समाज

गृहमन्त्रीले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने उद्देश्यले सिरोहियालाई पक्राउ गरे : प्रेस युनियन

इकागज |
जेठ ८, २०८१ मंगलबार २०:१८ बजे

काठमाडौँ- नेपाल प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।

‘सहकारी ठगी’ का विषयमा कान्तिपुर दैनिकमा निरन्तर खोजमूलक समाचार प्रकाशित भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरीले पूर्वाग्रहपूर्ण ढंगले कान्तिपुरका प्रबन्धक निर्देशक सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरिएको घटनालाई प्रेस युनियन घोर निन्दा गरेको जनाएको छ ।


प्रहरीले ‘नागरिकताको विषय’ देखाएर पक्राउ गरिएको भनिए पनि गृहमन्त्री लामिछानेले सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने उद्देश्यले पक्राउ गरिएको ठहर युनियनले गरेको छ । सिरोहियाको नागरिकताको विषयमा कानुन सम्मत अनुसन्धान गर्ने कुरा स्वभाविक छ र अनुसन्धानमा सिरोहियाले पनि सघाउनुपर्छ भन्ने मान्यता युनियनको रहेको जनाएको छ ।

युनियनका महासचिव दिलीप पौडेलले विज्ञप्ति जारी गर्दै अनुसन्धानको बहानामा सञ्चार माध्यमलाई त्रसित बनाउने गरी विधि र प्रक्रिया मिचेर प्रहरीले सञ्चार गृहमा प्रवेश गरी सत्ताको बलमा बदलाको भावनाले पक्राउ गरिएको घटना निन्दनीय भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, 'गृहमन्त्री लामिछानेले यसअघि ‘बाह्र भाइ’ को नाममा सम्पादकहरू विरुद्ध दिएको अभिव्यक्ति, सम्पादकीय स्वतन्त्रतामा हस्तक्षेप हुने गरी गृह मन्त्रालयले दिएको हुकुमी शैलीको लिखित निर्देशन, सार्वभौम संसद्को रोष्टमबाटै मिडियाविरुद्ध बोल्नु र अहिले मिडिया सञ्चालकलाई पूर्वाग्रहपूर्ण ढंगले पक्राउ गर्न निर्देशन दिनुले रास्वपाका सभापतिसमेत रहेका लामिछानेको नियत प्रष्ट हुन्छ ।'

दोहोरो नागरिकता, राहदानी र सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछाने आफ्ना कुकृत्य ढाकछोप गर्न सत्ताको दुरुपयोग गर्दै अनर्गल प्रचारबाजी गर्दै आएको र उनलाई आफ्नो राजनीतिक यात्राको जग स्मरण गर्न आग्रह गर्दै प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धताबाट विचलित नहुन, मिडियाप्रति पूवाग्रहपूर्ण व्यवहार नगर्न आग्रह समेत युनियनले गरेको छ ।

मिडियाप्रति सरकारको धारणा सार्वजनिक गर्न पनि प्रेस युनियन आग्रह गरेको छ ।

'कान्तिपुरका प्रबन्ध निर्देशक सिरोहियालाई पक्राउ गरिए पनि सम्पादकीय नीतिबाट विचलित नहुन, र नागरिकले सुसूचित हुन पाउने अधिकारलाई जीवन्त राख्न अविचलित भएर सञ्चार सामग्री उत्पादन गरी प्रकाशन तथा प्रशारणमा अडिग रहन कान्तिपुर मिडियालाई प्रेस युनियन आग्रह गर्दछ । साथै युनियन सञ्चार गृहको साथमा रहेको प्रतिवद्धतासमेत व्यक्त गर्दछ । सत्ता र शक्तिको दुरुपयोग गरेर मिडियामाथिको आक्रमण रोक्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य नगर्न प्रेस युनियन सम्बन्धित सबै पक्षलाई सचेत गराउन चाहन्छ,' विज्ञप्तिमा उल्लेख छ ।

 

र, यो पनि

कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

- सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि पटक पटक हस्तक्षेप भयो : कैलाश सिरोहिया

- रिट लिएर सर्वोच्च पुगे सिरोहिया

- ​सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुरको कार्यालयमा पुग्यो

- सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम : सिके राउत

- कान्तिपुर कार्यालयबाट अध्यक्ष कैलाश सिरोहिया पक्राउ

- पक्राउपछि सिरोहियाले भने- गृहमन्त्रीले प्रतिशोध साँधेर पक्राउ गरे

- सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण : पत्रकार महासंघ

- सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला

- सिरोहिया पक्राउबारे बाबुरामको प्रतिक्रिया : प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गरेको देख्दा म लज्जित छु

- कैलाश सिर‍‍ोहियाक‍‍ो गिरफ्तारी प्रतिशोधक‍ो नांगो कर्तुत ह‍‍ो : विमलेन्द्र निधि

 


Author

थप समाचार
x