समाज

इस्मा आगलागी

आँखै अगाडि खरानी बने सम्पत्ति र सपना

इकागज |
बैशाख १०, २०८१ सोमबार २०:९ बजे

फाइल तस्बिर

तम्घास- गुल्मीको इस्मा गाउँपालिका–२ का चन्द्रबहादुर कुँवरले पाँच वर्षअघि १४ लाख खर्चेर दुईतले पक्की घर बनाएका थिए । जीवनमा धेरै दु:खले बनाएको सोही घर शनिबार गाउँमा पसेको आगोले निमेषभरमा खरानी भयो । जंगलबाट आगो बस्तीमा पस्दा उनको घरगोठसहित कुटानी–पिसानी गर्ने मिल र नौवटा बाख्रा आगोमा परे ।

एक महिना अघिमात्र कान्छा छोराको बुहारी भित्र्याएको उनको बिहेका गर–गहनासहित घरमा भएका अन्न, लत्ताकपडा, गोठमा भएको घाँसपात केही बाँकी रहेनन् । उनले सुरु गरेको व्यावसायिक बाख्रापालनको पनि नाम निशाना रहेन । घरमै सञ्चालन गरेको मिल पनि आगोले खरानी बनायो ।


‘हेर्दाहेर्दै एकैछिनमा घरसहित सबै सामान जले,’ उनले भने, ‘आँखै अगाडि सम्पत्ति र सपना दुवै खरानी भयो ।’ आफूहरू बल्लतल्ल घरभन्दा पर पुगेर ज्यान जोगाउन सफल भएको उनले बताए । गोठमा रहेका भैँसी र गोरु फुकाएर भगाउन भ्याउँदा बाँचे ।

सोही गाउँका घनबहादुर कुँवरले पनि किराना पसल सञ्चालन गरेका थिए । परिवार चलाउन किराना पसलले सहयोग पुगेको थियो । आगो लागेको दिन शनिबार बिहान उनी बिहे भोजको निम्तो गर्न बेँसी झरेका थिए । सोही समयमा जंगलबाट आएको आगोले उनको किराना पसल, घर, गोठ र चर्पी जलेर नष्ट भयो ।

‘बस्ने बास, लाउने कपडा र अन्नपात सबै जल्यो,’ उनले भने, ‘मेरा सबै आशा आगोले एकै छिनमा खरानी बनाइदियो ।’ आगोले घर जलेपछि रेडक्रसले दिएको त्रिपालमुनि गुजारा चलाइरहेका छन् । आगोले घरका भैँसी र बाख्रा पनि मरेको उनले बताए ।

सोही ठाउँकी कमला कुँवर शनिबार बिहान बिहे भोज खान छल्दी गएकी थिइन् । त्यही बेला गाउँमा लागेको आगोले उनको घर पनि बाँकी राखेन । ‘बिहान घरबाट निस्कँदा ठिकै थियो, फर्केर आउँदा घर थिएन,’ कुँवरले भनिन्, ‘आगोले मन छियाछिया भएको छ ।’ सिंगो गाउँ सखाप हुनेगरी आगो लगाउनेलाई कारबाही हुनुपर्ने उनको माग छ ।

स्थानीय रामकुमारी थापाले आफ्नो छोरा अर्काको घर जोगाउन जाँदा आफ्नो गोठ जलेको बताइन् । गोठको आगो निभाउन घरको छानो भत्काए पनि सम्भव नभएको थापाको भनाइ छ । गोठमा आगलागी हुँदा दुईवटा भैँसी, दुईवटा बाख्रा र गहना जलेर नष्ट भएको थापाले बताइन् ।

इस्मा रेडक्रसमा कार्यरत बैकुण्ठ कुँवरले अत्यधिक हावाहुरीले गर्दा सिंगो गाउँ सखाप भएको बताए । ‘एक्कासि आगोको झिल्को फैलिन थाले, निभाउने र सहयोग गर्ने कुनै मौका रहेन,’ उनले भने, ‘धन्न मानवीय क्षति हुन पाएन ।’

आगलागीबाट पीडित उनीहरू प्रतिनिधिमूलक पात्र मात्रै हुन् । जिल्लाको विभिन्न ठाउँमा आगलागी हुँदा धेरै क्षति भएको छ । त्यसमध्ये पनि इस्मामा सबैभन्दा धेरै क्षति भएको छ । इस्माको वडा नं १, २ तथा ४ मा लागेको आगोले ६० भन्दा धेरै घर–गोठ जलेका छन् । सिंगो गाउँ आगोले सखाप बनाएको छ । आगलागीबाट करोडौँका भौतिक संरचना एवं सयौँको संख्यामा पशुचौपाया मरेका छन् । डढेलोले इस्मामा लु४त ६५३५ नंको ट्र्याक्टर जलेको छ ।

गाउँपालिकाद्वारा सहयोगको अपिल

इस्मा गाउँपालिकाले आइतबार साँझ विज्ञप्ति जारी गरी आगलागी पीडितलाई सहयोगको अपिल गरेको छ । इस्मावासी आगलागीबाट पीडित भएको भन्दै गाउँपालिकाले सहयोगका लागि सबैसँग अपिल गरेको हो । गाउँपालिकाका जनप्रतिनिधिहरूले एक महिनाको तलब र कर्मचारीहरूले एक महिनाको पाँच प्रतिशत तलब आगलागी पीडित राहत कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरले बताइन् ।

सोही क्षेत्रका प्रदेश सांसद डिल्लीराज भुसालले बस्तीको पुनःनिर्माणका लागि पहल गर्ने बताए । गुल्मी जिल्लाभरमा आगलागीबाट ३७ घर र ४६ गोठ गरी ८३ घरगोठ जलेका छन् । रासस


Author

थप समाचार
x