समाज

कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा

इकागज |
बैशाख ११, २०८१ मंगलबार १९:५६ बजे

धुलिखेल- काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–६ देवीटारस्थित इलाका प्रशासन कार्यालय दुई महिनाभन्दा बढी समयदेखि प्रमुखविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । आफ्नै गाउँबाट प्रशासनिक सेवा प्रदान गर्ने उद्देश्यले देवीटारमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो ।

लामो समय कार्यालय प्रमुखविहीन हुँदा नागरिकता बनाउन, प्रतिलिपि लिने र राहदानी फारम भर्नबाट नागरिक वञ्चित भएका छन् । वडाबाट सिफारिस लिएर जाने सेवाहीग्राहीले इलाका प्रशासन कार्यालय प्रमुखविहीन भएपछि सेवाबाट वञ्चित भएको गुनासो गर्ने गरेका गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । 'सेवा ठप्प भएपछि नागरिकको धेरै गुनासो खेप्नुपरेको छ,' उनले भने ।


प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यसअघि पनि कार्यालय प्रमुख नभएको अवस्था भएपछि आफ्नै पहलमा गृह मन्त्रालयमा ताकेता गर्दा अधिकृतको व्यवस्था गरिएको बताए । कार्यालय प्रमुखविहीन रहेको बारे मन्त्रालयलाई जानकारी गराइएको उनले बताए । आठ जनाको दरबन्दी रहेको सो कार्यालयमा हाल एक नायब सुब्बा, एक कम्प्युटर अपरेटर र दुई कार्यालय सहयोगी मात्र कार्यरत छन् ।

नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न महाभारत–६ मा २०७५ जेठ १० गते कार्यालय स्थापना गरिएको हो ।


Author

थप समाचार
x