समाज

सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि पटक पटक हस्तक्षेप भयो : कैलाश सिरोहिया

इकागज |
जेठ ८, २०८१ मंगलबार १५:३३ बजे

काठमाडौँ - कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले राज्यशक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि पटक पटक हस्तक्षेप भएको बताएका छन् ।

नागरिकता दुरुपयोग गरेको आरोपको अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले आज पक्राउ पुर्जी जारी गरेसँगै सिरोहियाले विज्ञप्ति निकाल्दै यस्तो बताएका हुन् । 
उनले सहकारीका बचतकर्ताहरूको रकम ठगी भएको विषयमा निरन्तर समाचार लेखेको प्रतिशोध लिन खोजिएको जिकिर गरे ।


'निरंकुश शाही शासनमा र लोकमानसिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो। तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ। म अहिले पनि म व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु', उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण रुपले सहयोग गर्न तयार रहेको जानकारी दिए । 
 

वक्तव्यको पूर्णपाठ:

कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार म छु। तर, राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित हुनेछैन। सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैँ पनि जेल गएको हुँ।

निरंकुश शाही शासनमा र लोकमानसिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो। तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ। म अहिले पनि म व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु, तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन।

सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो, कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैँ उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन। यी सबबीचमा पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि हट्नेछैन।

समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने पदाधिकारीले यो पनि सोचून्, दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्नेमा व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो ?

अर्को प्रश्न, जनमतको जिम्मेवारी सुशासन स्थापनाको प्रत्याभूतिका लागि हो कि, आफ्नो बेथितिको ढाकछोप गर्न र आफूमाथि प्रश्न गर्ने नागरिक र सञ्चारमाध्यममाथि व्यक्तिगत प्रतिशोध लिनका लागि हो ?

सरकार, राज्यका हरेक जिम्मेवार निकाय, राजनीतिक दल, नागरिक समाज र समस्त सचेत नेपालीले विवेक प्रयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ। राज्यशक्ति र स्राेतको दुरुपयोग गर्नेमाथि कान्तिपुरको खबरदारी जस्तोसुकै प्रतिकूलताबीच पनि निरन्तर छ। कान्तिपुरको पहिचान र विरासत यही हो।

कैलाश सिरोहिया
अध्यक्ष
कान्तिपुर मिडिया ग्रुप

र,यो पनि

कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी


Author

थप समाचार
x