Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

सडक डिभिजनले ठेक्काबिनै कोटेश्वरमा रेलिङ हाल्दै, व्यक्तिलाई कामको जिम्मा (भिडियोसहित)

शुरज थपलिया |
बैशाख ३१, २०८१ सोमबार १७:५७ बजे

काठमाडौँ - निर्माण सामग्री सडकमा जथाभावी राख्दा कोटेश्वर-कलंकी सडक खण्डमा सवारी दुर्घटना बढेको छ । कोटेश्वर चोकदेखि भाटभटेनीसम्म सडकको बीचमा रेलिङ हाल्ने काम भइरहेकाले निर्माण सामग्री सडकमा अलपत्र राख्दा दुर्घटना बढेको हो ।

रेलिङ निर्माणका लागि भन्दै गिट्टी र बालुवा सडकमा जथाभावी राखिएको छ । जसका कारण सवारी दुर्घटना हुने गरेको छ । कोही गिट्टीमा चिप्लिएर त कोही बालुवाको थुप्रो नदेख्दा दुर्घटनामा परेका छन् । 


केही दिनअघि सडकमा अलपत्र राखिएको बालुवाको थुप्रोमा ठोकिएर मोटरसाइकल चालक सविन जोशी घाइते भए । फूडमाण्डुमा काम गर्ने सबिन कोटेश्वरबाट कलंकीतर्फ जाँदै थिए । ‘विपरीत दिशाबाट आएको गाडीको लाइटले देख्न सकिन्’, उनले भने, ‘बाइक गिट्टीको थुप्रोमा ठोकियो ।’

उनको हातको औँलामा चोट लाग्यो । केही साथीको मद्दतले सविनको उद्धार भयो । 

यो त एउटा उदाहरण मात्रै हो । यस्ता दुर्घटना दैनिक जसो हुने गरेका छन् । बागमतीका प्रदेश सभा सदस्य सुनिल केसीले कोटेश्वरमा दैनिक २-३ वटा दुर्घटना हुने भएकाले रेलिङ हाल्न अनुरोध गरेको जानकारी दिए । ‘सडकको बीचबाट बाटो काट्दा दुर्घटना बढ्यो’ उनले भने’ ‘त्यसैले हामीले दीपनगर टोल सुधार समितिमार्फत सडक डिभिजन कार्यालयलाई पत्र लेखेर रेलिङ हालिदिन अनुरोध गर्यौ ।’ अहिले निर्माण सामग्रीका कारण झन दुर्घटना बढेको पाइएको उनले बताए । 

४ महिनादेखि सडकको बीचमा निर्माण सामग्री अलपत्र अवस्थामा राखिएको स्थानीय व्यापारी फुर्वा तामाङले बताए । ‘रेलिङ हाल्न निर्माण सामग्री राखिएको छ’, उनले भने, ‘दुर्घटना रोक्न रेलिङ हाल्न लागेको भए पनि  सोही कारण दुर्घटना बढिरहेको छ ।’

काम सुस्त गतिमा भएकाले दुर्घटना बढेको उनको भनाइ छ । दिउँसो भन्दा पनि साँझ परेपछि दुर्घटना बढी हुने उनले सुनाए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन कुमार श्रेष्ठले सडकको बीचमा निर्माण सामग्री राखिएको बारे सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने बताए । ‘सडकमा निर्माण सामग्री राख्न पाइँदैन’, उनले भने, ‘चक्रपथजस्तो व्यस्त सडकमा त्यसरी निर्माण सामग्री राखेको पाइए सरोकारवालालाई नराख्न भन्छौ ।’ सडकमा त्यस्ता सामग्री राख्दा दुर्घटनाको जोखिम हुने उनले बताए । 

कसले रेलिङ हाल्ने काम गर्दैछ ?

सडकमा जथाभावी बाटो काट्दा दुर्घटना बढ्ने जोखिम रहेको भन्दै काठमाडौँ महानगर, वडा नम्बर ३२ र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुरोधमा सडक डिभिजनले रेलिङ लगाउन थालेको हो ।

सडक डिभिजन कार्यालय काठमाडौँका सूचना अधिकारी प्रमोद खतिवडाले आठ लेनको कोटेश्वर-कलंकी सडकखण्डमा ४ सय २३ मिटर फलामे रेलिङ हाल्न सुरु गरिएको जानकारी दिए ।

उनले आकस्मिक रुपमा काम गर्नु परेकाले बोलपत्र आव्हान बिनै काम सुरु गरेको प्रस्ट पारे । ‘महानगर र ट्राफिक प्रहरी कार्यालय काठमाडौँले दुर्घटना बढेकाले रेलिङ हाल्न अनुरोध गरे’, खतिवडाले भने, ‘आकस्मिक रुपमा रेलिङ हाल्न लागेकाले निर्माण पछि मात्रै पैसा कति लाग्छ हिसाब हुन्छ ।’

लगभग ३० देखि ३५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको  उनले उल्लेख गरे । 

ठेक्काबिनै रेलिङ निर्माण
सडक डिभिजन काठमाडौँ कार्यालयले ठेक्काबिनै रेलिङ हाल्न लागेको पाइएको छ । आकस्मिक रुपमा निर्माण गर्नु परेकाले ठेक्का सम्झौता नगरिएको रेलिङ निर्माणमा खटिएका सडक डिभिजनका इन्जिनियर अर्जुन नेपालीले जानकारी दिए ।

सडक डिभिजन कार्यालयले बाबुराम पाण्डे नामका व्यक्तिलाई रेलिङ हाल्ने काम दिएको छ । पाण्डेले कुनै ग्रील उद्योगबाट किलोका हिसाबले फलाम ल्याएर रेलिङ हाल्ने र सोही अनुसार सडक डिभिजनले भुक्तानी दिने उनले बताए । 

सार्वजनिक खरिद ऐनले २० लाख भन्दा माथिको कामका लागि बोलपत्र आव्हान गर्नुपर्ने अनिवार्य व्यवस्था छ । सडक डिभिजन कार्यालयले सोही व्यवस्थाको उल्लंघन गरेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक तथा सूचना अधिकारी पवन राज अधिकारीले नियम अनुसार २० लाख भन्दा माथि कुनै पनि काम गर्दा बोलपत्र आव्हान गरेर ठेक्का दिनैपर्ने व्यवस्था भएको जानकारी दिए । 

सुस्त गतिमा काम 

सडक डिभिजन काठमाडौँ कार्यालयले एकतर्फी रेलिङ हाल्न चार महिना बढी समय लगाएको छ । इन्जिनियर नेपालीले काम सुस्त गतिमा भएको स्विकारे । हेर्दा सामान्य भएपनि काम गर्न गाह्रो भएको उनले बताए । ‘हालसम्म २ सय मिटरमा रेलिङ हाल्ने काम सकिएको छ’, उनले भने, ‘बाँकी पनि छिट्टै सक्ने तयारीमा काम गरिरहेका छौँ ।’  

बागमती प्रदेश सभा सदस्य केसी रेलिङ बनाउने काम सुस्त गतिमा अघि बढिरहेको बताउँछन् । ‘केही हप्ता अघि म सम्बन्धित क्षेत्रमा भिजिट गएको थिए छिटो काम सक्न सम्बन्धित निकायलाई ताकेता गरेको छु', उनले भने । 

हेर्नुहाेस् भिडियो

र, यो पनि

कोटेश्‍वरमा आकाशे पुललाई बेवास्ता गर्ने पैदल यात्रुलाई छेक्न फलामे रेलिङ बन्दै


Author

थप समाचार
x