समाज

सार्वजनिक सम्पत्ति तोडफोड गरे सम्बन्धित दलसँग असुली गरिने, बिल पठाइँदै

इकागज |
चैत ३०, २०८० शुक्रबार २१:१६ बजे

काठमाडौँ- सरकारले आन्दोलनका क्रममा भएका सार्वजनिक सम्पत्तिमा भएको क्षति असुली गर्ने भएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका अनुसार यसरी सार्वजनिक सम्पत्तिमा क्षति गर्ने जोसुकै व्यक्ति, संस्था र दललाई बिल पठाएर असुली गरिने भएको हो ।


‘शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान छ । यो लोकतन्त्रको सौन्दर्य हो । तर, आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइँदैन,’ गृह मन्त्री लामिछानेले भनेका छन्, ‘त्यसैले आन्दोलनका क्रममा भएको वा हुने क्षतिको भरपाईका लागि आयोजक (व्यक्ति, संस्था वा दल) लाई बिल पठाउने र सरकारी बाँकी सरह उठाउने निर्णय भएको छ ।’ 

उनले यसबारेमा अगाडि भनेका छन्, ‘मैले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ । बिल चाँडै पठाइने छ ।’

साथै, गृह मन्त्रालयले माइतीघर र बानेश्वर क्षेत्रलाई यसअघि गरिएको निषेधित क्षेत्र घोषणा फिर्ता लिएको छ भने ठमेल र दरबारमार्गलाई २४ घन्टा नै खुल्ला गर्ने निर्णय पनि भएको जनाएको छ । 

‘काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको छ,’ गृह मन्त्री लामिछानेले जानकारी दिँदै भने, ‘ठमेल र दरबारमार्ग क्षेत्र व्यापारिक प्रयोजनका लागि स्पष्ट मापदण्ड, आचारसंहिता र पूर्ण सुरक्षा प्रत्याभूतिसहित नयाँ वर्ष २०८१ सँगै  २४ सै घण्टा खुल्दै छ ।’


Author

थप समाचार
x