाई इन्ट्रान्स परीक्षा लिइन्छ । समग्र पढाइ र विद्यार्थीको अनुशासन हेरिन्छ,’ उनले इकागजसँग भनिन्,’ मौखिक परीक्षा लिएपछि विद्यार्थीको अभिभावकसँग बसेर छलफल गरिन्छ ।‘

स्कुलमा भर्ना फारम भरेका सबैले स्कुलमा पढ्न नपाउने उनको भनाइ छ । नयाँ शैक्षिक सत्रको लागि दरबार स्कुलमा एक सय विद्यार्थीका लागि मात्र सीट रहेको उनले जानकारी दिइन् ।

कक्षामा ४२ जनाको क्षमता भए पनि  ४८ ना विद्यार्थी राखेर पढाइरहेको प्रधानाध्यापक पौडेलले जानकारी दिइन् । ‘कोठाको क्षमताभन्दा बढी विद्यार्थी राखेर पढाउने गरिएको छ,’ उनी सुनाउँछिन् ।

स्कुलमा नयाँ भर्नाका लागि पुरानो विद्यार्थीलाई प्राथमिकतामा राखिएको उनले बताइन् । एकै परिवारको दुई जना पढिरहेका छन र अन्य थप एकजना आएमा भर्ना उसैको हुने पौडेलले उल्लेख गरिन् ।

स्कुलले कक्षामा विद्यार्थीको संख्या बढी भएकाले सेक्सन पनि छुट्याएको छ । कक्षा ७ देखि सेक्सन छुट्याइएको उनले बताइन् । विद्यार्थीको संख्या बढी भएकाले उनले कोठाको अभाव भइरहेको जानकारी दिइन् ।

एउटै भवनमा दुई वटा स्कुल

‘दरबार स्कुलको भवन बाहिरबाट हेर्दा ठूलो भए पनि सबै कोठा स्कुलले प्रयोग गर्न पाएको छैन,’ वाल्मिकी संस्कृत विद्यालयले दरबार स्कुलको कक्षा कोठा प्रयोग गर्ने गरेका छन् ।‘ दरबार स्कुलमा कुल ४० कोठा छन् । १४ वटा कोठा संस्कृत विद्यालयले प्रयोग गरेको छ ।

विद्यार्थीको सिकाइ र पढाइको गुणस्तरमा विद्यालयले ध्यान दिने गरेको उनको भनाइ छ । मुख्यतया कक्षाकोठाको व्यवस्थापन गरेर संख्या वृद्धिमा समेत ध्यान दिएको उनले जनाइन् ।

स्कुलमा पठनपाठनको समय वृद्धि गर्ने योजना बनाउन लागिएको पौडेलले बताइन् । विद्यार्थीलाई व्यवस्थापन गर्न निकट भविष्यमा बिहानी र दिवा कक्षा सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

विद्यार्थीको अतिरिक्त क्षमता विकासमा विद्यालयले कम्प्युटर र रोबोटिक्स कक्षा सञ्चालन गरिरहेको उनले बताइन् । कक्षामा ऐच्छिक विषय अनुसार विद्यालयले पठनपाठनमा जोड दिएको उनको भनाइ छ ।

स्कुलले नयाँ शैक्षिक सत्रमा योजना दरबार हाइस्कुल फुटबल टिम तयार गर्ने राखेको छ । क्वीज मास्टर बनाउने, विद्यार्थीलाई सैनिक तालिम दिने र  पठन संस्कृतिको विकास गर्ने भएको छ ।

उपत्यकाका तीनै जिल्लाबाट विद्यार्थी स्कुलमा

काठमाडौँका विभिन्न स्थानबाट विद्यार्थी पढ्न आउने गरेको उनले सुनाइन् । टोखा, जोरपाटी, कीर्तिपुर, कलंकी लगायतका स्थानबाट आउने गरेको उनले बताइन् ।

स्कुलमा आउन सार्वजनिक यातायातको पहुँच भएकाले टाढाबाट विद्यार्थी आउने गरेको उनको भनाइ छ । काठमाडौँका मात्र नभइ भक्तपुर र ललितपुरकासमेत विद्यार्थीहरू आउने गरेका छन् ।

टाढाबाट विद्यार्थीहरू आउने गरेकाले स्कुलमा होस्टेल र स्कुल बसको उच्च माग रहेको पौडेलले बताइन् । काठमाडौँ महानगरपालिकालाई अनौपचारिक रुपमा हामी माग राखेको उनले जानकारी दिइन् । स्कुलले लिखित रुपमा महानगरसँग भने माग गरेको छैन ।

‘यस वर्ष बस विद्यार्थी बोक्नलाई नभइ विभिन्न कार्यक्रममा पुर्‍याउँन बसको व्यवस्था गर्छौ,’ उनले जोडिन्,’ कार्यक्रममा दैनिक विद्यार्थीहरू विभिन्न ठाउँमा जाने  गरेका छन् । यसपालि विद्यार्थीको लागि भनेर २ वटा बसको व्यवस्था गर्छौ ।‘

दरबार हाई स्कुलमा ३३ जना कर्मचारी छन् । विद्यालयमा पढाउनका लागि कुल २८ जना शिक्षक छन् । शिक्षक १० र शिक्षिका १८ जना रहेको पौडेलले जानकारी दिइन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x