समाज

नाबालिका हत्या प्रकरण : छिमेकीले एउटा बिस्कुट दिएर फकाए, घरभित्र लगेर हत्या गरे

इकागज |
बैशाख १७, २०८१ सोमबार १२:५२ बजे

काठमाडौँ- रियाकुमारी यादव गत १२ गते आफ्नै घरबाटै सम्पर्कविहीन भइन् । सिरहा नगरपालिका- १८ की ३ वर्षीया यादव बिहान १० बजे एकाएक हराइन् । लगत्तै उनको अभिभावक रमेशकुमार यादवले प्रहरी कार्यालयमा घरबाट छोरी हराएको जानकारी गराए ।

पीडित परिवारको निवेदन प्रहरीकोमा पुगेपछि प्रहरीले पनि हराएको र सम्भावित ठाउँको खोजी सुरु गर्न थाल्यो । खोजका लागि सिरहा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र प्रहरीचौकी लकडीगोठबाट प्रहरी खटिए । शंकास्पद मानिस र वरिपरिको घरमा प्रहरीले निगरानी बढायो ।


रमेशकुमारको घरको उत्तर दिशातर्फ धनिकलाल यादवको घर छ । उनीहरू छिमेकी पनि हुन् । उनीहरू छिमेकी भए पनि छिमेकीको जस्तो नभइ शत्रुताको जस्तो सम्बन्ध थियो । एक वर्षदेखि झै-झगडा भइरहने र बोलचालसमेत बन्द थियो ।

सोही छिमेकी यादवको घरको छतमा १४ गते राति साढे ११ बजे उनै रियाकुमारीको शव प्रहरीले फेला पार्‍यो । छतमाथि जाने भर्‍याङको मुसुरको झिङ्टा भित्र सेतो कालो रङ्गको बोराभित्र लुकाएर राखिएको थियो ।

रियाकुमारीलाई उनीहरूको बोलचाल बन्द र झै-झगडा भइरहनेबारेमा थाहा थिएन । अबोध बालिका भएकाले पनि होला सबै घर र आँगन उनलाई आफ्नै जस्तो लाग्थ्यो ।

सोही क्रममा १२ गते बिहानै रियाकुमारी धनिकलालको घरको आँगनमा खेल्दै पुगिन् । आँगनमा पुगेकी रियाकुमारीलाई उनीहरूले नजिकैको पसलबाट बिस्कुट किन्छन् । सोही बिस्कुट उनीहरूले रियाकुमारीलाई फकाएर दिन्छन् ।

केही क्षणमा भित्र लगेर घाँटी थिचेर बालिकाको हत्या गरेको अनुसन्धानमा खुल्न आएको सिरहा जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष आचार्यले जानकारी दिए । उनका अनुसार हत्यामा संलग्न भनिएका ७२ वर्षीय धनिकलाल यादव घटनालगत्तै फरार छन् । उनको खोजी कार्य भइरहेको छ ।

सोही घरका घटनामा संलग्न भएका ४७ वर्षीय श्रीमती सोनादेवी यादव र छोरी पुजा कुमारी यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख आचार्यले बताए ।

ती दुवै जना आमाछोरीलाई पहिलोपटक सिरहा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


Author

थप समाचार
x