समाज

कोटेश्‍वरमा आकाशे पुललाई बेवास्ता गर्ने पैदल यात्रुलाई छेक्न फलामे रेलिङ बन्दै

बीच सडकमा निर्माण सामग्री निर्माण गर्दा दुर्घटनाको जोखिम बढ्दै

अतिन आचार्य |
बैशाख २६, २०८१ बुधबार १५:५१ बजे

काठमाडौँ- कोटेश्‍वर बालकुमारी सडक खण्डमा पैदलयात्रीले जथाभावी बाटो काट्न थालेपछि सडक डिभिजन काठमाडौँ कार्यालयले फलामको रेलिङ लगाएको छ । 

सडकमा दुर्घटना न्यूनीकरण गर्न रेलिङ लगाए पनि निर्माण कम्पनीले जथाभावी निर्माण सामग्री राख्दा थप दुर्घटना हुने सम्भावना बढेर गएको छ ।  निर्माण सामग्रीले सडकमा तीव्र गतिमा रहेका सवारीसाधनहरू दुर्घटनामा पर्ने जोखिम हुने पैदल यात्रुहरूले बताएका छन् ।


सडकमा जथाभावी बाटो काट्दा दुर्घटना बढ्ने जोखिम रहेको भन्दै काठमाडौँ महानगर र काठमाडौँ उपत्यका ट्राफिक प्रहरीको कार्यालयको अनुरोधमा सडक डिभिजन कार्यालयले सडकमा रेलिङ लगाएको हो ।

कोटेश्वरमा रहेका पैदल यात्री रमेश तिम्सिनाले निर्माण कार्य गर्दा सडकमा निर्माण सामग्री राख्‍न नहुने बताए । दुर्घटना न्यूनीकरण गर्न संरचना बनाए पनि यसले अझ जोखिम बढाउने उनको भनाइ छ ।

निर्माण गर्दा सडकमा अवरोध नपुग्ने गरी काम गर्नु ती पैदलयात्रु तिम्सिनाको भनाइ छ । जथाभावी बाटो काट्नेलाई निर्माण गरिरहेको रेलिङले अवरोध गरी पुलबाट बाटो काट्न थप प्रेरणा मिल्ने उनले बताए ।

कोटेश्वर बालकुमारी सडक खण्डमा पैदलयात्रीले सडकबाट जथाभावी बाटो काट्न थालेकाले बाध्य भएर फलामे रेलिङ लगाउनु परेको काठमाडौँ महानगरपालिका ३२ का वडा सदस्य हरि बस्नेतले बताए ।

‘पुलमाथिबाट बाटो नकाटेर सडकको बीचबाट पैदलयात्रुले बाटो काट्न थालेपछि बाध्य भएर फलामे रेलिङ लगाउनु परको छ,’ उनले भने,’ यात्रुको सुरक्षाका निम्ति सडकमा रेलिङ लगाउनु परेको छ ।‘

सडकको बीच भागबाट बाटो काट्न हुँदैन भनेर सिकाउन तथा जनचेतना फैलाउन रेलिङ लगाउन बाध्य भएको बस्नेतको भनाइ छ । नियम नमान्ने र बीच भागबाट बाटो काट्नेमा नेपालीहरू पहिलो स्थानमा रहेकाले त्यो परिचय हटाउन सडकमा छेकबार लगाउनु परेको उनले उल्लेख गरे ।

‘दैनिक सय भन्दा बढी पैदलयात्रुले बीच सडकबाट बाटो काट्ने गरेका छन्,’ उनले अगाडि थपे,’ यात्रुले रेलिङ लगाएपछि पुल माथिबाट जान सक्ने छन् ।‘

केही समयअघि महानगरपालिकाले सडक डिभिजनलाई कोटेश्वर-बालकुमारी सडकखण्डको बीच भागमा रेलिङ लगाइदिन आग्रह गरेको थियो । सडक सुरक्षार्थ तथा पैदल यात्रुहरूले जथाभावी बाटो काट्न थालेपछि दुर्घटनाको जोखिम बढ्दै गएको थियो । महानगरपालिकाले रेलिङ लगाएपछि पैदल यात्रुकै कारण हुने दुर्घटनामा कमी आउने विश्वास गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन कुमार श्रेष्ठले यात्रुहरूले बीच सडकबाट जथाभावी बाटो काट्न थालेकाले सडक डिभिजन कार्यालयले फलामे रेलिङ लगाएको जानकारी दिए । रेलिङ लगाएपछि पैदलयात्रुले बीच भागबाट बाटो काट्न  नपाउने उनले बताए ।

‘पटक-पटक पैदल यात्रुले बीच सडकबाटै बाटो काट्ने गरेको रिपोर्ट ट्राफिक प्रहरीलाई आइरहेको थियो,’ प्रवक्ता श्रेष्ठले भने,’ ट्राफिक प्रहरीले पटक-पटक पैदल यात्रुलाई बाटो नकाट्न विभिन्न अभियान चलाएर अनुरोध गरेको थियो ।‘

पैदल यात्रुकै कारण कोटेश्वर बालकुमारी सडक खण्डमा दुर्घटना घटिसकेको उनले जानकारी दिए । सडकमा रेलिङ लगाएपछि भने दुर्घटना कम हुने श्रेष्ठले विश्वास व्यक्त गरे ।

त्यसैगरी, सडक डिभिजन कार्यालय काठमाडौँका सूचना अधिकारी प्रमोद खतिवडालले कोटेश्वर-बालकुमारी सडकखण्डमा साढे तीनदेखि साढे चार सय मिटरसम्मको भागमा फलामे रेलिङ लगाइएको जानकारी दिए । पैदल यात्रुले जथाभावी बाटो काटेको र सडक सुरक्षाका निम्ति रेलिङ लगाउनु परेको उनले बताए ।

उनका अनुसार काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको एकसाथ आएको अनुरोधले फलाम रेलिङ लगाउनु परेको हो । निर्माण खर्च ३० देखि ३५ लाख रुपैयाँ लागत लाग्ने गरी काम भइरहेको छ । पैदल यात्रुले पुलबाट बाटो नकाटी बीच सडकबाट बाटो काटेकाले रेलिङ लगाइएको हो । पैदल यात्रुले जथाभावी बाटो नकाट्ने हुँदा सडक दुर्घटना न्यूनीकरण गर्न यसले सहयोग गर्छ ।

सूचना अधिकारी खतिवडाले डिपार्टमेन्ट कम्पनी अन्तर्गतले उक्त फलामे रेलिङ लगाएको जानकारी दिए । ‘सडकमा यातायातको सहज आवागमन गर्ने गरी काम गर्न अनुरोध गरिएको छ,’ उनले भने,’ सडकमा बालुवा गिट्टी राखिएको भए छिटो निर्माण सम्पन्न गरेर हटाउन निर्देशन दिएको छ ।‘

सडक विभागले समय-समयमा सडकमा भएको फोहोर उठाइरहेको खतिवडाले बताए । निर्माण कम्पनीलाई कार्यले आवागमनमा अवरोध नहोस् र कुनै पनि अप्रिय घटना नघटोस् भनेर सचेत गराइसकेको उनको भनाइ छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x