समाज

रोजगार सेवा केन्द्रमा आबद्ध श्रमिकका लागि एक दिने गोष्ठी

इकागज |
बैशाख १६, २०८१ आइतबार २०:४४ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको रोजगार सेवा केन्द्रले ‘श्रम बैंक’ र ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा आबद्ध श्रमिकका लागि एक दिने गोष्ठी सम्पन्न गरेको छ । ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ विषय गोष्ठी सम्पन्न गरेको हो ।

‘जसले काम गर्छ, त्यो श्रमिक हो । काम यो वा त्यो का आधारमा भेद हुँदैन,’ कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘श्रममा इमान्दारिता र सीप भयो भने बेरोजगार बन्नु पर्दैन । यसले व्यक्तिको जीवन निर्वाहमा दिगो आय उपार्जन गराउँछ ।’


काम हेरेर श्रमिकको स्तर विभाजन गर्ने सामाजिक परम्परामा क्रमशः सुधार गर्दै जाने सामाजिक समितिका संयोजक रामकुमार केसीले बताए । उनले भने, ‘सम्मानजनक श्रम संस्कृतिलाई दिगो बनाउने योजनामा महानगरपालिकाले काम गरिरहेको छ ।’

ठाउँ, समय र सामाजिक परिस्थितिअनुसार स्वदेश र विदेशमा गरिने कामका बीचमा फरक छ । कार्यक्रममा ‘वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनु पर्ने कुराहरू’ विषयक कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले भने, ‘सीपले श्रमिकको आय बढाउँछ । काममा सहजता ल्याउँछ । यसकारण आफू संलग्न हुने विषयमा सीप त सिक्नै पर्छ । यसमा पनि वैदेशिक रोजगारीमा जाने व्यक्तिले सीप नलिई जानै हुँदैन, दुःख पाइन्छ ।’ 

काठमाडौँ महानगरपालिकाले व्यक्तिमा सीप विकास गराएर आन्तरिक रोजगारीका अवसर सिर्जना गराउने कार्यक्रम सञ्चालन गरिरहेको छ । सामाजिक विकास विभागका निमित्त प्रमुख बिमला कोइरालाले भनिन्, ‘३४ विधामा त्योभन्दा धेरै पेशाका तालिम चलाएका छौँ ।’ सीप सिकेका व्यक्तिलाई स्वरोजगार हुन सहयोग गरेको, रोजगारीमा जान चाहनेलाई ‘श्रम बैंक’ मा आबद्ध गराएर रोजगारदाताहरूको सञ्जालमा जोड्न मद्दत गरेको उनको भनाइ थियो ।

महानगरपालिकाको रोजगार सेवा केन्द्रअन्तर्गत ‘श्रम बैंक’ मा करिब २२ सय र ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा करिब १ हजार ५६ जना व्यक्ति सूचीकृत भइसक्नु भएको छ । रोजगार संयोजक रश्मि राईका अनुसार सूचीकृतमध्ये करिब ७ सय व्यक्तिलाई रोजगारी दिइएको छ । व्यक्तिको योग्यता, सीप सम्बन्धी प्रमाण पत्र तथा अनुभवजस्ता सूचकका आधारमा दक्ष, अर्धदक्ष र अदक्ष गरी ३ प्रकृतिमा व्यक्तिलाई सूचीकृत गर्ने गरिएको छ ।

महानगरपालिकाभित्र जनशक्ति आवश्यक भएका विभागहरूले केन्द्रसँग जनशक्ति माग गर्ने गरेका छन् । मागका आधारमा सेवा केन्द्रले जनशक्ति उपलब्ध गराउँछन् । 

यी काम गर्न सीप सिकेका व्यक्तिले बेरोजगार बन्नु पर्ने अवस्था छैन । आन्तरिक रोजगारीका प्रशस्त सम्भावना छन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलले आन्तरिक रोजगारी प्रवर्द्धनमा महासंघको भूमिका र महत्वका विषय’ मा प्रस्तुति गर्दै उद्योग क्षेत्रमा सीपयुक्त जनशक्ति खपतमा समस्या नभएको उल्लेख गरे । 

आन्तरिक रोजगारीको प्रवर्द्धन गरेर बेरोजगारीको समस्या घटाउन तथा अधिक रोजगारीका अवसर सिर्जना गर्न आवश्यक रोजगार सेवा र सहायता उपलब्ध गराउनु कार्यक्रमको उद्देश्य हो । यस्ता कार्यक्रमबाट सरकारी, निजी, सहकारी, गैरसरकारीलगायत क्षेत्रहरूका बीचमा समन्वय र सहकार्य बढ्दै जाने कार्यक्रम सञ्चालनको उद्देश्य हो ।

व्यक्तिको सीप र क्षमता बढाउन महानगरपालिकाले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्ने गरेको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ महानगर गौरव योजनाअन्तर्गत विभिन्न विधामा तालिम चलिरहेका छन् । सीप नजानेका र सीपको स्तरोन्नति गर्नुपर्ने व्यक्तिलाई सीप सिकाउने तथा सीपको स्तरोन्नति गराएर स्वरोजगार तथा रोजगार बनाउनु तालिमको उद्देश्य हो ।

यो वर्ष (२०८१) मा २०८१ जनालाई एकै ठाउँमा सीपमूलक तालिम सञ्चालन गर्ने लक्ष्यसहित वैशाख १९ गतेदेखि टुँडिखेलमा सीप मेला आयोजना हुँदैछ । 


 


Author

थप समाचार
x